शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रधान सम्पादकसँग ‘कृषि प्रधान संवाद’

प्रधान सम्पादकसँग ‘कृषि प्रधान संवाद’


  • उजिर मगर
  • भाद्र २ २०७९, बिहिबार

‘हेलो…… नारायण दाइ नमस्कार, कता हुनुहुहुन्छ ?’

उही पुरानै शैलीमा नारायाण दाइले भने– ‘ओ हो.. ओ हो ! दुई दिन भयो आएको । हतार छ, फर्किहाल्ने हो ।’

एक प्रधानसम्पादकसँगको यो संवाद दुई साता अघिको हो । उनी हुन नेपाली मूलधारका दैनिकहरुका पूर्वप्रधानसम्पादक नारायण वाग्ले । सधैं समाचारको विषय, पत्रिकाको साजसज्जा सकेर छापाखानामा पठाउने हतारो हुन्थ्यो उनलाई । यसपालिको हतारो छ त, उनलाई धानबालीमा कुलो सोझियो कि नाइँ ?

यतिखेर हतारमा छन् वाग्ले ! तर, उनलाई प्रेसमा पत्रिका डिजाइन पठाउन हतार छैन । नेपाली दैनिक पत्रिकाहरुले उचाई लिइरहेको बेलाका प्रधानसम्पादक नारायण वाग्ले यतिखेर जन्म थलो तनहूँमा छन् । ‘तनहूँ फार्म’बाट उनले निरन्तर मुहार पुस्तिकाको भित्तोमा लेखिरहेका छन् कृषि कर्म ।

लामै समय सँगै काम गरेका नारायण दाइ । समाचारबारे छलफल हुन्थ्यो । यतिखेर बरु उनले निम्ता दिँदै भने– ‘तिमी बागलुङ हिँडिरहन्छौ । घाँसी कुवाबाट दायाँ लागे पछि मलाई भेट्छौ । आउनु है !’ एकाएक एउटा सम्पादकले पत्रकारिता छोडेको हो ? जिज्ञासामा नारायण दाइले भने– ‘पत्रकारिता छोडेको होइन । सक्रिय पत्रकारिता छैन भन्नु प¥यो !’

पत्रकारिताको भाषा हजुरआमाले बुझ्ने हुनुपर्छ भन्ने नारायण दाइको सधैं मान्यता हो । उनले आफ्नो ठाउँको परिचय दिँदै भने– ‘व्यास नगरपालिकाको ११ वडा नम्बर हो । व्यास त थाहा छ नि तिमीलाई ?’ यतिखेर उनको मुहार पुस्तिकाको भित्तामा धानका जात, रोपाइँका शब्द छन् । कुन जातको धान कसरी फल्छ भन्ने लेखनीबाट सरल भाषामा उतार्न सक्ने मेरा पुराना सम्पादक एकाएक कृषिकर्ममा कसरी ? फेरि प्रश्न गरेँ । ‘अब आत्म निर्भर बन्नका लागि सुरु गरेको हो । गाउँमा खेतीबाली लगाउन छोडियो । मल बनाउन छोडियो । त्यसैले अब हामीले नगरे कसले गर्ने ? भनेर यता लागेको छु’, उनले भने ।

पत्रकारिता छोडेर बसेका पत्रकार राजकुमार बानियाँलाई ‘तपाईंले सन्न्यास नै लिनुभएको हो पत्रकारिताबाट ?’, भन्ने जिज्ञासामा भनेका छन्– ‘यो करोडको प्रश्न मजस्तो कमिला कदको मानिसलाई भन्दा पनि तनहूँमा फार्म चलाएर बसेका कान्तिपुरका पूर्वप्रधानसम्पादक नारायण वाग्लेलाई सुहाउँथ्यो होला । उनले आफैं अनलाइन खोलेर साहु सम्पादक बन्न छाडेर किन खेती किसानी गरिरहेका छन् ? मलाई पनि जान्न मन थियो ।’ यी यस्तै प्रश्न धेरैलाई गर्नुछ ।

