बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पार्टीभित्र फरक समूहबाट उदाएका दुई नेताको भिडन्त

पार्टीभित्र फरक समूहबाट उदाएका दुई नेताको भिडन्त


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७९, शनिबार

पोखरा/ नेपाली कांग्रेसको १४ औँ जिल्ला महाधिवेशन पूर्व जिल्ला अधिवेशनहरु सकिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश गण्डकी र त्यसमा पनि कास्की जिल्ला उनको पकड क्षेत्र मानिन्थ्यो । पौडेल समूहकै नेताहरुले जिल्ला हाँक्थे, जिल्लामा प्रतिष्पर्धा पनि उनीहरुकै बिच हुन्थ्यो । यहाँ देउवा समूह भनेर खुल्ने र जिल्लामा प्रतिष्पर्धा गर्ने नेता नै छैनन भन्ने खालको स्थिती थियो ।
जसै १४ औँ महाधिवेशन नजिकियो, भद्रकाली बहुमुखी क्याम्पस प्रमुख किशोरदत्त बरालले पनि रुचि देखाए । कांग्रेस निकटको शिक्षक संघको केन्द्रिय उपसभापति समेत रहेका बराल बौद्धिक छविको नेता भनेर प्रचारित भए । आफ्नो पेशा र कांग्रेस निकट शिक्षक संघमा काम गरेका कारण उनलाई कांग्रेसभित्र परिचित भइरहन आवश्यक थिएन ।

तर, रामचन्द्र पौडेल निकट मानिने शुक्रराज शर्मा, यज्ञबहादुर थापा, तारानाथ रानाभाट, देवराज चालिसे लगायतको समूहबाट आकांक्षीको लर्को देखिएपछि उनलाई ‘देउवा खेमा’ को ट्याग लाग्यो । बराल स्वयमले यसलाई प्रतिवादन गरेतापनि इतर समूहले चाहिँ आफ्नो सर्कलमा उनलाई फरक समूहको भनेर सर्कुलर गरिसकेको थियो ।

अर्कातर्फ इतर समूहबाट नै सभापतिमा निवर्तमान सचिव सुदिपमोहन भट्टराई, उपसभापति आइबहादुर गुरुङ लगायत पोषनाथ शर्मा, गिरिराज गौतम लगायतले प्रतिष्पर्धा गर्ने निश्चित भयो । त्यसमा बराल पनि थपिँदा कास्कीको सभापतिको लागि पाँचजनाबिच प्रतिष्पर्धा भयो ।

धेरैको आँकलन थियो, पहिलो चरणबाट नै बराल आउट हुनेछन, त्यसपछि जो सभापति भएतापनि आफ्नै समूहको हुने आँकलन इतर समूहको थियो ।

तर, परिणाम त्यस्तो आएन । बरालले सबैभन्दा बढि मत ल्याए । ५० प्रतिशत मत कटाउन नसकेका कारण दोश्रो चरणको चुनावमा उनै बराल र भट्टराइबिच प्रतिष्पर्धा भयो । देउवा समूहका भनेर चिनिएका दोश्रा तहका नेताहरुले कसरत गरे । अन्ततः बरालले कास्की सभापतिको नेतृत्वमा बाजी मारे । उनको जितलाई कास्कीमा देउवा समूहको उदय भनेर प्रचार पनि गरियो ।

तर, जसै जिल्ला अधिवेशन सकियो र १४ औँ महाधिवेशन सुरु भयो । देउवा समूहका भनेर प्रचार गरिएका बरालले महामन्त्रीका उमेदवार विश्वप्रकाश शर्माको पक्षमा भावुक खुलापत्र लेखेर सार्वजनिक गरिदिए । एकजनाको पक्षमा खुलेरै मत मागेपछि देउवा समूहका नेताहरु रुष्ट मात्र भएनन, बालुवाटारमा नै खबर पु¥याउन पनि भ्याए ।

त्यो खबर पु¥याउनुको अर्थ आसन्न प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा उनलाई टिकट दिन नहुने सन्देश पनि थियो । अर्कातर्फ, गठबन्धन र त्यसमा पनि कास्कीको कुन क्षेत्र कसले पाउने भन्ने निक्र्योल भइसकेको थिएन । तीन निर्वाचन क्षेत्र रहेको कास्कीका सबै आकांक्षी काठमाण्डौ धाउन पुगे ।

