पोखरा/आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गोरखामा इन्ट्रीसँगै गण्डकीको मात्र होइन देशकै ध्यान खिच्न सफल भएको छ । गठबन्धनको एक घटक उनको दल माओवादी केन्द्र गोरखामा आफैमा बलियो जिल्ला हो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी ११ मध्ये ९ पालिका जित्दै कमब्याक गर्न सफल रह्यो ।त्यसबाहेक गोरखामा प्रभाव राख्ने नेपाली कांग्रेस, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बलियो साथ लिएर प्रचण्ड गोरखा २ बाट भिड्दैछन । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको जिल्ला पनि यही हो ।
बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डका निम्ति छाड्दै प्रचण्डका लागि सुरक्षित क्षेत्र छाडिदिएका छन ।स्थानीय तहको मतपरिणाम र गठबन्धनको साथ देखेरै प्रचण्डले गोरखाबाट भन्ने गरेका छन, ‘रिल्याक्समा छु’, ‘प्रतिष्पर्धी नै देखेको छैन’ आदि इत्यादी ।
हुन पनि, स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने प्रचण्डले लडेका संसदीय चुनावमध्येमा प्रतिस्पर्धीको तुलनामा सबैभन्दा बढी मतान्तर गोरखा २ मा नै छ ।
यहाँबाट एमालेले युवा उमेदवार अब्दुस मियालाई उठाएको छ । गण्डकीमा बलियो मानिने एमालेको जनाधार गोरखामा भने अन्य जिल्लाको तुलनामा कम नै छ ।
चितवनको क्षेत्र नं. ३ छाडेर गोरखा आएका प्रचण्डसँग गठबन्धनको कति मत छ त ?
स्थानीय तहका निर्वाचनको मतपरिणाम अनुसार गोरखा २ मा माओवादी केन्द्र पहिलो पार्टी हो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत अनुसार उक्त क्षेत्रमा माओवादीले २२ हजार २ सय ५०, नेपाली कांग्रेसले २१ हजार १ सय ३६, एमालेले ७ हजार ९ सय २६, जसपाले ७ हजार ५ सय ४ र राप्रपाले ८ सय ७८ मत प्राप्त गरेको थियो ।
माओवादी एक्लै सो क्षेत्रमा पहिलो स्थानमा छ । उक्त मतलाई आधार मान्ने हो भने त्यस क्षेत्रमा माओवादीसहितको गठबन्धनसँग एमालेको भन्दा झन्डै ४३ हजार मत बढी छ ।यही मत देखेर नै चितवन छाडेर प्रचण्ड गोरखा आएको चर्चा पनि हुने गरेका छन ।
यो त भयो गोरखा २ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी अंकगणित । निर्वाचनपिच्छे नै क्षेत्र फेर्न प्रचण्डलाई सहज भएतापनि उनकै पार्टीका अन्य नेताहरु भने पुरानै क्षेत्रमा चुनाव लड्दैछन । यसपटक गण्डकीबाट माओवादीका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल चुनावमा भिड्दैछन । हेभिवेट नेता भएतापनि प्रचण्डको जस्तो सहजता नभइ अन्य उम्मेदवारलाई चाहिँ गठबन्धनको भर पर्नुपर्ने स्थिति छ ।
लमजुङमा महासचिव र उपमहासचिवको भिडन्त
अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उमेदवार बनेर लमजुङबाट चुनाव जितेका माओवादी केन्द्रका महासचिव देव गुरुङ यसपटक पनि उम्मेदवार बनेका छन । यसपटक पनि गठबन्धन छ, तर अघिल्लो बाम गठबन्धन नभई गुरुङ यसपटक लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका छन ।
उनका प्रतिष्पर्धी पनि एमाले गण्डकीबाट सबैभन्दा हेभिवेट नेता पृथ्वीसुब्बा गुरुङ छन । अघिल्लो निर्वाचनमा एकअर्कासँग सहकार्य गर्दै प्रतिनिधिसभा देव र प्रदेशमा पृथ्वीसुब्बाले जित हासिल गरे । यसपटक चाहिँ दुवै एकअर्काका प्रतिष्पर्धी बन्न पुगेका छन ।गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङको चाहना यसपटक पनि प्रदेशमा नै लड्ने थियो । तर, पार्टीले उनलाई प्रतिनिधिसभाको टिकट दियो ।