उम्दाको प्रधान सम्पादक एकाएक खेती किसानीमा व्यस्त छ । उनै नारायण वाग्लेले लेखेका छन्– ‘पन्ध्र थरि बिऊ, पन्ध्र थरि बेर्नास आम्झुत्ते, अनदी, मसिनो (कालो, रातो, खैरो, गाजले), झिनुवा, बर्मेली, जर्नेली, एक्ले, जेठो बूढो, पँहेले, बिरम्फूल, रामधान र साबित्री ! रोपाइँको मैझारोको शुभकामना !’
#TanahunFarm
रातभरि माटोको आँत भिजाउने पानी पर्यो, दिनभरि घाम टहकिएला जस्तो छ। रोपाहार आए, लामा भैसकेका बिऊ उखेल्न थाले, आज रोपाइँ सकिएला जस्तो छ !#TanahunFarm

लेखकः उजीर मगर

तनहूँसुरको ‘बेसक्याम्प’

व्यास थाहा छ नि ? नारायण दाइको यो प्रश्न गहिरो छ । पराशर ऋषि मत्स्योदरी पुत्र व्यास जन्मिए । उनै व्यासले वैदिककालिन धर्मका ग्रन्थ लेखे । जसले चार वेद, तीन उपवेदको रचना गरे । ऋगवेद, यजुर्वेद, अर्थवेद र सामवेद लेखे । उपवेदमा धपुरवेद, आपुरवेद र गन्धर्ववेद लेखे । उनकै नाममा व्यास नगरपालिकाको नाम रह्यो ।

अर्को रोचक प्रसंग भने नारायण दाइले । ‘यता सुन्न त तनहूँसुरको दरबार छ नि डाँडामा । त्यसको बेसक्याम्प हो मेरो घर । मेरो फार्म त्यहीँ छ । जसरी आउनु भेट हुन्छ ।’
तनहूँसुरको राज्यको कुरा । दिग्विजय सेनको अवसान पश्चात् उनकै छोरा कामराजदत्त सेन पैतृक राज्य तनहूँका राजा भए । कामराजदत्त गोरखाका राजा नरभूपाल शाहका समकालीन राजा हुन । कामदत्त १७७१ र नरभूपाल गोरखामा १७७३ मा राजगद्दीमा बसेका थिए । उनीहरुको सम्बन्ध राम्रो रहेन ।

करिब १२४० मिटर अग्लो डाँडामा दुईपाखे घरको शैलीमा निर्मित दरबार । भग्नावशेष दरबारसँगै एउटा सानो कुवा छ । त्यो कुवा कहिल्यै घटबढ हुँदैन भनिन्छ । एउटा हतियाको घरको कोठा कहिल्यै खोलिएको छैन । त्यो किन खोलिन्न भन्ने स्वयं घरधनीलाई पनि थाह छैन भन्ने भनाई अझै छ ।

एकै पटक तीन ऐतिहासिक थातथलोको कुरा एउटा सम्पादकले भन्दा केही जिज्ञासा हुनु स्वभाविक हो । घाँसी कुवा, तनहूँसुरको बेसक्याम्प र व्यासको । नारायण दाइले किताव लेख्न लागेको कसैले थाहा पाउँदैनन् । कृषि फार्मसँगै यी तीन ऐतिहासिक थलोमा कतै अर्को कृति तयार पार्दै छन् कि ? भन्ने अडकल रहिरहेको छ ।

अक्षरको खेती गर्ने प्रधान सम्पादक एकाएक कृषि प्रधानमा जाँदा केही जिज्ञासा स्वभाविक हो । हिजोको मुलधारका सम्पादक एकाएक खेती किसानमा लागेको छ, कुनै मिडियाले त्यस्तो चासो दिंदैन । उनले गरेका हिजोको पत्रकारिताको जग त छ नै । अब खेती किसानबाट के कति प्रेरणा लिने भन्ने आम युवामा उत्सुकता भने पक्कै छ ।

खेती किसानीको अनुभवलाई मुहार पुस्तिकामा वाग्ले लेख्छन्– ‘यो घैंचा हो, एक महिनामा हलक्क भयो। यसलाई जोतेर माटोमा मिल्काए मल हुन्छ। यो हरियो मल रे। किन्न महँगो रहेछ, तेसैले केही बोट हुर्काएर यसका दानाको बिऊ बनाउनु पर्ला। कसो होला ? #TanahunFarm
नेपिएर कस्तो जरावाल घाँस रहेछ, उखेलेर रोपाइँ गरुँ भनेको जेसिबी नै प्रयोग गर्नुपर्यो ! #TanahunFarm

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->