पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेशका ११ वटा जिल्लामा चुनावी अभियान सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मासहितको टोली गठबन्धनलाई जिताउनको लागि बुधबारबाटै जिल्ला भ्रमण सुरु गरेको प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउनेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन् ।उनले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीहरुले चुनाव लड्न नपाएको र उनीहरुले विभिन्न कोणबाट बिरोध प्रकट गरेको भन्दै त्यस्ता क्रियाकलापले पार्टी र गठबन्धनलाई घाटा पुग्ने भएकाले तत्कालै त्यस्ता गतिविधि रोक्न नेता सिवाकोटीले आग्रह गरे ।
कांंग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले हिजो समस्या लिएर जनता नेताका धाउने प्रचलन भएता पनि अब भने जनताको समस्या बुझन नेता जनताकै घरमा आउने बताए । कार्यक्रममा प्रदेशका सभापति शर्माले गण्डकी प्रदेशको संकल्प पत्र र झण्डा गोरखाका पार्टी सभापति नन्दलाल न्यौपानेलाई हस्तान्तरण गरेका थिए भने नेपाली कांग्रेस गण्डकी प्रदेश सुचना, सञ्चार तथा प्रचार–प्रसार विभागमा गोरखाका कैलाशबाबु श्रेष्ठ र लमजुङका ऋषि अधिकारीलाई मनोनित गरिएको थियो ।
पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवत्ता माधवप्रसाद बास्तोला, नेपाली कांग्रेस प्रचार प्रसार विभाग गण्डकी प्रदेशका उप–प्रमुख शिरोमणी बराल, नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य पूर्णबहादुर दाहाल, बिनाकुमारी श्रेष्ठ, नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघका सभापति चन्द्रकिशोर कर्माचार्य, कोषाध्यक्ष मिलन थापा, सदस्य जानुका अधिकारीका साथै कार्यकताहरुको समेत उपस्थिति रहेको थियो ।





