बागलुङ/नेकपा एमाले बागलुङले चुनावी घोषणाकालागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलवार चुनाव प्रचारप्रसार समिति क्षेत्र नं. १ ले पत्रकार सम्मेलन गरेर एमालेले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसी, केन्द्रीय सदस्यहरु इन्द्रलाल सापकोटा, सूर्य पाठक, कृष्ण केसी लगायतले संयुक्त रुपमा उक्र प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिवद्धतापत्र भित्र बिशेष प्रतिवद्धता भन्दै एमालेले सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशिलताको ग्यारेन्टी, सबैको हातमा लालपुर्जा, सहुलियत दरमा कर्ज, किसानलाई पेन्सन, बिउदेखी ढुवानीसम्म अनुदान, मेडइन बागलुङको ब्राण्डीङ र बजारीकरण, उत्पादनमा सहजीकरण भन्ने नारा तय गरेको छ ।
वृद्धभत्ताको निरन्तरता, घरघरमै स्वास्थ्य सेवा र बिशेष भत्ता, व्यवसायिक सुरक्षा संचालन र कर प्रणालीमा सरलता, निशुल्क इन्टरनेट र गुणस्तरीय शिक्षाको सुनिश्चितता, रोजगारी र स्वउद्यमको प्रत्याभूति प्रविधिमैत्री जिल्लाको अनुभू,त तथा जहाँ बिभेद उत्पीडन र बिपत्ती त्यहाँ नेकपा एमालेको उपस्थिति भन्ने नाराहरु समेटेको प्रतिवद्धता सार्वजनिक भएको हो ।
लोकप्रियताकालागि उत्तरगंगा जलासय युक्त जलविद्युत आयोजना निर्माण गर्ने, राष्ट्रिय राजमार्गहरु स्तरीय बनाउने, गाउँगाउँमा जाने सडकहरु ग्राभेल गर्ने लगायतका प्रतिवद्धता छन् । तर कतिपय प्रतिवद्धताहरु ५ बर्ष अघिकै दोहोरिएका छन् । पत्रकारको जिज्ञाशामा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले समग्र जिल्लाका समस्यालाई एउटा पार्टीले मात्र पनि समाधान गर्न नसकिने भन्दै सबै दल र नेताको पनि चासोको बिषय भएकोले संसद देखि सडक हुँदै सामुहिक दवावबाट पुरा गर्न पहल गरिने बताए । कार्यक्रममा पोलिटव्युरो सदस्य मनकुमारी केसीले नागरिकलाई सुखि र समृद्ध बनाउन आफ्नो पार्टी मात्रै सक्ष्म भएको भन्दै फेरीपनि राष्ट्रियता जोगाउन एमाले चाहिएको दावी गरिन् ।





