पोखरा/ पोखरा नयाँबजारकी शिला सिग्देल नर्सिङमा स्नातक तह सकेर बसेको पाँच महिना भयो । यो पाँच महिनामा उनले कयौँ निजी अस्तपालमा जागिरका लागि प्रयास गरिन् । आफ्नो पढाइ अनुसार कहीँ पनि पारिश्रमिक नपाउने भएपछि उनी काम नगरि बसेकी छन् । उनले पाँच हजारदेखि १२ हजारभन्दा माथिको जागिर कतै पाइनन् । नर्सिङको पढाइमा १५ लाख रुपैयाँभन्दा बढी खर्च भएपनि जागिरले दैनिक भाडा पनि नपुग्ने भएपछि उनी विदेश जाने सोचमा पुगेकी छन् ।
यो शिलाको मात्रै समस्या होइन् । काम गरेका र नगरेका नर्सहरुको साझा समस्या हो । देशभरका निजी अस्पतालले श्रम शोषण गरेको भन्दै नर्सहरु आन्दोलित बनेका छन् । नर्सहरुले उचित पारिश्रमिक पाउनुपर्ने उनीहरुको माग छ । यही उपक्रममा पोखरामा नर्सिङ पढ्दै र काम गर्दै गरेकाहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि शान्तिपूर्ण धर्नासमेत दिएका छन् ।
सोही धर्नामा सहभागी भएकी शिलाले बाध्यताले आन्दोलनमा आउनुपरेको सुनाइन् । ‘जता काम पाइन्छ त्यहाँ एकदमै थोरै पारिश्रमिक हुन्छ । त्यहाँको पारिश्रमिकले त अस्पतालसम्म जाने मासिक भाडा पनि उठ्दैन । दिनरात दुःख गरेर काम ग¥या,े आफैलाइ पुग्दैन भने त त्यो ठाउँमा काम गर्न मन लाग्दैन्’,उनले भनिन्,‘ अहिले अस्पतालहरुले नर्सहरुलाई स्वयंसेवीको रुपमा राख्ने र गरेका छन्, वास्तवमा अस्पतालमा स्वयंसेवीको रुपमा राख्नै पाइँदैन ।
अस्मिता अधिकारीको समस्या पनि उस्तै छ । अस्मिताले नर्सिङ सकेर बसे पनि सोचे अनुरुपको जागिर भने पाएकी छैनन्। नर्सको तोकिएको पारिश्रमिक अनुसार उचित तलब नभएको उनले सुनाइन् । ‘प्राइभेट अस्पतालले सुरुमा भोलेण्टियर रुपमा काम गराउँछ । कुनै अस्पतालले पाँच हजार, चार हजार दिन्छन् भने कुनैले निःशुल्क रुममा काम गराइराखेको छ’। उनले भनिन्,‘ सबैभन्दा बढी भनेको १७ हजार रुपैयाँमात्रै हो । त्यो भन्दामाथि कुनै पनि अस्पतालले पारिश्रमिक दिएको छैन् ।’निजी अस्पतालले कर्मचारीमाथि चरम शोषण गर्दै आइरहेको उनको आरोप छ । अस्पतालहरुले ३ महिना, ६ महिना वा कुनैले आफ्नो मनमर्जी तरिकाले नर्स राख्ने तर पारिश्रमिक भने निकै न्यून दिने गरेको उनले जिकिर गरिन् ।
चरक मेमोरियल अस्पतालमा नर्सको काम गर्दै आइरहेकी अनिता शर्माले आफू शोषणमा परेको सुनाइन् । उनले काम धेरै तर तलबले घरभाडा तिर्न समेत नपुगेको दुखेसो पोखिन् । ‘हामीले पाउनुपर्ने सुविधा पनि पाएका छैनौँ’, उनले भनिन्,‘हाम्रो पढाइ अनुसार तबल एकदमै कम छ । निजी कलेजमा नर्सिङ पढ्दा करिब १५ लाख खर्च लाग्ने तर तलब भने घरभाडा तिर्न पनि नपुग्ने भएपछि यो पेशाप्रति आकर्षण घट्दै जाने उनले सुनाइन् ।





