बागलुङ/ बागलुङ नगरपालिकाले थालेको बालमैत्री अभियान पुरा गर्न वडा स्तरमा समिति गठन भएका छन् । नगरपालिकाले थालेको सेवा प्रवाह घुम्ती शिविरमा वडा अध्यक्षहरुकै अध्यक्षतामा वडा समिति गठन भएको हो ।
वडा समितिले वडा तहको बालबालिका स्थिति सार्वजनिक गर्ने, विद्यालय तहमा बाल क्लबमार्फत बालअधिकार संरक्षणमा कार्यक्रम गर्ने तथा समुदाय तहमा पनि बालमैत्री संरचना निर्माणमा योगदान गर्ने लक्ष राखिएको छ । आइतबार वडा नं. ९ तित्याङमा वडा अध्यक्ष राजु थापाको अध्यक्षतामा समिति गठन भएको हो । यसअघि केही वडामा पनि समिति गठन भैसकेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।
जनताको घरदैलोमा सेवा दिने र बालमैत्री नगर बनाउन सबैले चासो दिएकाले छिट्टै लक्ष भेट्न सकिने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । उनले निर्वाचनपछि जनप्रतिनिधि र जनताबीच योजना सम्झौताका लागि भेट्ने अवसर मिलेको भन्दै नगरका अभियान जनतासम्म लैजान शिविर चलाएको बताए । उनले सडकको असहज अबस्थाले जनताले सदरमुकाम पुगेर सेवा पाउन अझै नसकेको भन्दै शिविरमार्फत अन्य सेवा पनि प्रवाह भएको बताए ।
योजना सम्झौतासहित वडामै माटो परीक्षण, अपांग परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, आँशा शिविर तथा महिलाको पाठेघर सम्बन्धी समस्याको उपचारसमेत गरिएका छन् । नेपाली सेना, नगर स्वास्थ्य शाखा र परिवार नियोजन संघबाट पुगेको टिमले सेवा प्रवाह गरेको वडा अध्यक्ष राजु थापाले जानकारी दिए ।
शिविरमा तित्याङका २१ व्टा पूर्वाधार तर्फका योजना सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । तीमध्ये १२ वटा योजनामा महिला अध्यक्ष रहेका छन् । स्वास्थ्य सेवातर्फ ३ सय ६९ जनाको स्वास्थ्य परीक्षण, २ सय ५ जनाको आँखाको परीक्षण गरी २३ जनालाई चस्मासमेत वितरण गरिएको थियो । १ सय ३८ जना महिलाको पाठेघर सम्बन्धी परीक्षण, १ सय १२ जनाको मधुमेह परीक्षण र ३ जनालाई परिवार नियोजनको इम्प्लान्ट सेवा, ३ जनालाई आइयुसिडी सेवा दिइएको थियो ।
शिविरमा नयाँ र पुरानो गरी १७ जना अपांगलाई परिचयपत्र बितरण भएको थियो । ‘क’ वर्गको परिचयपत्र ६ जनालाई दिइएको थियो । उनीहरुलाई बोकेर सदरमुकाम ल्याउन कठिन थियो । तित्याङको १ सय ५० रोपनी जमिनको ३० स्थानबाट ल्याएको माटो परीक्षण गरिएकोमा औषतमा ६ दशमलब ७ प्रतिशत पिएच भ्यालु रहेको अम्लियपन भेटिएको बताइएको छ । उक्त जमिनमा कृषि चुन प्रयोग गर्न सुझाव दिइएको कृषिशाखाका प्रमुख राहुल केसीले जानकारी दिए ।





