पोखरा/ गण्डकी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । संविधान दिवस मनाउने क्रममा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान अनुसार जनताको सपना पूरा गर्न नसकिएको बताए ।
प्रत्येक तहको एकलसहित साझा संवैधानिक अधिकार दायित्व पूरा गर्न सबै राजनीतिक दल र आम नागरिकको पहल आवश्यक रहेको बताउँदै उनले नागरिकको आकांक्षालाइ पूरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनलाईसमेत ध्यान दिन जरुरी रहेको सुनाए ।
संविधान व्यवस्था लागू भएपनि त्यसको कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । संविधानले नागरिकका अधिकारलाई गरिएको लिपिबद्ध अधिकारको कार्यान्वयन गर्दै नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए ।
राजनैतिक परिवर्तनले जबसम्म जनताको दैनिक जीवन र राष्ट्रको समग्र आर्थिक समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन तबसम्म राजनैतिक परिवर्तन स्वयम दीगो र संस्थागत नहुने उनको भनाइ थियो ।
संविधानले व्यवस्था गरेको संघीय संरचना अनुसार तीन तहका सरकारमार्फत् भएका कार्यले संघीयता स्थापनाका प्रारम्भिक खाका तयार गरी स्थायित्व दिन अग्रसर भएपनि पूर्ण हुन नसकेको उनको भनाइ थियो । ‘तीन तहको सरकारहरुबीच सह–अस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरे पनि अहिलेसम्म त्यो पूरा हुन सकेको छैन’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारमार्फत धेरै कार्यहरु गर्न बाँकी छ ।’
सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले संविधान सबै राजनीतिक दलको साझा घोषणापत्र रहेको बताएका छन । उनले हजारौं नागरिकको बलिदानबाट प्राप्त
संविधान देशको मुल कानून रहेको र यसको कार्यान्वयको पाटो निकै चुनौतिपूर्ण भएको बताए ।
संविधानको कार्यान्वयन स्वरुप संघीय संरचनाअन्तर्गत यो पाँच वर्ष गण्डकी प्रदेश सरकार शुन्यबाट सुरुवात गरेको बताउँदै अब आर्थिक क्रान्तिका लागि अघि बढ्नुपर्नेमा जोड दिए । ‘विपरित विचारधारका पार्टीहरु, नागरिक सबैलाई मिलाएर ल्याउनु आफैमा कठीन थियो । अघिल्लो संविधानसभाले सकेन, पछिल्लो संविधानसभाले ल्यायो । आज राजनैतिक मुद्दा यो संविधानले टुंग्याइदिएको छ’, उनले भने,‘यो भनेको सबै राजनैतिक दलहरुको एकप्रकारको साझा घोषणापत्रजस्तो छ ।’
गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले संविधानले व्यवस्था गरेअनुसारको कानूनहरु अझै निमार्ण हुन नसकेको बताए ।
‘हामीले कति कार्यान्वय गर्न सक्यौ र त्यो कार्यान्वनको क्रममा के–के समस्या आइपरे ? जनताका अपेक्षाहरु कति पूरा गर्न सक्याँै भन्ने कुराको हामीले समीक्षा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘संविधान दिवस मनाउनुको मूल लक्ष्य भनेकै संविधानले कल्पना गरेका विषयलाइ ठीक ढंगले कार्यान्वयन गर्न सक्यौँ कि सकेनौ भन्ने समीक्षा हो ।’कार्यक्रममा आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।





