बागलुङ/ गण्डकी थापा अधिकारीका बाबु बलराम थापा भारतीय सेनाका निवृत्त हुन् । हजुरबुबा कृष्णबहादुर थापा गुल्मीको शान्तिपुरका प्रधान थिए । ससुरा कृष्ण बहादुर अधिकारी पनि सामाजिक अगुवा, मुखिया खलक थिए । त्यसैले यी दुइ घरको रवाफ एकैप्रकारको छ ।
२०५४ सालमा विवाह हुँदा १७ वर्षकी मात्र भएपनि गण्डकी थापा सामाजिक र राजनीतिक क्षेत्रमा प्रशिक्षित थिइन् । घर भित्र बाहिरको काममा क्रियाशिल भइसकेकी थिइन् । राजनीतिमा निस्कनका लागि उनको माइतीघर खुला थियो । विवाह गरेर आएको घरले पनि राजनीतिक सक्रियताका लागि अवसर दियो । त्यो अवसर संहाल्दै अहिले उनी बडिगाड गाउँपालिकाको अध्यक्ष र कांग्रेस जिल्ला सचिवसम्म निर्वाचित बन्न पुगेकी छिन् ।
महिला संघमा साधारण सदस्यदेखि जिल्ला उपाध्यक्षसम्म बसेर काम गरेकी गण्डकी थापा अधिकारी महिला भएकै कारण मात्र पदमा पुगेकी भने होइनन् । हिम्मत, साहस र काम गर्ने इच्छा शक्तिले सफलता मिलेको हो । महिला संघको अध्यक्ष होस् या गाउँपालिकाको अध्यक्ष दुवै स्थानमा पराजित भए पनि उनले मुलधारको राजनीतिबाट विश्राम लिइनन् । राजनीतिक यात्रा भनेरै उनले खाँदाखाँदैको सरकारी जागिर त्यागिन् ।
२०५४ सालदेखि २०६३ सालसम्म अस्थायी, त्यसपछि २०७४ सम्म स्थायी शिक्षक जागिर खाएर पनि राजनीतिकै लागि उनले राजिनामा दिइन् । शिक्षण पेशामै रहेर पनि उनले राजनीतिलाई भने कहिल्यै पछि पारिनन् । जागिर छाडेलगत्तै स्थानीय तह निर्वाचनमा बडिगाड गाउँपालिकाको अध्यक्ष पदमा लड्दा पराजित भइन् । न अध्यक्ष पद आयो, न जागिर बाँकी रह्यो । एमालेका मेहरसिंह पाइजासँग झिनो मतले पराजित भएकी थापाले राजनीतिक यात्रालाई भने झन सक्रिय बनाइन् । दुईवटा हारलाई उनले हार मानिनन् । बरु पार्टी पंक्तिमा पनि निरन्तर सक्रिय रहिन् ।
कांग्रेसको जिल्ला सदस्य, सहसचिव हुँदै अहिले पार्टी सचिवमा निर्वाचित छिन् । निर्वाचन जित्ने हार्ने प्राविधिक विषय भएपनि उनी हस्तक्षेपकारी रुपमा पार्टीमा उदाएकी छिन् । ‘अघिल्लो पटक गाउँपालिका अध्यक्षमा हारेपनि फेरि त्यहीँ पुगेर काम गर्ने चाहना थियो, त्यो अहिले पूरा भयो’, उनले भनिन्, ‘अब एक दिन पनि अल्छी गरेर बस्ने अधिकार छैन ।’ निरन्तर काम गरेर पालिकाको विकासलाई गति दिनुपर्छ । उनले आफ्नो कार्यकालमा कम्तिमा १० वटा वडामा एक–एक वडास्तरीय र पक्की सडक बनाएर जोड्ने, सबै वडामा स्वास्थ्य संस्था बनाउने, उपकरणसहित सेवा संचालन गर्ने लक्ष्य सुनाइन् ।
बडिगाड गाउँपालिकामा सडक अभावमै प्रसुती व्यथाले मर्नेको संख्या धेरै छ । हरेक वडामा अस्थायी भएपनि हेलीप्याड बनाउने योजना उनको छ । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने, वडा तहमै ल्याब र सुरक्षित सुत्केरी सेवा दिने गरी संरचना र दरबन्दीको व्यवस्थापनमा लागेकी छिन् । अहिलेसम्म पालिका भवनमा समेत विद्युत सेवा छैन । राष्ट्रिय प्रसारण लाइनले सबै वडामा बिजुली बाल्ने सपना पनि उनले ५ वर्षमै पूरा गर्ने अठोट राखेकी छिन् । उज्यालो बडिगाड उनको लक्ष्य हो ।
