पोखरा/ कास्की जिल्ला क्षेत्र नं २(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दुकुमार थापाले विगतको पाँच वर्ष गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन नीति बनाएको र अब पालो विकास र समृद्धिको भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. ९ का मतदातासँग भेटघाट गर्दै उनले प्रदेश सरकारले बनाएको नीतिमा टेकेर विकासका अवधारणाहरुलाई सहज तरिकाले पुरा गर्ने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको उल्लेख गरे ।
‘हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको हो । गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन आवश्यक नीति बनिसकेको छ । जसले अब सरकारलाई अगाडि बढ्न सहजता हुनेछ’, उनले भने । थापाले अब पनि आफु निर्वाचित भएपछि सरकारबाट प्राप्त गर्ने तलब भत्ता बापतको सेवासुविधा नलिने घोषणा गरेका छन् । सुशासन, पारदर्शीता र भ्रष्टचारमा शुन्य सहनशीलता आफ्नो प्रमुख नारा रहेको अभिव्यक्ति उनको छ ।





