बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकीको मुख्यमन्त्रीको दौडमा एमालेका खगराज र कांग्रेसका सुरेन्द्र

गण्डकीको मुख्यमन्त्रीको दौडमा एमालेका खगराज र कांग्रेसका सुरेन्द्र


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०७९, सोमबार

पोखरा/ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय चुनावको परिणामपछि भनेका थिए,‘अहिलेको परिणाम हेर्ने हो भने सातवटा प्रदेशमध्ये गण्डकीले मात्रै आफ्नो विरासत कायम गर्न सकेको हो । हिजो हामीले ३५ सिट जितेका थियौँ,आज पनि ३५ सिट जितेका छौँ । वडाध्ययक्ष हिजोभन्दा बढी जितेका छौँ । हिजोभन्दा अहिले ठूलो प्रगति भएको छ ।’पोखरासहितका केही महत्वपूर्ण पालिका गुमाए पनि एमालेले पाएको सफलता सामान्य थिएन । एमाले त्यही सफलताको बलमा आउँदो मंसिर ४ गतेको चुनाव लड्दै छ । कम्तिमा गण्डकी प्रदेशमा सरकार बनाउने सपना देख्दैछ । कतिसम्म भने, त्यहीँ आँकलनकाबीच उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुनः प्रदेश सांसद हुने चाहना व्यक्त गरे ।

लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा सिफारिस गराए । संस्थापक मुख्यमन्त्रीको रुपमा सुरु गरेका योजनाहरु पूरा गराउन प्रदेशकै मुख्यमन्त्री हुने चाहना सार्वजनिक रुपमै व्यक्त गरे । तर,उनले टिकट पाएनन् । अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीसुब्बालाई संघीय सांसदको टिकट थमाएर संगठन विभाग प्रमुख तथा स्थायी समिति सदस्य खगराज अधिकारीलाई कास्की क्षेत्र नम्बर १ को ‘क’बाट उम्मेदवार बनाए । स्थायी समिति सदस्य खगराजले प्रदेशको चुनाव लड्नुको अर्थ हुन्छ, उनी एमालेले सरकार बनाउँदा मुख्यमन्त्रीका निर्विरोध उम्मेदवार हुन् । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबा प्रदेशसभामा उम्मेदवारी दिएका जविन्द्रमान घललेलाई मुख्यमन्त्री बन्ने प्रक्षेपण गरे पनि एमालेले बहुमत पाउँदा खगराज नै मुख्यमन्त्री बन्ने एमालेका नेताहरु बताउँछन् ।

उता, कांग्रेसमा भने मुख्यमन्त्रीको रुपमा सुरेन्द्र पाण्डेलाई हेरिएको छ । गोरखा क्षेत्र नम्बर २ ‘ख’बाट उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे प्रदेशमा चुनाव लड्ने सिनियर नेता हुन् । कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्माको नाम खस–आर्य समूहबाट समानुपातिकको एक नम्बरमा राखिएकाले शर्मालाई पनि मुख्यमन्त्रीको दाबेदार मानिएको छ । तर,राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता भइसकेका र सभापति शेरबहादुर देउवा निकट भएकाले पाण्डेकै पल्ला भारी भएको उनी निकट नेताहरुले बताउने गरेका छन् ।

‘सुरेन्द्र दाइले चुनाव जित्नुभयो भने उहाँ नै हाम्रो मुख्यमन्त्री हो’,ती नेताले भने,‘शुक्रराज दाई र ध्रुव दाइ (ध्रुव वाग्ले )को नामको चर्चा चल्नु अस्वभाविक हैन तर उहाँहरुलाई व्यवस्थापन गरिन्छ ।’समानुपातिकको दोस्रो नम्बरमा बसेका तनहुँका ध्रुव वाग्ले, कास्की क्षेत्र नम्बर २ ‘ख’बाट उम्मेदवार बनेका गण्डकीका बहालवाला कानूनमन्त्री विन्दुकुमार थापा पनि मुख्यमन्त्रीको रुपमा चर्चा गरिएका नामहरु हुन् । तर, एमालेको जस्तो गठबन्धनको तर्फबाट अहिलेसम्म यो नै मुख्यमन्त्री भनेर तोकिएको छैन ।

