शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

खै शिक्षित युवा ?

खै शिक्षित युवा ?


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७९, शनिबार

पोखरा/ गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण २०७८/०८९ लाई आधार मान्ने हो भने २०७८ सालको शैक्षिक सत्रअन्तर्गत २२ हजार ७२८ छात्रासहित ३७ हजार ६२५ विद्यार्थी उच्च शिक्षाको लागि भर्ना भए ।
साक्षरता प्रतिशत ९६.५७ भएको गण्डकीमा शैक्षिक वर्ष २०७८ मा स्नातक तहमा १३ हजार १४१ छात्र र २० हजार ८६१ छात्रा अध्ययनरत रहे भने स्नातकोत्तर समूहमा १ हजार ७५६ छात्र र १ हजार ८६७ छात्राले सहभागिता जनाए ।

अचम्म त के छ भने, विज्ञ उत्पादन गर्ने विद्यावारिधी गर्ने विद्यार्थी संख्या १५ जनामात्रै थियो । तीमध्ये २ जना महिला थिए । उनीहरुमध्ये व्यवस्थापनमा १० जनाले व्यवस्थापन र बाँकीले सामाजिक विज्ञानलाई आफ्नो अनुसन्धानको विषय बनाएका थिए ।

सोही शैक्षिक वर्षमा स्नातकोत्तरमा विज्ञान प्रविधिमा स्नातक तहमा ९२३ छात्र र ६७० जना छात्रा तथा स्नातकोत्तरमा २१ छात्रा र ५९ जना छात्र अध्ययनरत रहे । इञ्जिनियरिङको स्नातकमा २ हजार ३६४ छात्र र ४३८ छात्रा तथा स्नातकोत्तरमा ५२ छात्र र १२ छात्रा अध्ययनरत छन् । स्नातकमा चिकित्साशास्त्र पढ्ने छात्रा १ हजार ४३३ र छात्रको संख्या ९२७ रहेको छ । कृषिको स्नातकमा २७१ छात्र र १३२ छात्रा अध्ययनरत छन् । स्नातकोत्तरमा भने कृषि पढ्ने विद्यार्थी नै छैनन् ।

गण्डकी प्रदेशमा भएका प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्अन्तर्गतका विभिन्न शैक्षिक संस्थामा शैक्षिक सत्र २०७८ मा ७३५ छात्रासहित १ हजार ६४९ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सबैभन्दा बढी स्वास्थ्यमा ७३२, इञ्जिनियरिङमा ४७१, कृषिमा ७, होटल म्यानेजमेण्टमा ३९ विद्यार्थी छन् । शैक्षिक वर्ष २०७७/०७८ मा सीपमा विभिन्न तालीम गर्नेहरुको संख्या १६ हजार ७ सय थिए भने तीमध्ये ११ हजार ५८४ जनाले विभिन्न तहको परीक्षा उत्र्तीण गरेका थिए । चार तहको सो परीक्षाको चौथो तह उत्तीर्ण गर्ने एक जना पुरुषमात्रै थिए । तेस्रो तहमा पनि १३९ जनाले आवेदन दिएकोमा ४० जनामात्रै उत्तीर्ण भएका छन् ।

अझ डरलाग्दो त के छ भने, उच्च शिक्षाको ढोका मानिने ११ र १२ कक्षामा भर्नादर असाध्यै कमजोर रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भन्छन्, ‘नेपालमा न प्राविधिक शिक्षा लिएर दक्षता बढाउने ठाउँ छ, न उच्च शिक्षामा जान विद्यार्थीलाई प्रोत्साहित गरिएको छ, यस्तै भयो भने नेपाल कुनैदिन अर्धदक्ष कामदार विदेश पठाउने मुलुक बन्न बेर छैन ।’ देश विकासको लागि अनुसन्धानमा जुट्ने वैज्ञानिकहरु आवश्यक हुन्छन् । अनुसन्धानले लागत कम गर्ने र नयाँ प्रविधिको विकास गर्छ । राजनीतिमा युवा नेतृत्वको नारा घन्काइरहँदा युवाको क्षमता वृद्धिमा ध्यान नदिनु भनेको अदक्ष मजदुर जन्माउनु र देशलाई पछि पार्नु नै हो भन्ने मुल्मीको जिकिर छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->