पोखरा, १९ भदौ– पोखराका मेयर धनराज आचार्यले पदबहाली गरेको सय दिन पुगेको छ । सय दिनको कार्यकालबारे उनले शनिबार पत्रकार सम्मेलन गरेर १०० दिनका १०० काम सार्वजनिक गरे ।
जसमा पदवहाली गर्नुपूर्व सडकको डिभाइडरमा रोपिएको फूललाई उपलब्धि मानिएको छ भने वृक्षरोपण देखि किसानलाई कार्ड बाँडेको सम्म समेटिएका छन ।
तर, राष्ट्रिय गौरवकै आयोजनालाई प्रभाव पार्ने ल्याण्डफिल साइटको बारेमा भने मेयर आचार्यले १०० दिनसम्ममा कागजी खाका पनि कोर्न सकेनन । फोहोरमैला व्यवस्थापनको लागि महानगरको टोलीले धरानदेखि दिल्लीसम्मको भ्रमण गरेको विषयलाई प्राथमिकताका साथ उपलब्धिमा राखिएको छ ।
तर, उडान मिति तय भइसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्डफिल साइटकै कारण ढिलाई हुने सर्वविदित समस्याको बारेमा चाहिँ १०० दिनको उपलब्धिमा अटाउन सकेन ।
ल्याण्डफिल साइट व्यवस्थापनको बारेमा उनले सय दिनमा गरेको प्रयास पन उपलब्धिमा उल्लेख छैन । ल्याण्डफिल साइट व्यवस्थापन भइसकेतापनि ६ महिनासम्म चराको आवागमन सोही क्षेत्रमा भइरहने र यसले विमानस्थल प्रभावित हुने विज्ञहरुले बताइरहेका छन ।
आउँदो अंग्रेजी नयाँ वर्षबाट उडान सुरु गर्ने भनेर पर्यटन मन्त्रालयले मिति पनि घोषणा गरिसकेको छ । तर, ल्याण्डफिल साइट नै अहिलेसम्म मुख्य चुनौती देखिएको छ ।
यही विषयमा मेयरले उपलब्धि देखाउन सकेनन ।
उनले पेश गरेका उपलब्धीमा महानगरले नियमित प्रदान गर्ने कृषि तथा फलफुलका विरूवा वितरण, जनप्रतिनिधि तथा महानगरका महाशाखा प्रमुखलाई नेतृत्व विकास तालिम, वृक्षारोपण, विभिन्न क्लब, तथा संघ संस्थाले आयोजना गर्ने फुटबल प्रतियोगितादेखि अन्य सांस्कृतिक कार्यक्रमलाई आर्थिक सहायता दिएको विषय समेटिएको छ ।
शासकीय सुधारमा चाहिँ आचार्यले महानगरमा एकद्धार प्रणालीबाट सेवाग्राहीले सेवा पाउने व्यवस्था गरेका छन । ६३ रोपनी जग्गाको अनधिकृत भाडा सम्झौता खारेज गरेका छन ।
पोखरा बसपार्कको स्तरोन्नती गर्दै बसपार्कमा ग्राभेल बिच्छाइएको छ । सुकुम्बासीलाई वडागत रुपमा निस्सा बाँडिदैँछ ।
महानगरले पोखराका विभिन्न भवनमा पार्किङका लागि बनाइएको अण्डरग्राउण्ड व्यवसाय हटाउन सूचना जारी गरेका छन । पोखराका बजार क्षेत्रमा निजी घर तथा व्यवसायिक भवनका शौचालय सार्वजनिक प्रयोग गर्न ३२ स्थानका ७३ वटा शौचालय सर्वसाधारणका लागि खुला गर्न सफल भएको पनि आचार्यको दाबी छ ।
जनगुनासो सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम समेत सञ्चालन गरिएको छ । महत्त्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, हजारौँको सङ्ख्यामा फलफूलका बिरुवाहरू रोपण, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहत÷उपचार सहयोग तथा सिफारिस लगायत कामहरू यस अवधिमा सम्पन्न गरिएका छन् ।
साथै विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका सहरहरूसँगको साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन ।





