तपाईंले सहर बजारका भिडभाड भएका ठाउँमा याद गर्नुभएको छ ? त्यहाँ कुन उमेर समूहका मानिसहरुको बाहुल्यता छ ? याद गर्नुभएको छैन भने अब ख्याल गर्नुहोला त्यस्ता ठाउँमा युवा उमेरका मानिसहरु धेरै देखिन्छन् ।
घरघरमा हेर्नुहोला बच्चाको संख्या घट्दैछ ! बरु एउटै घरमा तीन पुस्ता, चार पुस्ताका मानिसहरु देखिन थालेका छन् । के कारणले हाम्रो समाजको स्वरुप यसरी बद्लिएको होला ? त्यतातर्फ हामीले ध्यान दिएका छैनौं । आउनुहोस् केहीबेर नेपाली समाजको बदलिँदो चरित्रबारे मन्थन गरौं ।
नेपाल अल्पविकशित देशको सूचीबाट गतवर्ष विकाशील सूचीको सिंढी उक्लिएको छ । यसको अर्थ नेपाली समाज शिक्षा, स्वास्थ्य, पूर्वाधार, सञ्चार, आर्थिकस्तर, प्रविधिआदि कुरामा उन्नत हुँदै गएको छ । यी सबै कुराको एकमुष्ट नतिजाको रुपमा हामीले समाजको बदलिँदो जनसांख्यिक स्वरुपमा देख्न सक्छौं ।
नेपालमा अहिले बच्चा जन्माउने दरमा व्यापक कमी आएको छ । नेपालको कुल जनप्रजनन्दर अहिले २.३ प्रति महिला छ । अर्थात् एकजना महिलाले औषतमा मुस्किलले दुईजना बच्चा जन्माउने गरेका छन् । सहरी क्षेत्रतिर यो दर घटेर एक जना बच्चामा सीमित हुन पुगेको छ ।
महिलाको बिहे गर्ने उमेरमा पनि पहिलेभन्दा औषत बढेर गएको छ । शिक्षा र रोजगारीपछि बिहे गर्ने चलनले ढिलो बिहेलाई प्रोत्साहन गरिरहेको छ । जसका कारण प्रजनन्दरमा व्यापक मात्रामा गिरावट आएको छ ।
नेपालमा बहुदलीय व्यवस्थाको पुनर्वहालीपछि व्यापक मात्रामा स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रगति भयो । सरकारी र निजी क्षेत्र यी दुवै क्षेत्रमा ठूलो लगानी गरे जसका कारण नेपालीले समयमा नै उपचार गर्न सक्ने भए । गाउँगाउँमा आधारभूत स्वास्थ्य सुविधाको पहुँच बढ्यो ।
मानिसहरुको अकालमा ज्यान जाने जोखिम घट्न थाल्यो । जसले शिशु मृत्युदरदेखि मातृ मृत्यूदर सम्म घट्दै गयो । बहुदलीय व्यवस्था आएको करिब ११ वर्षपछि अर्थात् ०५८ सालमा भएको जनगणनाले नेपालको जनसंख्याको ‘एज सिफ्टिङ’ अर्थात शून्यदेखि १४ वर्षको जनसंख्या विस्तारै घट्दै जाने ६० वर्षभन्दा माथिको जनसंख्या त्यसै अनुरुप बढ्दै गएको चित्र देखायो ।
अर्थात् स्वास्थ्य सुविधा र शिक्षामा भएको उल्लेख्य प्रगतिले मानिसको औषत आयु पनि बढ्यो । बच्चा जन्माउने दर घट्यो । जसले गर्दा बालबच्चाको जनसंख्या घट्न थाल्यो भने ज्येष्ठ नागरिकको संख्या बढ्न थाल्यो । यही विन्दुबाट नेपालमा युवा जनसंख्या (काम गरी खाने) उमेरको जनसंख्या बढ्यो ।
२०७८ सालको जनगणनाको अन्तिम नतिजा आउनै बाँकी नै छ । जसले नेपालमा युवा जनसंख्याको बाहुल्यता देखाउने नै छ । अघिल्लो जनगणना २०६८ को तथ्यांक हेर्ने हो भने काम गरी खान सक्ने उमेर समूह अर्थात् १५ देखि ५९
वर्षका मानिसको जनसंख्या कुल जनसंख्याको ५७ प्रतिशत छ ।
नेपालीको औषत आयु बढ्दै गएकोले अहिले काम गर्न सक्ने उमेरको जनसंख्या ६४ वर्षसम्मलाई मानिएको छ । १५ देखि ६४ वर्ष उमेर समूहको जनसंख्या ६४ प्रतिशत थियो । जनगणना २०७८ को विस्तृत प्रतिवदेनले यो संख्या ६७ प्रतिशत देखाउने अनुमान गरिएको छ ।
नेपालको युवा उमेरको जनसंख्याको बाहुल्यता हरेक वर्ष बढिरहेको छ । १६ देखि ४० वर्ष उमेरको व्यक्तिलाई नेपालमा युवा भन्ने गरिएको छ । सन् २०११ को जनगणनाअनुसार नेपालमा यो उमेर समुहको जनसंख्या १ करोड ६८ लाख ९ हजार ८ सय ४२ छ ।
