विश्वासले जोडिएको र आफैले बनाएको संगठन छाड्दाको पीडा कस्तो हुन्छ ? योगदानको मूल्याङ्कन भएन,नेतृत्वले गलत ग¥यो भन्ने सोचले निर्देशित हुँदाको मनस्थिति हुन्छ ? र, नयाँ यात्राको चुनौती चिर्ने साहस बटुल्न के गर्नुपर्छ ? पोखरामा मेयर धनराज आचार्यसँग यी सबै प्रश्नको रेडिमेड जवाफ छ ।
उनी भन्छन्,‘आफ्नो विवेकले डोहो¥याएको बाटोमा हिँड्दा सबै ठीक हुन्छ तर हिम्मत हार्नु हुँदैन ।’
पुरानो घर अर्थात् नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोज्दा ‘धनराजले उल्टो बाटो रोज्यो’ भन्नेहरु धेरै थिए ।
तर, एकीकृत समाजवादी गठन भएको एक वर्ष नपुग्दै धनराजले आफूलाई प्रमाणित गरे । कांग्रेससहितको ५ दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरका उम्मेदवार बने । आफ्नै राजनीतिक गुरु कृष्ण थापासँग प्रतिस्पर्धामा उत्रिए । चुनावभर उनी शालीन देखिए । कसैलाई गाली गरेनन्, चिढ्याएनन् । मन खोलेर खर्च गरे अनि थापालाई ६ हजार ४५ मतले हराउँदै देशकै ठूलो महानगरको पिता बने ।
२०४२ सालदेखिको राजनीतिक यात्रा क्रममा राजकीय पदमा उम्मेदारी दिने पहिलो अवसरलाई नै उनले हातबाट उम्कन दिएनन् । एमालेबाट विद्रोह गरेका पूर्वमहासचिव तथा प्रधानमन्त्री माधव नेपालको शाख बचाइदिए । विद्रोहलाई नागरिकस्तरबाट वैधानिकता दिलाए ।
‘मलाई पुरानै घरमा बस्न साथीहरुले आग्रह गर्नुभएको थियो, अवसरका कुराहरु पनि थिए तर मैले विद्रोह रोजेँ’,धनराज भन्छन्,‘अब म काम गर्ने ठाउँमा छु, पाँच वर्ष योजनासहित काम गर्ने हो,पोखरालाई साँच्चिकैको पोखरा बनाउने हो ।’ एकीकृत समाजवादीको केन्द्रीय सदस्य अनि कास्की अध्यक्षको पद छँदैछ ।
जनअनुमोदित भएपछि धनराजको राजनीतिक उचाइ ह्वात्तै बढेको छ । तर, त्यसलाई जोगाउने चुनौती पनि उस्तै छन् । एकीकृत समाजवादीमा माधव नेपालका उत्तराधिकारी ठानिएका धनराजले साँच्चिकै कामबाट आफूलाई प्रमाणित गर्नु छ ।
अव्यवस्थित सहरीकरणलाई व्यवस्थित पार्ने, ल्याण्डफिल साइटसहितका पूर्वाधार निर्माण तथा सुशासन कायम गर्नु उनको पहिलो दायित्व भएको छ । चुलिएका जनआकांक्षा पूरा गर्न सकेमात्र भविष्यको राजनीतिक यात्रा सुरक्षित हुन्छ भन्ने धनराजले नबुझ्ने कुरै भएन । व्यवसायमा सफल धनराज यतिबेला चुनौतिको चाङमाथि छन् । ती चुनौतीबाट मुक्ति पाउन उनले लोभ छाड््नुपर्छ, मेरो र तेरो भन्ने कुरा बिर्सनुपर्छ । मुख्य कुरा,स्वार्थ समूहबाट जोगिनुपर्छ ।
पोखराको १५ औं मेयरको रुपमा खरो उत्रनैपर्ने दायित्वले थिचिएका धनराजलाई औसत बन्ने छुट छैन ।समुन्नत पोखराका लागि ७ वटा प्रस्थानबिन्दु एवं गुणस्तरीय स्वास्थ्य, उद्यमशीलता र रोजगारको प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।





