पोखरा/ सहिद स्मारक ए डिभिजन फुटबल लिगका लागि आबद्ध क्लबको तयारी खर्चमा वृद्धि भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुसको अन्तिम साताबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा सहभागि हुने क्लबलाई तयारी स्वरुप ३२ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।
एन्फाले सोमबार ए डिभिजन लिगका सहभागी क्लबसँग छलफल गर्दै तयारी खर्चमा वृद्धि गरेको हो । गत वर्षको भन्दा १० लाख रुपैयाँ बढाउने सहमति एन्फाले गरेको छ ।
गत वर्ष सहभागी हरेक क्लबले २२ लाख ५० हजार रुपैयाँ तयारी वापत पाएका थिए । ‘यस पटक १० लाख रुपैयाँ बढी तयारी खर्च दिने निर्णय भएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने,‘ लिग पूर्व निर्धारित पुस २६ गतेबाट नै सुरु हुनेछ ।’
एन्फाले यसअघि नै डबल लिगका आधारमा ए डिभिजन लिग सञ्चालनको निर्णय गरेको थियो ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा एन्फा पदाधिकारी, सदस्य तथा सहभागी हरेक क्लबका ३ प्रतिनिधिको उपस्थिति थियो ।
यस पटक पनि लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
हरेक खेलको म्याच मनि ५० हजार राखिएको छ भने लिगको सर्वाधिक गोलकर्ता, उत्कष्ट गोलरक्षकले समान २ लाख रुपैयाँ पाउनेछन् ।
उदीयमान खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ३ लाख रुपैयाँ पाउने एन्फा प्रवक्ता शाहले जानकारी दिए । हरेक खेलको म्यान अफ दी म्याचले यसअघि जस्तै १० हजार रुपैयाँ पाउनेछन् ।





