शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरामा कुकुरसहितको प्रहरी टोलीद्वारा मापसे र लापसे ‘चेकिङ’

पोखरामा कुकुरसहितको प्रहरी टोलीद्वारा मापसे र लापसे ‘चेकिङ’


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७९, शुक्रबार

पोखरा/चाडपर्वमा हुन सक्ने सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा उपत्यकासहित पोखरामा आउजाउ गर्ने सवारीहरूमा तालिम प्राप्त कुकुरसहितको चेकजाँच गर्न सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको योजना अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित वडामा रहेका प्रहरी युनिटहरूको सहकार्यमा कुकुरसहितको चेकजाँच गरिरहेको हो ।

चाडबाडको बेलामा विस्फोटक पदार्थ वा अवैध सामग्रीहरू लुकाएर ल्याइएको हुन सक्ने भएकाले त्यो गर्नेहरू कोही पनि नछुटून भनेर तालिम प्राप्त कुकुरसहित चेकजाँच गरिएको हो ।

‘गन्धका कारण कुकुरले अति गोप्य रूपमा लुकाइएका वर्जित सामग्रीहरू पत्ता लगाउन सहयोग गर्छ । प्रहरीको आँखाले मात्रै सबै कुरा नदेखेको हुन सक्छ । तर वर्जित कुराहरूको ओसारपसार हुनुहुँदैन,’ ट्राफिक प्रहरी प्रमुख ठकुरीले भने, ‘हामीले विशेष गरी पोखरा भित्रिने र यहाँबाट बाहिरिने सवारीहरूलाई नाकाहरूमा रोकेर चेकजाँच गरिरहेका छौँ । प्रहरीको टोलीसहित कुकुर पनि सवारीमै छिरेर सुँघेर हामीलाई सघाउँछ ।’

चाडबाडको बेलामा यात्रुको चाप बढी हुँदा सवारीहरू पनि धेरै सङ्ख्यामा सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले ‘हाइ वे’ चेकजाँचमा थप कडाइ गरिएको पनि ठकुरी बताउँछन् ।

मापसेसहित लापसे जाँचमा कडाइ

कास्की ट्राफिकले मादक पदार्थको सेवनसहित लागुपदार्थ सेवन गरी सवारी चलाएको नचलाएको बारेमा पनि विशेष ध्यान दिएको छ। चालक वा सहचालकले मादक पदार्थको सेवन गरेको भएमा गन्धले पनि थाहा हुने तर लागुपदार्थ सेवन गरेको भए गन्धबाट खासै पत्ता नलाग्ने भएकोले चेकजाँच स्थलमा नै लागुपदार्थ सेवनको परीक्षण गर्न सुरु गरिएको प्रहरी निरीक्षक ठकुरीले बताए ।

चेकजाँचमा खटिएको प्रहरी टोलीले आफ्नो साथमा लिएर गएको ‘किट’ मा शङ्का लागेकाहरूको पिसाब राखेर चेकजाँच गरिरहेको हो । ‘चालकले मादक पदार्थ सेवन गरेको भए गन्ध आउँछ, यात्रुहरूले सहजै कम्प्लेन गर्न सक्नुहुन्छ । लागुपदार्थ सेवन गरेको कुरा गन्धबाट थाहा नहुन सक्छ । चालक झुम्म पर्ने यात्रुले थाहै नपाउने अवस्थामा दुर्घटनाको जोखिम उच्च हुन्छ,’ उनले भने, ‘दुर्घटना भएको हुन्छ, के कारणले भयो भन्ने तत्काल कारण यकिन हुँदैन ।

पहिले नै लागुपदार्थ लिएको हो होइन भन्ने पत्ता लागेमा दुर्घटनाबाट बच्न सकिन्छ ।’ बिहीबारदेखिको चेकजाँचको क्रममा केही चालकको पिसाब नमुनाका रूपमा परीक्षण गर्दा लागुपदार्थ सेवन (लापसे) गरेको भने देखिएको छैन ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा गन्ध आउने डरले कतिपय चालकले लागुपदार्थ सेवन गरेको हुन सक्ने वा कोही लागुपदार्थको नियमित प्रयोगकर्ता भएको पनि हुन सक्ने भएकाले कास्की प्रहरीले लागुपदार्थको सेवनको जाँचमा पनि कडाइ गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->