यही अनिच्छाको प्रतिष्पर्धा गरेका पृथ्वीसुब्बा कांग्रेससहितको गठबन्धनका उम्मेदवारसँग भिड्दैछन ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लमजुङमा एमालेले ४० हजार १ सय ९७, कांग्रेसले ३५ हजार २ सय ७६, माओवादीले ६ हजार १ सय २७, राप्रपाले १ हजार १ सय ८४ र जसपाले १ सय ९० मत ल्याएका छन । गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको नतिजाअनुसार एक्लाएक्लै प्रतिस्प्र्धा गर्ने हो भने एमाले अगाडि छ ।
देवेन्द्रलाई कांग्रेसबाट नवप्रवेशीको चुनौती, बागीको डर
माओवादीका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल कांग्रेस र जनमोर्चाको साथ लिएर बागलुङ २ बाट चुनावी मैदानमा उत्रिएका छन ।२०७४मा एमाले र जनमोर्चाको सहयोगमा कांग्रेसलाई पराजित गरेका पौडेल अहिले कांग्रेससहितको गठबन्धनको सहयोग लिएर एमालेकी मञ्जु चालिसेसँग भिड्दैछन ।
गत स्थानीय निर्वाचनमा गलकोट नगर प्रमुखको टिकट नपाएर कांग्रेसबाट बागी उठेकी मञ्जु शर्मा चालिसे गत साउनमा एमाले प्रवेश गरेकी थिइन । त्यसअघि चालिसे कांग्रेस महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिकी निर्वाचित सदस्य चालिसेले ३२ सय ६२ मत ल्याएकी थिइन । उनै बागी चालिसेलाई एमालेले यसपटक आफ्नो उमेदवार बनाएर पौडेलसँग भिडाएको छ ।
कांग्रेसमा अवसर नपाएपछि एमाले प्रवेश गरेकी चालिसे गठबन्धन दलभित्रको असन्तुष्ट मत तानेर चुनाव जित्ने दाउमा छन ।नेता पौडेलले ०७४ मा कांग्रेसका नरबहादुर पुनलाई यसै क्षेत्रबाट पराजित गरेका थिए ।
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारको कूल मतभार जोड्दा यस क्षेत्रमा गठबन्धनका उम्मेदवारले एमालेको भन्दा १५ हजार पाँच सय १९ मत बढी पाएका छन । गठबन्धन दलले वडाध्यक्षमा ३४ हजार पाँच सय ६८ मत पाउँदा एमालेले १९ हजार ४९ मत पाएको थियो ।त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलविरुद्ध पनि आफ्नै पार्टीका तुलसी अर्यालले बागी उमेदवारी दिएका छन । अर्यालले क्षेत्र नं २ बाट उमेदवार आकांक्षी थिए । तर, पार्टीले पौडेललाई उमेदवार बनाएपछि अर्याल रुष्ट बनेका हुन ।
रामजीलाई पनि बागीको तगारो
सेनाले गोली हानेर हत्या गरेका शहिद परिवारको तर्फबाट अनिता भुत्र्याल बागी बन्दा गठबन्धनका उम्मेदवार रामजी बराललाई कास्की ३ को चुनावमा केही अप्ठ्यारो पर्नेछ । माओवादीकै केही नेता कार्यकर्ताको सहानुभूति भुत्र्याललाई भएतापनि बरालसँग भने गठबन्धन छ ।
गण्डकीका बहालवाला अर्थमन्त्री बराल अघिल्लो निर्वाचनमा कास्की ३ (क) बाट चुनाव जितेका थिए । माओवादीले यसपटक उनलाई प्रतिनिधीसभामा अगाडि सारेको छ ।कास्की ३ मा बरालका प्रतिस्पर्धी एमालेका दामोदर बैरागी प्रतिस्पर्धाको रुपमा छन् । बराल सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार हुन ।
माओेवादी सशस्त्र संघर्षका क्रममा २०६१ वैशाखमा उनका बुवा राजविक्रम र आमा सीता भुर्तेललाई नेपाली सेनाले हत्या गरेको थियो । त्यो बेला आफू १५ वर्ष मात्रै रहेको र साना भाइबहिनीको अभिभावक बनेर हुर्काउँदा पार्टीले नहेरेको उनको गुनासो छ ।यो पटक कास्की क्षेत्र नम्बर ३ बाट उनको नाम पनि केन्द्रमा सिफारिस भएको थियो । तर, प्रतिनिधिसभा र प्रदेश सभामा पनि टिकट नपाएपछि उनले बागी उम्मेदवारी दिएकी हुन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई गठबन्धन भन्दा एमालेको मत केही कम छ । एमालेले वडाध्यक्षमा २६ हजार ८ सय ३९ मत प्राप्त गरेको छ । कांग्रेसले २७ हजार ५ सय १६ मत प्राप्त गरेको छ । माओवादीले २ हजार ४ सय ९८ र एकीकृत समाजवादीले ५ सय १ मत प्राप्त गरेका छन् । राप्रपा र अन्य पार्टीको मत क्रमशः १ हजार ४० र २ हजार ४ सय २२ छ ।
पछिल्लो स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धन र एमाले अवस्था प्रतिस्पर्धात्मक देखिन्छ ।





