शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बद्लिएका बजार

बद्लिएका बजार

जब प्रजातन्त्र आयो; हिजोका पदमार्गले रुप फेरे । पदमार्गले जोडेका बजारहरू पनि फेरिन थाले


  • तारानाथ आचार्य
  • भाद्र ६ २०८३, शनिबार

तस्विर : सामाजिक सञ्जाल

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको…।

जनगायक जीवन शर्माले पञ्चायतकै बेला पर्वतको कार्कीनेटाको उकालोमा उमेरले झण्डै असी काटेका भरियाले बिसाएको भारी देखेर सिर्जना गरेको यो गीत जीवन्त छ । तर त्यही कार्कीनेटा बजार पञ्चायतका बेला गुलजार थियो, अहिले सुनसान छ ।

उमेरले ९० कटेका ज्येष्ठ नागरिकसँग बसेर पुराना कुरा सुन्ने हो भने कार्कीनेटा बजारमात्रै होइन; स्याङ्जाको पुतली बजार, सेतीदोभान, तनहुँको बन्दीपुर बजार, कास्कीको नागडाँडा बजार, लमजुङको गाउँसहर हिजो पैदलयात्रीको आउजाउ र व्यापारले चर्चित थिए । यी त उदाहरणमात्रै हुन् । पञ्चायत ताकाका गुलजार साना–ठूला बजारले प्रजातन्त्र प्राप्तिपछि रुप बदले; ठाउँ बदले । प्रजातन्त्र पछिका केही वर्ष बजारको विकेन्द्रीकरणको लहर नै चल्यो ।
पर्वततीर एउटा रत्यौली गीत निकै चर्चित छ,

सेती दोभानको बाटो
आउँ आउँ भनेर म आको…।

यो रत्यौली गीतको थेगोमात्रै होइन । त्यो बेलाको बजार जोड्ने बाटोको चित्र पनि हो । सेती दोभान बजार मानिस यत्तिकै जाँदैनथे । कि त करकाप, कि भने आवश्यकताले कठिन यात्रा गरेर पुग्थे । बजार पुग्नका लागि हिजोका मानिस जोखिम मोल्थे । बजार स्थिर थियो । यात्रा जति नै कठिन भए पनि आवश्यकताले बजार पुग्थे । बजारको प्रयोग कम थियो तर भएका बजार निकै व्यस्त थिए ।

जब प्रजातन्त्र आयो । हिजोका पदमार्गले रुप फेरे । पदमार्गको रुप फेरिएसँगै पदमार्गले जोडेका बजारका ठाउँ फेरिन थाले । लमजुङमा गाउँसहर बेसी सहरतिर झ¥यो । पर्वतमा कार्कीनेटाको व्यापार फलेवासमा आयो । तनहुँमा बन्दीपुरभन्दा कुरिनटार अघि लाग्यो । स्याङ्जामा नयाँ सहर विस्तारको लहर नै चल्यो । बजारले रुप बद्लिरहेकै छन् । कतै सहरीकरणका कारण त कतै सडकका कारण; गण्डकी प्रदेशभरिका ११ वटै जिल्लामा बजारको रुप बद्लिने क्रम रोकिएको छैन ।

देश गणतन्त्रमा प्रवेश गरेसँगै संघीयता कार्यान्वयनमा आयो । संघीयतासँगै बजारको रुप र स्वरुपमा अदलबदल सुरु भएको छ । संघीयताले जसरी व्यवस्थामा उथलपुथल ल्यायो, ठीक त्यसैगरी गुण र अवगुणका संकेतहरू छरपस्ट छन् । संघीयतापछि पनि बजारका रुप निकै बद्लिए । हिमाल पारीको जिल्ला मुस्ताङमा त गणतन्त्रपछि पर्यटनमा आएको उछालले आकास पातालको फरक ल्याएको छ । हिजो मुस्किलले सिजनमा मात्रै हजारको संख्यामा मुस्ताङ पुग्ने पर्यटक अहिले वर्षभरि नै लाखौंको संख्यामा आउजाउ चलिरहेको छ ।

हिजो मुस्ताङले थाकखोलाको नून बेचेर थोरै पैसा भित्राउँथ्यो । अहिले मुस्ताङले खाना र बासको प्रबन्ध गरेर करोडौं भिœयाउँछ ।

