म्याग्दी/ जिल्लाको पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडादौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय संघ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो ।
अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो । घोडेपानी टोल सुधार समितिकाअध्यक्ष विरेन गर्बुजा पुनले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले घोडादौड प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृश्य अवलोकन गर्न आउने पर्यटकका लागि घोडादौड प्रतियोगिता पनि अर्को आकर्षण बन्ने विश्वास गरिएको छ ।
घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडादौड प्रतियोगिता आयोजना हुदै आएको छ । यहाँ भने वैशाखमा यो प्रतियोगिता हुने गरेको थियो। दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद याममा गर्न लागिएको टोल सुधार समितिका अध्यक्ष गर्बुजाले बताए ।
घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्क सम्म सातकिलोमिटर ५०० मिटरको दूरीमा घोडा दौडाउने तय भएको छ । कात्तिक ४ गते आयोजनागर्ने भनिएको प्रतियोगिता सडकमा राखिएको निर्माण सामग्री र उपकरण व्यवस्थापन तथा मर्मतका लागि समय लाग्ने देखिएपछि १३ दिन पछि सारिएको हो । प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । सहभागीका लागि दर्ता शुल्क प्रतिव्यक्ति तीन हजार रुपैयाँ तोकिएको छ ।





