मनाङ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी बहुमतका साथ विजयी हुने दावी गरेका छन् ।
एमाले मनाङको चौथो जिल्ला अधिवेशनलाई बिहीबार सदरमुकाम चामेमा उदघाटन गर्दै गुरुङले पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने योजनाका साथ तयारी गरिरहेको बताए ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले आगामी निर्वाचनमा एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले ‘एक संगठित सदस्य दुई नयाँ भोट बृद्धि र पाँच भोटको सुरक्षा’ अभियान अगाडि सारेको बताए । यो अभियान सफल बनाएर पार्टीले बहुमत प्राप्त गर्ने उनको दावी थियो ।

एमाले विकास र समृद्धिका विस्तृत योजनाका साथ चुनावमा जाने तयारी गरेको वताउदै उनले भने, ‘गठबन्धनभित्र विश्वासको कमी छ । कुन बाटो जाने भन्नेमा अलमल छ । नेपाली जनताले त्यस्तालाई विश्वास गर्दैनन् । उनीहरूको जित्ने आधार नै छैन ।’ देश बनाउने मार्गचित्र, विचार, संगठन एमालेसँग मात्र भएको वताउदै उनले भने, यसपटकको निर्वाचन बहुमतका साथ जित्नेमा हामी ढुक्क छौं ।’
अहिलेसम्म गठबन्धनले प्रधानमन्त्रीको रुपमा कसलाई अघि सार्ने भन्ने टुङ्ग्याउन नसकेकाले यसले गठबन्धनप्रति प्रश्न उठेको छ । नेता गुरुङले एमालेले पार्टीको स्थायी कमिटी, सचिवालय, पोलिटब्युरो, केन्द्रीय कमिटीको बैठक बसेर निर्वाचनको तयारी थालेको बताउदै निर्वाचनमा चूनौती पनि रहेको वताए ।
उनले भने, ‘यसपटक हामीलाई चुनौती त पक्कै छ । नेपालमा भएका सर्प, विच्छी, भ्यागुता जस्ता दलहरू हामी विरुद्ध लागेका छन् । हामीसँग डराएर एकठाउँमा जम्मा भएका छन् । अब हामी सबैलाई हराएर छाड्नेछौं । त्यही तयारीमा पार्टी लागेको छ ।’
स्थानीय तह निर्वाचनमा पनि एमाले एक्लै लड्दा सबैभन्दा ठूलो र बलियो पार्टी बनेको र अब पनि जनताले एमाले नै छान्ने बताए । उनले पार्टीको विचार, नीति राम्रो रहेको र अझ निखारेर जानुपर्नेमा जोड दिए ।
नेकपा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा मनाङ इन्चार्ज तथा लमजुङका सह–इन्चार्ज जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, जिल्ला समन्वय समिति मनाङका अध्यक्ष चिनबहादुर घलेलगायतले शुभकामना मनतब्य राखे । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य राजन गुरुङले र स्वागत प्रदेश कमिटी सदस्य छिरिङ लोप्साङ गुरुङले गरेका थिए ।





