बागलुङ/ चाडपर्व सबै नागरीकले समान हिसाबले मनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । समाजमा रहेको वर्गिय खाडलका कारण एक घरमा मासु पाक्दा अर्को घरम चुलो नबलने अबस्था रहेको भन्दै नेताहरुले चाडपर्वको समयमा हुँदा खाने र हुनेखानेहरुको बीचमा दुरी बढेकोमा चिन्ता व्यक्त गरे ।
नेकपा एमाले बागलुङले दशैं, तीहार, नेपाल संवत, छठ लगायतका पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेताहरुले उत्पादन घट्दा चाडपर्वको समयमा प्रयोगहुने खाद्यान्न आयात गर्नुपर्ने दुर्भाग्यपूर्ण अबस्था आएको बताए । जग्गा बाँझो राखेर खाद्यान्न खोज्न बजार झर्ने र गोठ खाली गरेर खसीबोका खोज्न हिमालपारी पुग्ने परिपाटीले महंगी थेग्नै नसक्नेगरी बढीरहेको उनीहरुको धारणा थियो ।
कार्यक्रममा एमाले पोलिट व्युरो सदस्य मनकुमारी केसीले चाड पर्वले सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्ने भन्दै भड्कीलो तरिकाले पर्व नमनाउन आग्रह गरिन् । एमाले केन्द्रिय सदस्य गोविन्द नेपालीले परम्परागत पर्वहरुलाई आधुनिकताका नाममा भड्कीलो बनाईएकोमा चिन्ता व्यक्त गरे ।
एमालेकै अर्का केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले आफ्ना पर्व मनाउनका लागि समेत छिमेकी देशको उत्पादनमा भर पर्नुपर्ने अबस्था रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘आज बजारमा हिमालपारीबाट आएका च्याङ्ग्राको मुल्य सुनिनसक्नु छ, गरीबले दशैं कसरी मनाउन सक्छ’ सापकोटाले भने ‘हामी आँफैले उत्पादन गर्ने चलन थियो, अहिले अर्बाैको भेडाच्याङ्ग्रा हिमाल पारीबाट आउँछ, नेपालको सम्पत्ति उतै थुप्रिन्छ ।’
नेकपा एमालेका अर्का केन्द्रिय सदस्य डा. सूर्य पाठकले सामाजिक मान्यताले सबैलाई जोड्ने बताए । कार्यक्रममा नेताहरुले राजनीतिलाई स्वच्छ र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए । राजनीती पारदर्शी नभएसम्म राज्य व्यवस्था पारदर्शी नहुने भन्दै नेताहरुले निर्वाचनको समयमा स्वतन्त्र हिसावले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सावित्रा राना, केन्द्रिय सल्लाहकार बिभागका सदस्य नवराज पौडेल, नेपाली कांग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, माओबादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक गणेश पौडेल, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य शेखर खड्काले बोलेका थिए ।
एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पुन मगरको स्वागत र उप–सचिव गणेश थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





