आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अर्बपति चौधरीको नाम दुई ठाउँबाट सिफारिस, एकमा सशांक नै बलियो उमेदवार

अर्बपति चौधरीको नाम दुई ठाउँबाट सिफारिस, एकमा सशांक नै बलियो उमेदवार


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०७९, सोमबार

पोखरा/ कांग्रेस महामन्त्री गगन थापाले प्रदेशसभा र प्रतिनिधीसभाका क्षेत्रीय समितिलाई परिपत्र गर्दै समानुपातिक सांसद सिफारिस गर्दा बहालवाला समानुपातिक सांसदलाई सिफारिस नगर्न निर्देशन दिए ।

यसले गर्दै समानुपातिकमा दोहोरिएरै भएतापनि सांसद बन्ने धेरैको चाहना पुरा नहुने भयो । कांग्रेसले प्रत्यक्षमा २३ सिट जित्दा ४० सिट समानुपातिकमा जितेको थियो । समानुपातिकबाट सांसद बनेकाहरुले अब सांसद बन्न प्रत्यक्ष निर्वाचन नै लड्नुपर्ने हुन्छ ।

कांग्रेसको विधानको धारा ३३ मा भनिएको छ, “प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।”
महामन्त्रीको यही परिपत्रका कारण अर्बपति सांसद विनोद चौधरी समानुपातिक कोटाबाट संसद छिर्न पाउने भएका छैनन । दुई प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा उनले प्रत्यक्ष निर्वाचन लड्न चाहेका छन । सोहीकारण उनले दुवै ठाउँबाट आफ्नो नाम टिपाएका छन ।

गत चुनावमा नवलपुर १ मा महामन्त्री डा. शशांक कोइरालाले चुनाव जितेका थिए । गण्डकीबाट प्रतिनिधीसभाको प्रत्यक्ष निर्वाचन जित्ने कांग्रेसबाट कोइराला मात्रै एक उमेदवार थिए । उक्त क्षेत्रमा फेरि पनि कोइरालाले आकांक्षा राखेका छन ।
नवलपुर कांग्रेस नेता तथा कार्यकर्ताहरु चाहिँ कोइरालाले आकांक्षा राखेपछि उनले नै टिकट पाउने दाबी गर्छन ।
उसोभए, कोइरालाको निर्वाचन क्षेत्रमा चौधरील किन नाम टिपाए त ?

स्रोत भन्छ, दुवै क्षेत्रमा नाम टिपाएतापनि चौधरीले क्षेत्र नं. २ को लागि टिकटको बार्गेनिङ गरेका हुन ।
उक्त निर्वाचन क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा एमालेका तिलक महत विजयी भएका थिए । जहाँ अहिलेपनि उनै महतको नाम एकल सिफारिस भएको छ ।

सो क्षेत्रबाट पनि चौधरीले उमेदवारी दिएका छन । क्षेत्रीय कार्यसमितिले आकांक्षीको नाम संकलन गर्दा चौधरी स्वयम पुगेका थिए ।
गत स्थानीय तहको चुनाव हेर्दा कांग्रेस सबैभन्दा बिग्रेको पनि नवलपुरमा नै हो । ०७४ मा आठमध्ये छ पालिका जितेको कांग्रेस अहिले दुइमा खुम्चिएको छ ।

अर्कातर्फ गठबन्धन पनि भएका कारण नवलपुरका दुवै क्षेत्र कांग्रेसले नै पाउँछ भन्ने पनि टुंगो छैन ।
तर, सांसद बन्ने हुटहुटी र कांग्रेस पदाधिकारीसँग राम्रो सम्बन्ध बनाएका चौधरी जसरी पनि टिकट ल्याएर प्रत्यक्ष चुनाव लड्ने योजनामा छन ।
नवलपुरकै एक क्षेत्रीय नेताका अनुसार, “प्रत्यक्षमा टिकट पाएतापनि चौधरीको हकमा चाहिँ चुनाव जित्न भने सहज छैन ।”
यो गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पनि जिल्ला हो ।

शशांकले चुनाव जितेको क्षेत्र नं. १ बाट कोइराला र चौधरी सहित छ जनाले प्रत्यक्षमा आकांक्षा राखेका छन ।
प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य, डा. शशांक कोइराला, केन्द्रिय सदस्य विनोद चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, प्रदेश सांसद ओमकला गौतम र महेन्द्रभक्त अधिकारीले नाम दर्ता गराएका छन । त्यस्तै समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि ११ जनाले नाम दर्ता गराएका छन ।

त्यसै गरि समानुपातिक तर्फ हेमराज कोइराला, महेन्द्रभक्त अधिकारी, धनबहादुर मास्की राना, मैना कामी, भानु सिग्देल, विनाकुमारी थनेत, डा. गंगा सापकोटा, रामबहादुर खड्का, सत्यनारायण खनाल, प्रेमबहादुर विश्वकर्मा र प्रेमबहादुर विश्कर्मा (प्रकाश) ले नाम दर्ता गराएका कांग्रेस क्षेत्र नं एकले जनाएको छ ।

क्षेत्र नं. २ मा पनि चौधरीको अलावा प्रत्यक्षमा काँग्रेसका नेताहरु गणेशमान श्रेष्ठ, उदय राज अर्याल, भरत भुसाल, दोमन बहादुर भण्डारी, चन्द्र बहादुर राना, चेत प्रसाद पौडेल, टेक प्रसाद श्रेष्ठ, डा. ज्ञानेन्द्र पौडेल, राम प्रसाद महतोले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।
त्यस्तै समानुपातिक तर्फ समानुपातिक (पुरुष तर्फ) चन्द्र बहादुर दरै, बुद्धिसागर उपाध्याय, जोगबहादुर थारु, जिवलाल पाठक, राजेन्द्र भट्टराइ, समानुपातिक (महिला तर्फ) विमला सापकोटा, पुनम नगरकोटी, लक्ष्मी चौधरी, गौरी वि.क., खुस्बु चौधरी, विमला वि.क.ले आवेदन दर्ता गराएका हुन ।

एमालेले नवलपुर २ मा महतको एकल उमेदवारी परेको छ भने १ मा चाहिँ तीनजनाले आकांक्षा राखेका छन ।
प्रतिनिधीसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कृष्ण पौडेल, रविन्द्र अधिकारी र नारायण प्रसाद तिमिल्सीनाको नाम सिफारिस भएको छ । समानुपातिकमा दिपक अधिकारी, सुनिता खातुन र रेखा पौडेल को आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->