पोखरा/ नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन दलभित्र नेपाली कांग्रेसमा सबै सोहोर्ने प्रवृत्ति देखिएको बताएका छन् । सत्ता गठबन्धनमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाटमा सहमति नभएका बेला नेपालले पोखरा आएर उक्त कुरा बताएका हुन् ।
‘नेपाली काँग्रेसभित्र सबै सोहोर्ने प्रवृत्ति देखिन्छ, कतिपय नेता मिलाउनुपर्छ भन्ने भावना राख्नुहुन्छ’, उनले भने, ‘मिलाउन खोज्नेलाई धन्यवाद भन्छौं, सोहोर्न खोज्नेलाई त्यस्तो काम नगरौं भन्छौं ।’
निर्वाचनमा पार्टीले मापदण्ड बनाएर उम्मेदवार छनौट गर्ने भन्दै नेपालले गठबन्धनमा सहमति नभए एक्लै जान तयार रहेको बताए । ‘मापदण्ड बनाएर उम्मेदवार बनाउँछौं, सहमति भएन भने एक्लै अघि बढ्छौं,’ उनले भने, ‘सहमति भएन भनेर खिन्नता र निराशा आवश्यक छैन ।’
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ समाजवादी) कास्कीको भेलामा बोल्दै नेपालले गठबन्धनमा सहमति गर्दा सम्मानजनक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी सम्मानका साथ सहमति गर्नेछौं,
कसैले फालेको चिज दिन्छ भने स्विकार्न सकिन्न, हामी पनि सम्मानित पार्टी हो ।’
नेकपा एकिकृत समाजवादी पार्टी माओवादी केन्द्रमा विलय हुँदैछ भनेर एमालेले कुप्रचार गरेको भन्दै उनले विगतमा एमालेलाई समाप्त पारेर नेकपा बनाएको बताए । ‘एमालेलाई समाप्त पारेर नेकपा बनाएको आप्mनै विगत संझन एमालेलाई आग्रह गर्छु,’ उनले भने, ‘विगतमा पार्टी एकताका अभ्यास अध्यन गरेर मात्र हामी माओवादी र जनमोर्चासँग एकता गर्नेबारे कुराकानी गरिरहेका छौं ।’
नेकपा एकिकृत समाजवादी वैधानिक हिसाबले हैसियत पाएको पार्टी भएको भन्दै उनले प्रतिनिधी सभा र प्रदेश सभामा आप्mनो पार्टीको छुट्टै स्थान रहेको बताए । ‘अहिले अनेक खालका काम सुन्न आएको छ, बेठिक काम नहोस्,’ उनले भने, ‘निर्वाचन आयोगले हाम्रो पार्टीको स्थान, मर्यादा र उचित सम्मान गरोस् ।





