काठमाडौं – नेकपा माओवादी केन्द्रको महासचिव पदका लागि लामो समयदेखि जारी खिचातानी अन्त्य गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई रोजेका छन् ।
महाधिवेशन सम्पन्न भएको करिब आठ महिना बितिसक्दा पनि आकांक्षीद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्माबीच सहमति जुट्न नसकेपछि त्यसको विकल्पमा गुरुङलाई महासचिवको जिम्मेवारी दिने निष्कर्षमा प्रचण्ड पुगेका हुन् ।
तर, यसमा प्रचण्डको चाहना मात्रै नभएर स्थायी कमिटीले तय गरेको पछिल्लो मापदण्डका कारण गुरुङ महासचिव बनेका हुन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरे । उनले अरु दाबेदारलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् । गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।
प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् । उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।
गुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले बताए ।
महासचिवमा निर्वाचित भएपछि गुरुङले कम्युनिस्ट पार्टीमा आफ्नो टिम बनाउने अधिकार नेतृत्वको नै हुने भन्दै यो मागेर पाउने विषय नभएको बताए।
‘कम्युनिस्ट पार्टीमा कार्यकारी टिम बनाउने, पदाधिकारीको टिमको प्रस्ताव राख्ने अथोरिटी अध्यक्षको नै हो’ उनले भने, ‘मैले सुरुदेखि नै पद मागदावी गर्ने होइन भन्दै आएको छु । बहुपदमा जाने सिष्टम पनि कम्युनिस्ट आन्दोलनमा कमै अभ्यास भएको विषय हो । बहुपदमा गए पनि पदको मागदावी गर्नु राम्रो होइन, पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो स्वीकार गर्ने हो ।’
उनले पार्टीमा एकीकृत नेतृत्व प्रणाली बलियो बनाउन आफूले जोड दिने बताए । ‘युनिफाइड लिडरसिप र युनिफाइड सिस्टमलाई नै हामीले बढी भन्दा बढी जोड दिने हो’ गुरुङले भने ।





