पोखरा /कास्कीको प्रतिनिधीसभा क्षेत्र १ बाट गगनकुमार थापाको उमेदवारी । आउँदो प्रतिनिधीसभा निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापा कास्की १ बाट लड्ने खबर पोखरामा बुधबार निकै चर्चित बन्यो । साँच्चै गगन थापा आफैले उमेदवारी दिन चाहेका हुन त ?
गगन थापा आफैँले बुधबार सामाजिक सञ्जालबाट आफू कास्की १ बाट नभई, काठमाण्डौ ४ बाटै उमेदवारी दिने प्रष्ट पारे ।
कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट पनि यही क्षेत्रका हुन । पूर्व महामन्त्रीको क्षेत्रमा वर्तमान महामन्त्रीको नामबाट उमेदवारी हालिदिने स्वयं कांग्रेसकै कार्यकर्ता हुन ।
महामन्त्री थापा निकटका नेता कार्यकर्ताहरुले आफै नाम हालिदिएर चर्चामा ल्याएका थिए । गगन थापा काठमाण्डौबाटै लड्ने भएतापनि जिल्ला सचिव भानु ढकाल सहित निकटका कार्यकर्ताहरुले उनको नाम भजाउने प्रयास गरेका थिए ।
गगन थापा कास्कीबाट चुनाव लड्ने भन्नेबित्तिकै सामाजिक सञ्जालमा तरंग छाएको थियो । उनको पक्षविपक्षमा कार्यकर्ताहरुले धारणा राखे ।
तर, थापाले ट्विट गर्दै आफू उमेदवार नबन्ने भएपछि यो च्याप्टर क्लोज भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले बुधबार प्रतिनिधीसभा क्षेत्रीय कार्यसमितिको बैठक राखेर प्रतिनिधीसभा निर्वाचनमा उमेदवारका आकांक्षीको नाम संकलन गरेको थियो ।
परिपत्र अनुसार प्रत्यक्ष र समानुपातिकमा बढिमा ३/३ जनाको नाम सिफारिस गर्न भनेतापनि आकांक्षीको संख्या भने निकै ठुलो छ ।
३ वटा प्रतिनिधीसभा निर्वाचन क्ष्ोत्र रहेको कास्कीमा १ र ३ बाट आकांक्षीको नाम संकलन गरिएको छ । क्षेत्र नं. २ को चाहिँ शुक्रबार मात्रै बैठक बस्नेछ ।
कास्की क्षेत्र नं. १ बाट पार्टीका सहमहामन्त्री देखि केन्द्रिय सदस्य, पूर्व महामन्त्री, वर्तमान महामन्त्री, पूर्व र वर्तमान जिल्ला सभापति लगायतले आकांक्षा राखेका छन ।
कृष्णबहादुर केसी कास्की कांग्रेसका पूर्व सभापति हुन भने गुरुप्रसाद बराल वर्तमान केन्द्रिय सदस्य हुन । पार्टी सभापतिमा पराजित भएका सुदिपमोहन भट्टराई, कांग्रेस सहमहामन्त्री जीवन परियारले यो क्षेत्रबाट आकांक्षा राखेका छन ।
तिलक बहादुर रानाभाट, विश्व घिमिरे, वीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी, व्यवसायी होम बहादुर बसेल बिमल, सुनिल गुरुङ, जिल्ला सभापति किशोरदत्त बराल, चतुराखर अधिकारी, सरस्वती गुरुङ, महामन्त्री गगन कुमार थापा र पूर्वमन्त्री यज्ञबहादुर थापा यसै क्षेत्रबाट उमेदवार आकांक्षी हुन ।
पूर्व महामन्त्री तारानाथ रानाभाट चाहिँ समानुपातिकमा आकांक्षा देखाएका छन । रानाभाट सहित कांग्रेस नेतृ सरस्वती गुरुङ, तीर्थ जङली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मिया, विन्दु भण्डारी, इ. राम बहादुर केसी र तर्कजङ गुरुङले समानुपातिकमा नाम टिपाएका छन ।
सरस्वती गुरुङले चाहिँ प्रत्यक्ष र समानुपातिक दुवैमा नाम लेखाएकी छन । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पोखरा महानगरको उपमेयर उमेदवार समेत थिइन ।
