पोखरा/पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नभएसम्म समाजमा स्थापित हुन कठीन हुने बताएकी छन् । । पोखरा महानगरमा सञ्चालित उपप्रमुखसँग महिला कार्यक्रम बारे नवनिर्वाचत महिला जनप्रतिनिधिसँगको अन्तर्रक्रियामा बोल्दै उनलेमहिलाहरु आर्थिक रुपमा अरुसँग निर्भर हुनुपर्दापछाडी परेको बताउँदै स्वरोजगार बन्नुपर्नेमा जोड दिइन् ।
‘आर्यआर्जनको लागि व्यावसायिक बन्नुपर्छ । आर्थिक रुपमा सबल र सक्षम हुुनुपर्छ भन्ने योजनासहित कार्यक्रम ल्याएका हौँ’,उनले भनिन् । उनलेमहिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुँदासम्म हिंसामुक्त समाज बन्न नसक्ने बताइन् । २०७५ सालदेखि सो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
२०७४ सालमा निर्वाचित भएसंगै कार्यक्रम ल्याएको भएपनि कार्यविधि निर्माणमा ढिलाई हुँदा संचालन हुन नसकेको र ७५ सालमा कार्यविधि बनाएर निरन्तर कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् । आर्थिक वर्ष २०७५/७६ का लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो भने त्यसपछि पनि कार्यक्रमका लागि वार्षिक २ करोड विनियोजन हँुदै आएको छ ।
उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत कृषि, व्यवसायीक र घरेलु उद्यमसिलता, रोजगार मुलक, सीप विकास, निर्माण तथा क्षमता अभिबृद्धिसम्बन्धी कार्यक्रमलाई प्राथमिता दिइएको छ । त्यस्तै स्थानीय महिला समूहहरुको सक्रियतामा स्थानीय स्तरका कृषिजन्य उत्पादनको बजारीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमहरु गर्नेछ । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति गठन भएको छ । समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका २ जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने व्यवस्था छ ।
समितिले महिला सशक्तीकरण तथा सीप विकासको क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रमहरु संचालन समेत गर्ने छ । उक्त कार्यक्रमका लागि वडा स्तरबाट माग भई आएका कार्यक्रमको संचालक समितिले आवश्यकता र औचित्यताका आधारमा कार्यक्रम अगाडी बढाउन स्वीकृति दिन सक्नेछ । संचालक समितिले आवश्यक महिला उद्यमशिलताका लागि अनुदान तथा ऋण सहायता समेत उपलब्ध गराउन सक्ने उपप्रमुख गुरुङको भनाइछ । कार्यक्रम संचालन गर्दा विपन्न, अति विपन्न, एकल, हिंसा पिडित, अपाङ्गता भएका, दलित आदिवासी जनजाति र सिमान्तकृत महिलालाई प्राथमिकता दिइने छ ।
कार्यक्रम संचालनका लागि वडाभित्र रहेका महिला जनप्रतिनिधि, सामाजिक क्षेत्रमा क्रियाशिल संघसस्थाका प्रतिनिधिहरुलाई उपप्रमुखसँग महिला कार्यक्रमका बारेमा जानकारी, त्यसले गर्ने काम, गठन प्रक्रिया, संचालक समितिका बारेमा उपप्रमुख गुरुङले जानकारी गराउँदै कार्यक्रमका लागि आ–आफनो वडामा छलफल गरेर महिलाहरुलाई सीप सिकाएर आर्यआर्जन गराउन सक्ने कार्यक्रमका प्रस्तावहरु महानगरमा पेश गर्न अनुरोधसमेत गरिन् । कार्यक्रममा कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा,सदस्यसचिव विष्णुमाया पौडेललगायतले बोलेका थिए ।