गठबन्धनको भागबण्डामा कास्की १ कांग्रेस, २ माओवादी र ३ माओवादीलाई दिने भनेर शिर्ष नेताले भागबण्डा गरे । प्रतिनिधीसभामा क्षेत्र नं. १ पाएको कास्कीबाट चुनाव लड्न दर्जनबढि आकांक्षी देखिए ।
चर्चामा पूर्वसभापति कृष्ण केसीको नाम बढि आएतापनि अन्तिमम वर्तमान सभापति बरालले नै संघीय सांसदको टिकट ल्याए । उनले टिकट पाउनुलाई महामन्त्री विश्वप्रकाश शर्माको हात रहेको भनेर चर्चा पनि भयो ।

उनै बराल पहिलोपटक संसदीय निर्वाचनको परिक्षामा उत्रिएका छन । शिक्षण पृष्ठभूमिबाट जिल्ला नेतृत्वको सफलता लगत्तै संसदीय निर्वाचनको चुनाव । यसमा उनी कति सफल हुन्छन त्यो भने हेर्न बाँकी छ । मादी र रुपा गाउँपालिका सहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६ देखि ३२ नम्बरसम्मका वडाहरू पर्छन ।

…………….

एमालेले देशैभर सर्वसम्मत तरिकाले नेतृत्व चयन गर्दा कास्कीमा भने निर्वाचन नै भयो । एमालेले कास्कीलाई आफ्नो गढ मान्छ । विगतका निर्वाचनले त्यसलाई पनि पुष्टि गर्छन । गण्डकी एमालेभित्र ओली निकटका नेताहरुको राम्रो प्रभाव छ ।

त्यही ओली समूहका दुई नेताहरुको शक्तिसंघर्षका कारण कास्की एमालेले नेतृत्व सर्वसम्मत गर्न सकेन । एमालेका वर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह भनेर यहाँ प्यानलगत निर्वाचन हुन पुग्यो ।

लमजुङका पृथ्वीसुब्बा गण्डकीका संस्थापक मुख्यमन्त्री समेत हुन । उनै पृथ्वीसुब्बा एमाले संसदीय दलको नेता बन्दा त्यसको सदस्य थिए, मनबहादुर गुरुङ ।
उनै मनबहादुर अन्ततः पिएस (पृथ्वीसुब्बा) गुटको उमेदवार बने । खगराज समूहले दामोदर वैरागीलाई उमेदवार बनायो । बहुसंख्यक पदाधिकारी तथा सदस्य खगराज समूहका आउँदा अध्यक्ष भने पिएस समूहका मनबहादुरले जिते ।

त्यसयता यी दुई नेताको शक्तिसंघर्ष कास्कीमा झनै मौलायो । जुन, गत स्थानीय तहको निर्वाचनमा पनि देखियो । पिएस नजिकका व्यक्तिले पाएको टिकट अन्तिम समयमा खगराज निकटका व्यक्तिले फुस्काए । तर, चुनाव हारे ।

चुनाव हारेपछि यहाँ एक समूहले अर्को समूहलाई हराउन लागेको भनेर आरोप समेत लगाए । खगराज अधिकारी समूहका नेता कार्यकर्ताहरुले त पृथ्वीसुब्बा सहित जिल्ला अध्यक्ष मनबहादुरलाई पनि कारवाही गर्न भन्दै पत्र लेखेर अध्यक्ष ओलीलाई बुझाएका थिए ।