कुल जनसंख्यामा यो संख्या ४०.३ प्रतिशत हो । सुन्दै आशलाग्दो यो उमेर समूहको जनसंख्या हरेक वर्ष बढिरहेकाले नेपाललाई तन्नेरीहरुको देश भन्न थालिएको छ । सुन्दै जोशिलो यो शब्दले देशको विकास र समृद्धिलाई अब युवाहरुले काँध थाप्नु पर्ने समय आएको भनेर बुझ्न गाह्रो छैन ।
नेपाल जनसांख्यिक लाभको मध्यतिर
नेपालमा युवा जनसंख्याको बाहुल्यता भएको झण्डै तीन दशक भयो । सन् १९९२ देखि नेपालमा मृत्यूदर ओरालो लाग्यो र जन्मदर पनि घट्न थाल्यो । जसले गर्दा युवाहरुको बाहुल्यता क्रमश बढ्दै गयो ।
जनसांख्यिक बनावटको यस्तो अवस्थालाई जनसांख्यिक लाभको समय भनिन्छ । नेपालमा जनसांख्यिक लाभको समय ५५ वर्षको हुनेछ भन्ने जनसंख्या विज्ञहरुको अनुमान छ । यो समय सन् १९९२ बाट नेपालमा सुरु भएको मानिन्छ । त्यसो हुँदा हामीसँग युवा जनशक्तिलाई भरपुर रुपमा प्रयोग गर्ने समय २५ वर्ष मात्र बाँकी छ ।
अर्थात सन् २०४७ मा नेपालमा जनसांख्यिक लाभांशको समय समापन हुनेछ । त्यसपछि तन्नेरी पुस्ताहरु क्रमश बुढ्यौलीतिर लाग्ने छ । नेपाल त्यसबेला ‘एज सिफ्टिङ’को अर्को चरणमा प्रवेश गर्नेछ । अर्थात् तन्नेरीहरुको देश भनेर चिनिने नेपाल अबको २५ वर्षपछि ज्येष्ठ नागरिकहरुको देशमा परिणत हुनेछ ।
अब के गर्ने त ?
जनसांख्यिक लाभांशको समयलाई कुनै पनि देशलाई ‘एक जुगमा एक पटक आउने अवसर’ मानिन्छ । यो दोहोरिएर आउन जनसांख्यिक संक्रमणको अर्को चरण सुरु हुनु पर्दछ । जनसांख्यिक लाभांशको यही समयमा देशले कायकल्प गर्नुपर्दछ । अर्थात् अविकशित देश यीनै युवा जनशक्तिलाई प्रयोग गरेर विकसित हुनुपर्दछ ।
अशिक्षित समाज शिक्षित हुनु पर्दछ । गरिबी र अभावको एउटा चरण पूरा हुनुपर्दछ । देशमा समृद्धि र सुखको अनुभूति भएको हुनुपर्दछ । मानिसका आधारभूत आवश्यकता पूरा भएको हुनुपर्दछ । जापानले पनि जनसांख्यिक लाभांशको समय ५५ वर्ष पाएको थियो । त्यो देशले तन्नेरीहरुको बाहुल्यता भएकै बेला देशको विकास र समृद्धिमा अथाह फड्को मारेर अहिलेको स्थितीमा आइपुगेको हो ।
यहाँको समाज यति समृद्ध छ, विश्वको उच्च औषत आयु भएको देशको रुपमा जापान कहलिन्छ । जहाँको औषत आयु ८६ वर्ष छ । कोरिया र दक्षिण एसियाका टाइगर भनिने देशहरुले पनि जनसांख्यिक लाभ भएकै बेला देश विकासको फड्को हानेका हुन् ।
देशमा युवा जनसंख्याको बाहुल्यता हुनु भनेको तपाईं, हाम्रो घरमा, गाउँमा, पालिकाहरुमा, जिल्लामा र प्रदेशमा पनि युवाहरुको संख्या बढ्नु हो । त्यसो भए अब प्रत्येक पालिकाहरुले आफ्ना युवाहरुलाई विकास निर्माणका काममा सहभागी गराउने नीति ल्याउनु पर्दछ । गाउँमै रोजगारीको प्रवन्ध गर्नुपर्दछ । सामाजिक सुरक्षाको राम्रो प्रवन्ध गर्नुपर्दछ ।
नेपालको जनसांख्यिक लाभको फाइदा खाडी मुलुकले लिइरहेका छन् । नेपालका लाखौं युवाहरु रोजगारीको सिलसिलामा खाडी देशहरुमा श्रम बगाएर त्यहाँको समृद्धिका खातिर खटिएका छन् । दक्ष र सीपयुक्त जनशक्ति युरोप, अमेरिका, जापानजस्ता समृद्ध देशहरुमा बौद्धिक श्रम गर्न नेपालबाट पलायन भएका छन् ।
२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४ सय ७८ जना मानिसहरु जनगणनाको समयमा घरमा अनुपस्थित अर्थात् वैदेशिक रोजगारीमा गएको देखिन्छ । यीमध्ये अधिकांश युवा उमेरका मानिसहरु हुन् भनेर भन्न हिच्किचाउने पर्ने अवस्था छैन ।
अवसरको सदुपयोग गर्ने कि ?
