नवलपुर/ बीपीपुत्र एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले नवलपुरको क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । कोइरालाले नवलपुरमा लगातार चौथो पटक उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा नवलपुरको क्षेत्र नं. १ नेपाली कांग्रेसको भागमा परेसँगै यहाँ कोइरालाले गठबन्धनको साझा उम्मेदवारका रुपमा उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा पहिलोपटक नवलपुर क्षेत्र न १ रोजेर नवलपुर छिरेका कोइरालालाई नवलपुरे मतदाताले दोस्रो संबिधान सभा निर्वाचन र संघीयतापछिको पहिलो प्रतिनिधिसभा सदस्य बनाएर १५ बर्षसम्म निरन्तर रुपमा निर्वाचित साँसदका रुपमा संसदमा पु¥्याएका थिए ।
२०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धनका साझा उम्मेदवार भविश्वर पराजुलीलाई हराएका कोइरालाले यसपटक गठबन्धनकै साझा उम्मेदवार हुँदा आफू विजय हुनेमा निश्चिन्त हुँदै अव प्रधानमन्त्री हुने लाइनकासाथ अन्तिम पटकलाई नवलपुर आएको खुलासा समेत गरेका छन् । कोइरालाले यसअघि आफू सांसद मात्रै भएकाले काम गर्न नसकेको तर्क गर्दै प्रधानमन्त्री भएपछि विकासको मूल फुटाउने आश्वासन बाँड्डै मतदाताबीच पुग्ने देखिएको छ ।
नवलपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ कोइरालासहित १६ जनाले मनोनयन गरेका छन् । ५ जना स्वतन्त्र र आफूहरुलाई स्वतन्त्र दावी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीका २ जना उम्मेदवार समेत यहाँ खडा भएका छन् ।
त्यसो त प्रतिस्पर्धा भइहाले नेकपा एमालेसँग हुने विश्लेषण काग्रेस वृत्तमा छ । गत स्थानीय तहको निर्वाचन, नवलपुरमा एमाले विभाजनको कम असर, एमालेको बलियो संगठन र उम्मेदवार आफैमा लोकप्रिय र चिरपरिचित भएकाले निर्वाचन रस्साकस्सी हुने आकलन छ ।
कांग्रेसले बलियो क्षेत्र दावी गर्दा वैशाखको स्थानीय निर्वाचनको मुखमा नेपाली काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका प्रा.डा. मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका राजन गौतम, नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस विपीमा लागेका यमनाथ बस्ताकोटीलगायतको उम्मेदवारी चुनौती हुने सम्भावना छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत बनिसकेका कोइराला १५ वर्षसम्म सांसदमा रहँदा आफ्नो क्षेत्रमा टुक्रे र बितरणमुखी योजनाका कामबाहेक विकासका माध्यमबाट परिवर्तन गर्न नसकेको आरोप खेप्दै आएका उनी पछिल्लो समय निर्वाचनमा हुने गरेको खर्चमा आफूलाई उदाहरण दिदै दिएको अभिव्यक्तिले राष्ट्रिय रुपमै आलोचित हुनुपरेको थियो ।





