बागलुङ/आसन्न नवौ राष्ट्रिय खेलकुँद प्रतियोगिताको आइटिएफ तेक्वान्दो प्रतियोगिता खेलाउन बागलुङको बाङगेचउरमा तयारी भएको छ ।
आइटिएफ तेक्वान्दो प्रतियोगिताकालागि बागलुङ नगरपालिकाको अगुवाईमा पूर्वाधार निर्माणको काम भैरहेको हो । बानपा १ को बाँगेचउर खेल मैदान नजिककैको कवर्ड हलमा खेल खेलाइने भएको हो ।
खेलकालागि सात प्रदेश र ३ बिभागीय टिम गरी १० टिमका २ सय ५० खेलाडी र अफिसियल समेत गरी ३ सय बढीको सहभागिता रहनेछ । ती मध्ये अधिकांस खेलाडी बागलुङ आइसकेको आइटिएफ महासंघका सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । खेल स्थलमा झण्डा, व्यानर समेत टांगिएको छ ।
राष्ट्रिय खेलकुँद परिषदले समयमा जानकारी निदिएपछि पूर्वाधार निर्माण ढीला भएको थियो । बागलुङ नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएर यहाँ काम गरिरहेको छ । शुक्रवार खेलाडीहरुको प्रारम्भिक प्रशिक्षण समेत हुने कवर्डहलमा भित्रि व्यवस्थापन, रंगरोगन भने भैसकेको छ । नगर प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा बिहिवार दोश्रो बैठक पनि सम्पन्न भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल सहित सुरक्षा निकाय, जनप्रतिनिधि, जिल्ला खेलकुँद बिकास समिति र बिषयगत खेलका संघका पदाधिकारी समेत सहभागि थिए । उनीहरुले खेल सफल पार्ने काम जिल्लाबासीकै गौरव र प्रतिष्ठाको बिषय भएकोले मिलेर काम गर्ने र सफल पार्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
भवन बनेर सम्पन्न भैनसकेको बागलुङ नगरपालिका १ को तेक्वान्दो कवर्डहललाई रंगरोगन लगाउने र बाहिरी खण्डमा खाल्डा पुर्ने र सम्याउने काम भने लगातार भैरहेको छ । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल समेत पूर्वाधार निर्माण र व्यवस्थापनमा खटिएका छन् । राखेपबाट बजेट नआएको, जिल्ला खेलकुँद बिकास समिति लगायत बिषयगत संघलाई समेत जानकारी नभएपछि बागलुङ नगरपालिकाले आफ्नै लगानी गरेर पूर्वाधार निर्माण गरेको हो ।
शनिवार उद्घाटन हुने कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम, झाँकी र भजन समेत प्रर्दशन गरिने कार्यक्रम छ । खेलाडी, खेल सँग सरोकार राख्नेहरु, स्थानीय बासिन्दा समेतले खेल उद्घाटनका दिन बागलुङ बजारमा मार्च पास समेत गर्नेछन् । ७ प्रदेश, नेपाली सेना, सशष्त्र प्रहरी र नेपाल प्रहरी गरी ९ वटा टिमका २ सय ५० खेलाडीले प्रतियोगतामा भाग लिनेछन् ।
तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदककालागि प्रतिष्पर्धा हुने आइटिएफका सचिव राजु खड्काले बताए । उनका अनुसार प्रतियोगितामा महिला तर्फ ४५ केजी देखि ७० केजी र पुरुष तर्फ ५० केजी देखि ८५ केजी तौल समूहका खेलाडीबीच प्रतिष्पर्धा गर्ने व्यवस्थापन मिलाइएको छ । खेलकालागि सुरक्षा व्यवस्था समेत पुरा भएको प्रजिअ रमेश ढकालले जानकारी दिए ।