क्षेत्र नं. ३ बाट भने क्षेत्रीय सभापति सहित प्रत्यक्ष र समानुपातिकमा गरि २० जनाले इच्छा देखाएका छन । क्षेत्रीय सचिव लक्ष्मीप्रसाद पौडेलका अनुसार प्रत्यक्षमा क्षेत्रीय सभापति मनोज गुरुङले नाम टिपाएका छन । उनी कास्कीको तरुण दलका पूर्व सभापति समेत हुन । त्यसबाहेक कांग्रेस पोखरा महानगर समिति सभापतिमा पराजित गंगाधर पराजुली, रामचन्द्र त्रिपाठी यो क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने आकांक्षा राखेका छन ।
पूर्वसचिव तथा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य पनि यसै क्षेत्रबाट चुनाव लड्ने आकांक्षा राखेका छन । आचार्य गत स्थानीय तह निर्वाचनमा पोखराको मेयरका आकांक्षी थिए ।
यसबाहेक युवा नेता ललित गुरुङ, दीपक गुरुङ, इ. यामकृष्ण पौडेल, पशुपति भट्टराई, बद्रीनाथ पराजुली र आशबहादुर गुरुङले प्रत्यक्षतर्फ नाम टिपाएका छन ।
समानुपातिमा चाहिँ कास्कीका पुराना नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले अपेक्षा राखेका छन । ०७६ सालको उपनिर्वाचनमा कास्की २ बाट उमेदवार बनेका कांग्रेसका अर्का पुराना नेता खेमराज पौडेल पनि समानुपातिकमा आकांक्षा देखाएका छन ।
खिमलाल बास्तोला, गंगा केसी, शारदा पौडेल, कृष्णकुमारी परियार, अब्दुल रजित मिया, मनबहादुर विक, रामप्रसाद अधिकारी र अमृतकुमार श्रेष्ठले पनि समानुपातिकमा नै इच्छा देखाएका छन ।
उम्मेदवार हुन आवेदन आएका नाम क्षेत्रीय कार्यसमितिले बिहिबार बैठक बसि जिल्लालाई पठाइने पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभातर्फ बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न सक्ने अधिकार क्षेत्रीय कार्यसमितिमा छ ।
तर, आकांक्षी चाहिँ विधान भन्दा निकै बढि रहेका छन ।
पर्वत ‘क’ मा २८ जना आकांक्षी
दुई प्रदेशसभा निर्वाचना क्षेत्र रहेको पर्वतबाट प्रदेश ‘क’ मा मात्रै २८ जनाले आकांक्षा राखेका छन । प्रत्यक्षमा १० जना समानुपातिकमा १८ जनाले नाम टिपाएका हुन ।
क्षेत्रीय सभापति राजकुमार केसीका अनुसार प्रत्यक्षमा उम्मेदवारका आकांक्षीमा नवराज गुरुङ, यामबहादुर मल्ल, रामशर्मा पौडेल, विप्लवजंग हमाल, कृष्णबहादुर खत्री केसी, राजकुमार क्षेत्री, गंगाधर पौडेल, शिवशर्मा अधिकारी, रामबहादुर प्रसाई र बसन्तबहादुर सिके रहेका छन ।
जिल्लाका पूर्व सभापति नवराज गुरुङ बारम्बार टिकट पाएर पनि कहिल्यै चुनाव नजित्ने नेता हुन । यामबहादुर मल्ल जिल्ला सभापतिमा पराजित भएका नेता हुन भने जलजला गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन । पुराना नेता रामशर्मा पौडेल देखि शिक्षणबाट राजनीतिमा आएका वसन्त सिके पनि प्रदेशतर्फका आकांक्षी हुन ।
०७४ को निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका माओवादीका नेत्रनाथ अधिकारीले चुनाव जितेका थिए । अधिकारी अहिले गण्डकीका सभामुख पनि हुन ।
यस्तै समानुपातीक उम्मेदवारमा डा. चुडामणी शर्मा, कुलबहादुर पुन, लेखनाथ पौडेल, प्रेम विक, मिना केसी, सोम पुन, सरस्वती शर्मा, रमेश पौडेल, जोगमाया प्रसाई, मिनबहादुर नेपाली, सिता काफ्ले लामिछाने, मिना कर्माचार्य, चन्द्रबहादुर जिसी, कलावती पुरी, बलभद्र शर्मा, लालकुमारी सिके, टंक सुवेदी र इश्वरी पाठकले नाम टिपाएका छन ।





