बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष केसीले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज अपरान्ह उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्न उनी शनिबार नै बागलुङ आइपुगेका थिए ।
सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तापक र लक्ष्मी बास्कोटा समर्थक छन् । उनी पाँचदलीय गठबन्धनका साझा उमेद्वार हुन् । उनीसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट निवर्तमान सांसद डा. सूर्य पाठकले प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उमेद्वारी दिएका छन् । बागलुङ क्षेत्र नं. १ ‘क’मा एमालेका हिरा बहादुर केसी र कांग्रेसका दिपेन्द्र थापा र ‘ख’मा एमालेका नवराज पौडेल र कांग्रेसका डिल्लिराम सुवेदीले उमेद्वारी दिएका छन् ।





