बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आगामि मंसिर चार गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लोकतन्त्रको जीवन–मरणको सवाल भएको बताएका छन् । नेकपा एमाले लोकतन्त्र मास्ने मतियार बनेको आरोप लगाउँदै केसीले निर्वाचनमा गठबन्धनका उम्मेद्वारले नजीते लोकतन्त्र मासिने बताए ।
नेकपा एमालेले ल्याएको घोषणा पत्रमा अध्यक्ष केपी शर्मा ओलीलले आफ्नो सरकारका पाला सुरुगरेका कामलाई पूरा गर्ने उल्लेख गरेको विषयमा टिप्पणी गर्दै केसीले भने ‘संसद विगठन गरेर लोकन्त्र मास्न खोजेका थिए, अब उनीहरुले जिते भने बाँकी रहेको लोकतन्त्र मास्ने काम पूरा गर्छन् र राजतन्त्र फर्काउँछन् ।’ केसीले राप्रपा जस्ता दलहरुसँग एमालेले चुनावी एकता गरेको भन्दै एमालेले प्रतिगमनको बाटो नछोडेको आरोप लगाए ।
पाँचदलीय गठबन्धन बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १, प्रदेशसभा (क र ख) को तर्फबाट आईतबार प्रतिबद्धता पत्र जारी गर्दै केसीले आफू सत्ता स्वार्थको लागि गठबन्धनमा सहभागि नभएको बताए । ‘राष्ट्रिय जनमोर्चाले आफ्ना मुद्दा छोडेको होइन र सत्ता तथा शक्तिमा रहनका लागि गठबन्धनमा सहभागी भएको पनि होइन’, केसीले भने ‘अहिले लोकतन्त्र खतरामा छ, प्रतिगमनको खतरा छ, सबैदलहरुका बीचमा लोकतन्त्र जोगाउने मुद्दा मिल्यो र यही मुद्दा लिएर चुनावममा होमिएका छौं ।’
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै केसीले संक्रिण सोच भएका वामपन्थीहरु समेत नेपालमा प्रतिगमनकै पक्षमा रहेको आरोप लगाए । ‘संसद विगठन जस्तो प्रतिगामी कदमलाई अदालतले सच्यायो भनेर पछिलाग्ने संक्रिण वामपन्थीहरु प्रतिगमनकै मतियार बनेका छन्’ केसीले भने ।
कार्यक्रममा सगठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘क’का उम्मेद्वार दीपेन्द्रबहादुर थापाले स्वाभिमान धरापमा राखेर निर्वाचन जित्ने हर्कत नगर्ने बताए । थापाले प्रतिबद्धता पत्रमा काम गर्न सकिने विषयमात्रै समेटिएको भन्दै आश्वासन मात्रै लिएर चुनावमा नजाने जिकिर गरे ।
गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक
पाँचदलीय गठबन्धन बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १, प्रदेशसभा (क र ख)का उमेद्वारहरुले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आईतबार बागलुङमा पत्रकार सम्मेलन गरेर उनीहरुले बिभिन्न पाँच बिद्यामा पाँच वर्षमा गर्ने कामको विवरण सहितको प्रतिबद्धता सार्वजनिक गरेका हुन् । आठ पृष्ठ लामो प्रतिबद्धता पत्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासनलगायतका क्षेत्र समावेश गरिएको छ ।
बागलुङको बलेवा बिमानस्थल सञ्चालन गर्न पहल गर्ने, कालिगण्डकी करिडोर कालोपत्रका लागि पहल गर्ने, मध्यपहाडी लोकमार्ग कालोपत्रका लागि पहल गर्ने, कृषिमा आधुनिकता, व्यावसायिक कृषिलाई प्रोत्साहन, आठ कक्षासम्म निःशुल्क शिक्षा, पढ्दै कमाउँदै कार्यक्रमको प्रभावकारी कार्यान्वयन, धौलागिरी क्याम्पसलाई प्रदेशस्तरीय विश्वविद्यालयमा स्तरोन्नति, धौलागिरी अस्पताललाई शिक्षण अस्पताल बनाउनेलगायतका योजना समाबेश छन् ।





