पोखरा/ देशका प्रमु्ख राजनीतिक दलहरुले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा सूची बुझाएका छन् ।
सूचीमा नाम चलेका र पाका पुराना नेता तथा वाध्यकारी व्यवस्था अनुरुपका दलित,जनजाति, महिला कोटामा पर्नैपर्ने व्यक्ति परेका छन् । नेपाली कांंग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा सहमहामन्त्री जीवन परियार तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठ,गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई प्रतिनिधिसभा सांसदको सूचीमा समावेश गरेको छ । प्रदेशको हकमा भने सभापति शुक्रराज शर्मासहितका नेताहरुको नाम रहेको कांग्रेस स्रोतले जनाएको छ ।
एमालेले बागलुङबाट प्रतिनिधिसभाका लागि बाबुराम नेपाली र प्रदेशसभाका लागि जनजातिबाट लीलाबहादुर थापा,जनजाति महिलाबाट विनाकुमारी थापा,दलितबाट गोविन्दबहादुर नेपाली तथा खसआर्यबाट कृष्ण पाठक र मोहनलाल शर्मालाई सिफारिस गरेको छ ।
कास्कीबाट बालकृष्ण काउचा मगरलाई प्रतिनिधिसभामा पठाएको छ भने प्रदेशसभातर्फ राजकुमारी भुजेल,देवका पहारी र जगनकुमारी गुरुङलाई सिफारिस गरेको छ । तनहुँबाट प्रदेशमा शान्ति खनाल, लमजुङबाट नन्दराम विक र यसोदा रिमाल तथा नवलपुरबाट दानकुमारी पाण्डे पनि समानुपातिको सूचीमा परेको स्रोतले बतायो ।
एमालेले प्रतिनिधिसभाको ११० र प्रदेशसभाको लागि २१० जनाको प्रारम्भिक सूची तयार पारेको प्रचार विभाग प्रमुख तथा उपमहासचिवसमेत रहेका गुरुङले जानकारी दिएका छन् । उनका अनुसार गण्डकी प्रदेशबाट ११ जना आदिवासी जनजाति, ९ जना खस आर्य, ४ जना दलितसहित २४ जनाको नाम समावेश गरिएको छ ।
माओवादी केन्द्रले कास्कीबाट झलकपाणि तिवारी,अनिता भुर्तेल राजकुमार रिमाल, सोमती गुरुङलगायतको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ समावेश गरेको छ । प्रदेशमा अनिशा आलेलगायतका नामहरु रहेको माओवादी स्रोतले बतायो । नेकपा एकीकृत समाजवादीको तर्फबाट उपमहासचिव केशवलाल श्रेष्ठ,कास्कीका चुडामणि जंगली,सारदाप्रसाद सुवेदीलगायतको नाम प्रतिनिधिसभाको लागि सिफारिसमा पारिएको छ ।