पालिकाभित्रका ६६ विद्यालय र ५४ बाल विकास केन्द्रलाई गुणस्तरीय बनाउने, चालु वर्ष नै १० वटा बालबिकास केन्द्र थप्ने योजना उनको छ । त्रिभूवन माविजस्तै कम्तिमा १० वटा विद्यालय बनाएर आवसीय शिक्षा दिने, शिक्षक दरबन्दी मिलान, हरेक विद्यालयलाई प्रविधि मैत्री बनाउने, टोलमा सिसि क्यामेरा राख्ने जस्ता महत्वपूर्ण योजना उनको सामु छन् ।
उनको चाहनाले धेरै पटक सफलता पाएको छ ।उनको संघर्षले पाएको सफलताबाट गाउँ विकासमा पनि योगदान पुग्ने धेरैको विश्वास छ । सानी छोरी पेटमा हुँदा उनले पढ्ने योजना बनाइन् । काठमाडांैको पद्मकन्या बहुमुखी क्याम्पस पढ्न गएर पनि नपाएकी उनले बुर्तिवाङ फर्केर आइए, बिए पास गरिन् । पाल्पा पुगेर एमए उत्तीर्ण गरिन् । यसरी उनको मेहनतले पाएको सफलता र काखको छोरा घरमा छाडेर राजनीतिमा होमिंदाको दुःख पनि उनले सामान्य ठान्ने गरिन् ।
पछिल्लो समय युवाहरुको सक्रिय राजनीतिमा आएको प्रवेशले उनी उत्साहित छन् । ‘महिला, दलित र जनजातिबाट समेत युवाहरु राजनीतिमा आउँदा राजनीति चलायमान हुन्छ, तर हामीले पुराना नेतृत्वलाई अपहेलिन गर्नु हुँदैन’, थापा भन्छिन्, ‘अग्रजकै बाटोमा हिड्ने हो, इतिहास पढ्ने हो र भविष्य सुनौलो बनाउने हो ।’ उनले खुट्टामा चप्पल नलगाइ निस्वार्थ सेवा गरेका नेतालाई बहिस्कार गरेर नभइ सम्मानजनक स्थानमा राखेर राजनीतिमा युवाले हस्तक्षेप गर्नु पर्ने बताइन् । राजनीतिलाइ कमाउने धन्दा बनाउने, नेताहरुको पदप्रतिष्ठामा ¥याल काढ्ने प्रवृत्ति अन्त्य गर्ने र स्वच्छ छवि भएका युवा बनाउने अभियान छेड्ने बेला आएको उनले बताइन् । भन्छिन्, ‘उमेरले युवा मात्र गएर भएन, समाज परिवर्तनको स्पष्ट भिजन आउनुपर्छ ।’ अग्रजको अनुभव र युवा जोश मिलाएर मात्र राजनीति परिपक्क र क्रान्तिकारी बन्ने उनले बताए ।
राज्यको सेवा सुविधा लिन्न भनेर भ्रष्टाचारमा डुब्ने प्रवृत्ति त्याग्नुपर्ने उनको सुझाव छ । उनले घोषणा गरेरै राज्यको सेवा सुविधा लिने, गाडि चढ्ने बताइन् । बरु आफूले चढ्ने गाडि सदुपयोग गर्ने कि दुरुपयोग गर्ने भन्ने प्रश्न मात्र महत्वपूर्ण भएको उनले सुनाइन् । केही गर्छु भन्नेलाई निरन्तर दौडीनु पर्ने, चलायमान बन्नुपर्ने र त्यसकालागि राज्यको सेवा सुविधा लिनैपर्ने अनुभव सुनाइन् ।
उमेरले ४० बर्ष मात्र नभइ युवा जोश र काम गर्ने क्षमता भएकालाई युवा समूहमा राख्नुपर्ने उनको तर्क छ । आफू ४२ वर्षकी भएकोले मात्र यो विषय नराखेको भन्दै थापाले भनिन्, ‘सक्रिय राजनीतिक जीवन र काम गर्ने क्षमता हेर्नुपर्छ ।’ ६० वर्षदेखि माथीका नेताले भने राजनीतिक विश्राम लिने वा अभिभावक बन्ने योजना बुन्न सुझाव छ, उनको । ‘कि आँटले खाने, कि ढाँटले खाने भन्छन्, म आँटले केही गर्ने लक्ष्यमा छु’, उनले भनिन्, ‘पालिकाको सफलता देखाएर प्रदेश हुँदै संघिय संसदमा जाने बाटो खन्दैछु ।’ बाँडेको पद हैन, चाहेको र लडेर जित्ने पदमा बसेर काम गर्ने उनको चाहना हो । पार्टीमा पनि हस्तक्षेपकारी नेतृत्वमा पुग्ने चाहना छ । पदमा पुगेर ओगट्ने प्रवृत्ति भन्दा काम गरेर पदको गरिमा बचाउने गरी अगाडि बढ्नु पर्छ । पदमा आएको ३ महिनामा केही काम थालेको भन्दै महिलाले पनि गर्न सक्छन् भनेर देखाउने अबसरको रुपमा ५ वर्ष काम गर्ने आफ्नो योजना सुनाइन् ।





