पोखरा/ नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसिरमा हुने धारणा राखे । ‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो । यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो । त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाई आमा बुवा, दाजुभाई दिदिबहिनीले ४ मंसिरमा मतदानमार्फत् गर्नुहुनेछ र हामीले त्यसलाई तपाईका प्रतिनिधिको रुपमा हरेक दृष्टिकोणले पूरा गर्न लाग्ने छौं’, उनले भने ।
बरालले पोखरालाई पर्यटकीय राजधानी घोषणा मात्र होइन त्यसका लागि चाहिने पूर्वाधार प्रकृतिमैत्री र यहाँको संस्कृति मैत्री भएर निर्मांण गर्ने प्रतिवद्धता जनाए । सुकुम्बासी समस्याको वास्तविक समाधान, एयरपोर्ट निर्माण गर्दा महत्वपूर्ण योगदान पु¥याएका स्थानीयका समस्या समाधान, कृषि क्षेत्रको समग्र विकास गर्दै यसका पकेट क्षेत्र निर्माण लगायतका महत्वपूर्ण सवालहरुमा आफूले जनताको प्रतिनिधि भएर काम गर्ने उनको भनाइ छ ।
उम्मेदवार बरालले असली जनताको प्रतिनिधिका रुपमा आफूलाई देखाएर छाड्ने अठोट व्यक्त गरे । निर्वाचित भएपछि टेलिभिजनमा कहिलेकाहिँ हेर्नुपर्ने र मेरो जनप्रतिनिधिले के गर्र्दैछ भन्नेसम्मको जानकारी मतदातामा नहुने विडम्बनापूर्ण अवस्थालाई आफूले तोड्ने र जनप्रतिनिधिले कसरी काम गर्नसक्छन् । जनताको बीचमा कसरी आइरहन्छन् भन्ने कुरा आफूले उदाहरण प्रस्तुत गर्ने उनले सुनाए ।
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने बताए ।
आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको बताएका उनले विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पुरा गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जनताको जनादेश बिर्सेर बीचमै संसद र संविधानमाथि आक्रमण गर्नेहरुलाई जनताले चिन्नुपर्ने बताए । नेकपा एमाले र त्यसको नेतृत्व प्रति संकेत गर्दै उनले त्यस्ता शक्तिलाई मत दिए पछुताउनुको विकल्प नहुने जिकिर गरे ।
उक्त अवसरमा कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार बृन्दादेवी राना, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ, नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापा, राजमोका हरिबहादुर खत्री, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पूर्ण लामा, कांग्रेस क्षेत्र नम्बर २का सभापति केशर निर्दोशी, कांग्रेस युवा नेता दिनेश आचार्य र नेकपा एसका १५का नेता खेमबहादुर पौडेलले गठबन्धन र गठबन्धनका उम्मेदवारले जित्नुपर्नाका कारणका बारेमा बताएका थिए ।