प्रत्यक्षतर्फ १३ ठाउँमा उम्मेदवारी दिएका माओवादीले पनि चुनावी परिणामपछि मुख्यमन्त्रीको दाबी गर्ने सम्भावना उत्तिकै रहेको माओवादीका नेताहरुले बताउँदै आएका छन् । यसअघि माओवादीको तर्फबाट संसदीय दलका नेता हरिबहादुर चुमान अहिले पनि प्रदेशमा चुनाव लडिरहेका छन् । माओवादीले दाबी गरे उनी स्वभाविक रुपले मुख्यमन्त्रीका दाबेदार हुन् । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बाको सरकार ढलेपछि उनले पनि मुख्यमन्त्रीमा दाबेदारी पेश गरेका थिए तर अन्तिममा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बने । मुख्यमन्त्रीको रुपमा काम गर्न आफू सक्षम र इच्छुक रहेको उनले लुकाएका छैनन् ।

एमालेले गण्डकीका ३६ निर्वाचन क्षेत्रमध्ये ३४ वटाबाट उम्मेदवारी दिएको छ । मनाङको ‘ख’ राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई छाडेको एमालेले बागलुङ क्षेत्र नम्बर २ को ‘क’मा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश घर्तीलाई सघाएको छ ।२०७४ सालको चुनावमा एमाले र माओवादी गठबन्धन हुँदा प्रत्यक्षतर्फ एमालेले १०,कांग्रेसले ६,माओवादीले ३ ,नयाँशक्ति १ र जनमोर्चाले १ सिट जितेका थिए ।
यो पटक माओवादी केन्द्रले पर्वतको क, म्याग्दीका दुबै,नवलपुर २ को क,स्याङ्जा १ को क, गोरखा,कास्कीको ३ ,तनहुँको २ लिएको छ । गोरखा २ क बाबुरामको पार्टीलाई गएको छ भने नवलपुर २ ख एकीकृत समाजवादीको पोल्टामा परेको छ । समग्रमा गठबन्धनमा माओवादीका १३ सिटमा प्रत्यक्ष चुनाव लडेको छ भने कांग्रेस २१ ठाउँमा प्रत्यक्ष चुनावमा होमिएको छ । गठबन्धन कसिलो भयो भने मुस्ताङबाहेक सबैजसो निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादीका उम्मेदवार बलियो देखिएका छन् ।

तर,एमालेले हार मानेको छैन । गठबन्धनलाई कमजोर बनाउँदै उनीहरुकै मत चोर्ने एमालेको अभियान छ । समानुपातिकमा आफ्नो मत नघट्ने र प्रत्यक्षतर्फ पनि २२ सिट जित्ने दाबीसहित चुनावमा होमिएको एमालेले २०७४ सालको चुनावमा समानुपातिकतर्फ ३ लाख ७३ हजार ५०१,कांग्रेसले ३ लाख ६४ हजार ७९७,माओवादीले १ लाख १९ हजार ५२८,नयाँ शक्ति नेपालले २४ हजार ६२४,राष्ट्रिय जनमोर्चाले १६ हजार ५९२ र राप्रपाले १५ हजार ६४९ मत प्राप्त गरेका थिए । सिट बाँडफाटमा कांग्रेस र एमालेले ९–९,माओवादीले ३, जनमोर्चाले २ र नयाँशक्तिले एक सिट पाएका थिए ।

उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरिसकेका छन् । भनेजस्तै भयो भने, आउँदो मंसिर ४ गतेपछि संघीय मन्त्री र सांसद रही सकेका खगराज अधिकारी प्रदेशसभामा देखिनेवाला छन् भने राष्ट्रियसभामा कांग्ेस संसदीय दलका नेता बनेका सुरेन्द्र पाण्डेलाई पनि गण्डकी प्रदेशसभामा देख्न पाइने भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->