पोखरा/ आउँदो संसदीय निर्वाचनमा गठबन्धनका पाँच दल मिलेर चुनावमा जाने पक्षमा छन । त्यसकै नतिजास्वरुप १६५ प्रतिनिधीसभाका सिटमध्ये अहिले भाग बाँडफाँट चलिरहेको छ । सबै दलले बढाबढमा सिट दाबी गरिरहेका छन । त्यसको निकास खोज्न भनेर एउटा कार्यदल पनि बनाइएको छ । तर, कुन दलले कुन क्षेत्र लिने, कति सिट लिने भन्नेमा अन्योलता कायमै छ ।
कार्यदलका सदस्यहरुका अनुसार अहिलेसम्म ११० सिटको भागबण्डा टुंगिएको छ । गण्डकीका ११ जिल्लाको भागबण्डा करिब–करिब टुंगिएको छ । तर गठबन्धनकै कारण गठबन्धनकै सबैभन्दा ठुलो दल कांग्रेस चाहिँ बागलुङमा निल बन्ने निश्चित देखिएको छ ।
गण्डकीमा प्रतिनिधिसभाका १८ वटा निर्वाचन क्षेत्र छन । ती मध्ये ३ वटा निर्वाचन क्षेत्र कास्कीमा मात्रै छ भने दुईवटा निर्वाचन क्षेत्रका भएका जिल्लामा तनहुँ, स्याङ्जा, गोरखा, नवलपुर र बागलुङ हुन । बाँकी रहेका लमजुङ, मनाङ, म्याग्दी, मुस्ताङ र पर्वतमा चाहिँ एउटामात्र निर्वाचन क्षेत्र छन् ।
कार्यदलले टुंग्याएको सिट बाँडफाँट अनुसार ११ मध्ये २ जिल्लामा कांग्रेसका उमेदवार नै हुने छैनन भने उसले गण्डकीमा १० सिट पाउने निश्चित देखिएको छ । २ सिट चाहिँ कसले लिने भन्ने टुंगो लागिसकेको छैन । साविक धौलागिरी क्षेत्रमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको बागलुङ चाहिँ गठबन्धनका सहायक दलका हेभिवेट उमेदवारका कारण कांग्रेस निल बन्ने अवस्था आएको हो ।बागलुङबाट माओवादीको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेल छन ।
माओवादीका सचिव रहेका पौडेलको क्षेत्र बागलुङ २ हो । यस क्षेत्रबाट उनले अघिल्लो निर्वाचनमा वाम गठबन्धनको सहयोगमा कांग्रेसका उमेदवार नरबहादुर पुनलाई भन्डै ९ हजार मतान्तरले हराएका थिए ।अहिले उनै पौडेललाई कांग्रेसले भोट हाल्नुपर्ने छ भने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनबाटै पनि वञ्चित हुनुपर्ने अवस्था छ ।
गठबन्धनबाट यहाँको अर्को क्षेत्र चाहिँ राष्ट्रिय जनमोर्चाले पाउने छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले पनि प्रत्यक्षमा निर्वाचन लड्ने इच्छा जाहेर गरेका छन । उनी बागलुङ १ बाट उमेदवार बन्दा २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका ३ वटै सिट जितेको कांग्रेस चाहिँ उम्मेदवारविहीन बन्नेछ ।माओवादीलाई सघाउँदा कांग्रेस निल बन्ने अर्को जिल्ला हो, लमजुङ । यहाँबाट अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उमेदवार देव गुरुङ विजयी भएका थिए । उनले कांग्रेसका दिलबहादुर घर्तीलाई हराएका थिए । गुरुङ अहिले माओवादी केन्द्रका महासचिव हुन । उनलाई अहिले कांग्रेसले साझा उम्मेदवार बनाउने सम्भावना छ ।अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिएका जिल्ला चाहिँ कांग्रेसको भागमा परेका छन । तनहुँ र स्याङ्जाको (१ र २) दुबै क्षेत्र कांग्रेसले पाउने छ भने मुस्ताङ, मनाङ, म्याग्दी र पर्वत कांग्रेसले लिने छ ।
प्रदेश राजधानी कास्कीको बाँडफाँट पनि करिब–करिब टुंगो लागिसकेको छ । तीनवटा निर्वाचन क्ष्ोत्र रहेको यहाँका तीनवटा क्षेत्र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले पाउने सम्भावना छ । कास्की १ मा कांग्रेसको निश्चितजस्तै भएतापनि अन्य दुई क्षेत्रमा भने बाँकी दलसहित कांग्रेसले पनि दाबी राखेको छ ।
गोरखाको दुबै क्षेत्रमा माओवादीको दाबी छ, तर कांग्रेस भने एउटा क्षेत्र आफूले पाउनुपर्ने अडानमा छ । नवलपरासी पूर्व १ मा कांग्रेसको मात्र दाबी छ भने २ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र गरी तीन दलको दाबी छ ।अघिल्लो निर्वाचनमा गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फ एक सिटमात्रै जितेको थियो । नवलपुर १ बाट कांग्रेसका तत्कालीन महामन्त्री डा शशांक कोइरालालले मात्रै चुनाव जितेका थिए । एमालेले चाहिँ साविक धौलागिरीका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङसहित कास्कीका तीनवटै क्षेत्र, नवलपुर २, मनाङ, तनहुँ, स्याङजाका गरि १४ वटा क्षेत्रमा प्रत्यक्ष जितेको थियो ।तनहुँमा एमालेबाट निर्वाचित भएका किसानकुमार श्रेष्ठ अहिले एकीकृत समाजवादीमा लागेका छन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका श्रेष्ठ यसपटक चाहिँ बाराबाट चुनाव लड्ने भएका छन । अघिल्लो निर्वाचनमा उनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए ।माओवादीले चाहिँ लमजुङमा चुनाव जितेको थियो भने गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले जितेका थिए । गोरखाकै अर्को क्षेत्र चाहिँ माओवादीका हरिराज अधिकारीले चुनाव जितेका थिए ।