लेखक

संघीयतापछि गण्डकीमा गठन भएका ८५ स्थानीय तहका मुकामहरूमा सानो–ठूलो बजार बस्न थालेको छ । हिजो बजार भएकै ठाउँमा तोकिएका मुकाम फराकिला हुन थालेका छन् भने बजार नभएका ठाउँका मुकाममा बजार विस्तारको लहर छ । पर्वतको फलेवासमा देवीस्थानबाट खानिगाउँमा सरेको बजार, बागलुङको बरेङमा बरेङ डाँडाबाट सुदालामा विस्तार हुँदै गरेको बजार यी नयाँ विस्तारका उदाहरणमात्रै हुन । प्रदेशभरीका ८५ ठाउँकै कथा उस्तै छन् । नयाँ बजार विस्तारले पुराना विस्थापित गरिरहेका छन् । लमजुङमा सुन्दर बजार र मध्यनेपालमा चलिरहेको सहरीकरणले गाउँसहर र बेसीशहरको चाप घटाइरहेका छन् । यो अर्को उदाहरण हो ।

संघीयतापछि रित्तिएका गाउँ
संघीयता आयो; गाउँ गाउँमा सिंहदरबार पु¥याइयो । मानिसका आवश्यकता प्रशासनिक विकेन्द्रीकरणमात्रै हो कि सुशासन, रोजगारी र आत्मनिर्भर अर्थव्यवस्था भन्ने खुट्याउन राज्यले नसकेको उदारहण हो संघीयता पछिको बसाइँसराइ ।

संघीयता कार्यान्वयन भएर जैमिनी नगरपालिका गठन हुने बेला वडा नं. ८ को छिस्तीमा सडक पुगेकै थिएन । संघीयतापछि गठन भएको स्थानीय सरकारकै पहलमा टोल टोलमा सडक पु¥याएको जैमिनी नगरपालिका देशकै दोस्रो ऋणात्मक जनसंख्या भएको नगरपालिका हो । राष्ट्रिय जनगणना २०७८ ले अछामको साँफेबगरपछि ऋणत्मक जनसंख्या भएको नगरमा जैमिनीलाई दर्ज गरेको छ । बढ्दो बसाइँसराइ, महंगिदो जीवनशैलीमा बालबच्चा हुर्काउन डराइरहेका दम्पत्ती लगायतका कारण जनसंख्या ऋणत्मक हुँदै गएको छ ।

सडक जति सहज बन्दै यो, उत्तिकै बसाई सर्नेको दर बढ्यो । सडक, बिजुली, पानी, विद्यालय र स्वास्थ्य संस्था घरघरको पहुँचमा पुगे । तर ठूलो बस्तीमा मिलेर बसेका मानिस भने त्यही सडकमा सहजै गुड्ने गाडीको सहारामा कोही तराई झरे, कोही सहर पसे, कोही विदेश भाँसिए । यो बागलुङको मात्रै व्यथा होइन । गाउँको मात्रै कथा पनि होइन । विस्तार हुँदै गरेका साना सहरको यथार्थसमेत हो ।

पर्यटनले धानिएका मुकाम
पञ्चकोट र बागलुङ कालीका मन्दिर नहुँदो हो त २०७२ यता बागलुङ बजार खाली हुँदै जाने अवस्था थियो । जिल्ला मुकाममा भएका सरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न सामाजिक संस्थाका कार्यालयका भरमा चलेको यहाँको व्यवसायको मुख्य आधार क्षेत्र गाउँ नै थियो । एकातर्फ खाली भएका गाउँ, अर्कोतर्फ मुकामको महत्व घट्ने गरी भएको विकेन्द्रीकरणले बजारको महत्व घटायो । पर्यटनको उदाउँदो अवस्थाले बजार धानिएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजार यथावत अवस्थामा राख्न सहासिक खेलदेखि लामा तथा यान्त्रिक पुलहरू सहायक बनेका छन् । मुस्ताङमा बढ्दो पर्यटकको संख्याले बेनी बजार धानेको छ । कास्कीको सदरमुकाममा प्रदेश मुकाम भएकाले खास असर परेन तर पर्यटनको भर कास्कीलाई पनि छ । तनहुँ, लमजुङ, स्याङ्जा, गोरखा, लमजुङ, मनाङ र नवलपुरको पनि अवस्था उस्तै छ ।
जब प्रजातन्त्र आयो; हिजोका पदमार्गले रुप फेरे । पदमार्गको रुप फेरिएसँगै पदमार्गले जोडेका बजारहरू पनि फेरिन थाले ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->