पोखरा/ नव आदर्श सामुदायिक विकास समाज, लामाचौरले तीज महोत्सवलाई निरन्तरता दिने भएको छ । इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म महोत्सव हुनेछ ।
महोत्सवको मुख्य आकर्षण लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिनेछन् । पहिलोपटक हुने पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने छन् ।
विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ । तीजगीत प्रतियोगितामा प्रथमले ५० हजार १११, दोस्रोले ३० हजार १११, तेस्रोले २० हजार १११ र सान्त्वनाले १० हजार १११ पाउने छन् । अन्तरमावि लोक नृत्यतर्फ प्रथमले ४० हजार १११, दोस्रोले २५ हजार १११, तेस्रोले १५ हजार १११ र सान्त्वना तीन टिम र उत्कृष्ट भेषभुषालाई ५ हजार १११ दिइने सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
२०५४ सालमा स्थापित संस्थाको रजत वर्ष पनि भएकोले महोत्सव भव्य बनाउन संस्थाका अध्यक्षताको मुल संयोजकत्वमा २६ वटा उपसमिति गठन गरिएको सचिव थिरबहादुर थापाले बताए । भदौ १२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्नेछन् भने समापनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आउनेछन् । भदौ १३ मा संस्थाले निर्माण गरेको ब्याडमिन्टन कोर्टसहित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सदस्य राजीव गुरुङले गर्ने आयोजकले जनाएको छ ।