जनसंख्यामा युवाको बाहुल्यतालाई ‘सुनौलो युग’को संज्ञा दिने गरिन्छ । त्यसैले देश बनाउने यो सुनौलो अवसरलाई उपयोग गर्ने कि खेर फाल्ने यसको जवाफ राजनीतिक नेतृत्वले दिनुपर्दछ । यदि यो अवसरलाई सदुपयोग गर्ने हो भने अब तीनै तहका सरकारले युवामैत्री नीति र कार्यक्रम ल्याउनु पर्दछ ।
देशमा व्यापक मात्रामा उद्योगधन्दाको स्थापना, कृषिमा प्रविधिको प्रयोग, आधुनिक प्रविधिको प्रयोगबाट सेवा क्षेत्रको विस्तार, आइटीमैत्री समाजको निर्माण गर्नुपर्दछ । जबसम्म स्वदेशमा रोजगारका अवसर खुलेर युवाहरु स्वदेशमै अडिने वातावरण बन्दैन तबसम्म देशको विकास सम्भव छैन । ३० वर्ष त हाम्रो यसै बित्यो । अबको २५ वर्षमा देशको मुहार फेर्ने नीति र कार्यक्रम सञ्चालन गर्न नसके हामीले कस्तुरीले झैं आफ्नै बिना नचिनेर भौंतारिनुपर्ने अवस्था आउछ ।
यसमा पनि रमाइलो पक्ष के छ भने हाम्रो सम्भावनालाई विदेशीहरुले बुझे । साउदीका देशहरुले नेपालमा युवा जनसंख्याको बाहुल्यता बढ्यो भन्ने कुराको विश्लेषणपछि व्यापक रुपमा नेपालबाट ति देशहरुमा युवाको माग बढाए ।
नेपाल जनसांख्यिक लाभांशमा प्रवेश गर्दागर्दै सम्भावना बोकेका कलकलाउँदा युवाहरु खाडीतर्फ आपूर्ति हुन थाले । जब नेपालमा २०५० सालदेखि हरेक जिल्ला प्रशासन कार्यलयबाट राहदानी बाँड्ने नीति ल्याइयो त्यही विन्दुबाट युवाहरुलाई देशबाहिर जान सजिलो भयो । संयोग नै भन्नुपर्दछ, त्यसको ठिक एक वर्षअघि देखि नेपाल जनसांख्यिक लाभांशको युगमा प्रवेश गरेको थियो । वैदेशिक रोजगारीमा युवाको लस्कर बढ्न थालेको २९ वर्ष भयो । नेपाल जनसांख्यिक लाभको अवस्थामा पुगेको ३० वर्ष ।
यदि हामीले यो अवसरलाई खेर फाल्यौं भने देश एकपटक कंगाल हुन्छ । ज्येष्ठ नागरिक आश्रित अनुपात त्यसबेला धेरै बढेको हुन्छ । जसरी अहिले हामी जताततै युवा देख्छौं । अबको २५ वर्षपछि त्यसैगरी जतातै ज्येष्ठ नागरिक जनसंख्याको बाहुल्यता देख्छौं । त्यसबेला राज्यको ठूलो खर्च यिनै ज्येष्ठ नागरिकको पालन पोषणमा सकिन्छ ।
विकास र समृद्धिमा राज्यले लगानी गर्ने पैसा एकदम कम हुन्छ । त्यसैले अहिले हामीसँग मानव श्रोतको अथाह सम्भावना छ । यो सम्भावनालाई राज्यले समयमै चिनोस् । हुन त नचिनेरै ३० वर्ष बितिसकेको छ । तर, अझै पनि हामीसँग २५ वर्ष बाँकी छ । आगामी अढाइ दशकको अवधिमा हाम्रा युवाहरुलाई देश थाम्ने जिम्मेवारी दिऔं । विकासका मूल फुटाउने दायित्व सुम्पौं । अनि मात्र समृद्धि हाम्रै पालामा सम्भव हुनेछ ।





