बागलुङ/आसन्न निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उमेदवार बनेका देवेन्द्र पौडेलको अगाडि चुनौती थपिएको छ ।
माओवादीका तुलसी अर्यालले पौडेलविरुद्धको बागी उम्मेदवारी फिर्ता नभएपछि चुनौती बढेको हो । मुख्य प्रतिष्पर्धी एमालेका उमेदवार मञ्जु शर्मा चालिसेको सामना त एकातर्फ छँदैछ, आफ्नै दलका बागी उमेदवार भएपछि चुनौती थपिएको हो । अर्यालपनि यो क्षेत्रको सांसद पदका लागि दावेदार थिए । दोश्रो संविधानसभामा अर्याल माओवादीको उम्मेदवार थिए । अर्याल कांग्रेसकी ज्ञानकुमारी छन्त्याल सँग पराजित भएका थिए ।
केही समय अघि पौडेलसँग पार्टीकै कार्यक्रममा हात हालाहालको अबस्थामा पुगेको घटना सार्वजनिक भएको थियो । अर्यालका भाइ चन्द्र अर्याल गत स्थानीय निर्वाचनमा नगरप्रमुखको उम्मेदवार थिए । गठबन्धनबाट जिल्लामा निर्वाचन हार्ने अर्यालय मात्रै थिए । ढोरपाटन नगरपालिकामा अर्यालविरुद्ध उठेका एमालेका देवकुमार नेपालीले प्रमुखमा निर्वाचन जितेका थिए । अर्याल परिवार पार्टीको नेतृत्वसँग पनि खुसी छैन ।
पौडेलको घर बागलुङको क्षेत्र नंं १ को अमलाचौर हो । अघिल्लो पटक पनि पाहुना नेता भन्दै आलोचना खेपेका पौडेल फेरि उम्मेदवार भएपछि आफ्नो भेगको मनोबिज्ञान अनुसार उम्मेदवार बनेको अर्याल निकट एक कार्यकर्ताले बताए । ‘सँधै पाहुना उम्मेदवारलाई जिताउँदा विकास निर्माणमा पछि परियो’, ती कार्यकर्ताले भने, ‘आफ्नै क्षेत्रको नेता बनाउन सकियो भने बल्ल स्थानीय आवस्यकता बुझ्न सक्लान ।’ अर्याल बागी कायम रहँदा माओवादीको मत विभाजन हुने र गठबन्धनका उम्मेदवार पौडेललाई अप्ठ्यारो पर्ने आंकलन सुरु भएको छ ।
एमालेले यो क्षेत्रमा कांग्रेसबाट एमाले प्रवेश गरेकी मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाएको छ । चालिसे कांग्रेसबाट गत स्थानीय निर्वाचनमा गलकोट नगरपालिकामा बागी उठेकी थिइन् । कांग्रेसका भरत शर्मा गैरेले नगर प्रमुखमा जितेपनि थोरै मत अन्तरमा चालिसे पराजित भएकी थिइन् । चालिसेको कारण केही वडामा समेत गठबन्धनका उम्मेदवारलाई चुनाव जित्न हम्मेहम्मे परेको थियो । कांग्रेसको उक्मेदवार नभएकोले चालिसेले असन्तुष्टको मत पनि पाउने आशा गरेकी छिन् ।
पौडेल माओवादीको पदाधिकारी भएपनि केही समय बाबुराम भट्टराइको नयाँशक्ति पार्टीमा सक्रिय भए । अघिल्लो निर्वाचनमा माओवादीमा टिकट पाउने भएपछि मात्र पार्टी प्रवेश गरेका पौडेलले बाम गठबन्धनको कारण निर्वाचन जितेका थिए । त्यसो त बाम गठबन्धनबाट एमाले बाहिरिएर बाम लोकतान्त्रिक गठबन्धनको रुपमा कांग्रेस थपिएको छ । एमालेको संगठनमा काम गरेका उमेदवार यहाँ छैनन् । बरु कांग्रेसबाट गएकी चालिसे भएकोले एमालेकै पुराना कार्यकर्ता असन्तुष्ट हुन सक्ने पौडेल निकटका कार्यकर्ता टिप्प्णी गर्छन् । एमालेले भने प्रदेश ख मा पार्टीका उपाध्यक्ष नै उमेदवार भएकोले पार्टी मनोभावना समावेश भएको दावी छ ।
एमालेले प्रदेश ‘क’ मा माओवादीबाट स्वतन्त्र भएका प्रकाश घर्तीलाई समर्थन गरेको छ । ताराखोला गाउँपालिका अध्यक्ष भैसकेकोले घर्तीको पहुँच बढी छ । ताराखोलामा थोरै मतले गठबन्धनका उमेदवारबाट पराजित भएका घर्तीले गलकोट क्षेत्रको पनि मत पाउने आंकलन एमाले वृत्तमा छ । आलोचकले भने पार्टीको बागी बन्नु र फरक पार्टीको चिन्ह लिएर वा समर्थनमा लड्नु फरक परिस्थिति हुने बताउँछन् । ‘दलको उमेदवार मन नपरेर बागी उठ्दा असन्तुष्टले मत राख्छन्, अर्कैको समर्थनमा लड्दा सबैजना पछि लाग्दैनन्’, माओवादीकी नेतृ कुशुम बुढाले भनिन्, ‘राम्रो मान्छेहरुपनि समयको खेलले पलायन हुने खतरा रहेछ ।’ सही समयमा सही निर्णयले मात्रै गन्तव्यमा पु¥याउने उनले बताइन् ।