आसन्न संसदीय निर्वाचनमा पनि टिकट वितरणमा दुई समूहबिच प्रतिष्पर्धा नै देखियो । एमालेले प्रदेश आउन चाहेका पिएसलाई प्रतिनिधीसभा र प्रतिनिधीसभा ताकेका खगराजलाई प्रदेशमा झारिदिएको छ ।
कास्कीको यही समूहगत राजनीतिका कारण आसन्न निर्वाचन पनि पेचिलो बन्न पुगेको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्की १ मा उनै जिल्ला अध्यक्ष मनबहादुरले टिकट पाएका छन ।
निवर्तमान प्रदेशसभा सदस्य रहेका गुरुङ पर्यटकीय सिक्लेसबाट एमाले राजनीतिमा उदाएका हुन । २०५४ सालमै तत्कालीन पार्चे गाविस सभापति बनेका सिक्लेसका ‘मुखिया’ मनबहादुरले एमालेका नेता झलक सुवेदी, पुष्पज्योति ढुंगानालगायतका नेतालाई पछि पार्दै टिकट पाएका थिए ।
……….
गठबन्धनको सहयोगमा चुनावी मैदानमा उत्रिएका किशोरदत्त बराल यो समय बेगनास ताल परिसरतिर चुनावी कार्यक्रममा केन्द्रित छन ।
गठबन्धनको सहयोग बाहेक के आधारमा चुनाव जित्छु जस्तो लाग्छ तपाइर््लाई ?

यो प्रश्नको जवाफमा उनले भने, “मेरो भविष्यको योजनासहितको एजेण्डा छ, त्यो बलियो आधार हो । राजनीतिलाई कता लैजाने, आर्थिक समृद्धि कसरी गर्न सकिन्छ, संसदबाट त्यसको भूमिका खेल्ने हो । यसलाई आम मतदाताले नयाँ र राम्रो मानिरहेका छन, यो मेरो लागि प्लस पोेइन्ट हो ।”
सामाजिक सञ्जालमा किशोरदत्तले आफ्नो शिक्षण पृष्ठभूमिका व्यक्तिहरुसँग अपिल गर्दै भिडियो पनि पोष्ट गरेका छन । त्यसलाई उनी क्वालिटी रिलेसन भन्न मन पराउँछन र यो जितको एउटा बलियो आधार बन्ने उनको विश्वास छ ।

“समाजसँग धेरै लामो समयसम्म जुन विद्यालयमा पढाएँ, त्यस क्षेत्रका विद्यार्थीहरु, त्यहाँका अभिभावक, शिक्षक साथीहरुसँग मेरो क्वालिटी रिलेसन छ । त्यो पनि निर्वाचनको लागि बलियो आधार हो । सामाजिक संघसंस्थासँगको आबद्धता पनि मेरो जितको आधार हो । समाजले फ्रेस मान्छे खोज्छ, सम्भावना खोज्छ, मतदाताले त्यो कुरा म मा देखेका छन ।” उनले भने ।
बरालले मतदालाई सम्बोधन गर्दैै एउटा पत्र पनि सार्वजनिक गरेका थिए । त्यसमा विकासका एजेण्डा भन्दा बाहिर रहेर मतदाताले किन मत दिने भन्ने बारेमा उनको व्याख्या छ ।

विकास एजेण्डा नलिइकिन चुनाव जित्दा मतदाताले पत्याएका छन त ?
यसको जवाफमा उनले भने, “योजनाबद्ध रुपमा विकासमा जानुपर्छ भन्ने मेरो कुरा हो । खट्टे बाँडेजस्तो होइन । प्राथमिकताका आधारमा विकास गर्ने हो, कार्यान्वयन गर्ने हो । कृषि र पर्यटन, विद्यालयमा उद्यमशीलता र रोजगारी उत्पादन गर्ने मेरो एजेण्डा छ, यसले झन उत्साह थपेको छ ।”

मनबहादुर गुरुङ पनि चुनावी प्रचारप्रसारमा नै छन । एमालेको बलियो संगठन, राष्ट्रियतालाई उनले जीतको आधार मान्छन ।
“राष्ट्रियताको विषय हेर्नुहोस, विकास हेर्नुहोस । जनताको लोकप्रिय पार्टी अरु कुनै छ र ? अर्को कुरा एमालेको उमेदवार नै राम्रो छ नि । एमालेको संगठन नै प्रभावकारी छ, त्यसकै आधारमा म चुनाव जित्छु ।” उनले दाबी गरे ।

कास्की एमालेका अध्यक्ष रहेका गुरुङले पार्टीभित्र समस्या नभएको दाबी गरे ।
एमालेभित्र स्थानीय तहको चुनावमा अन्तरविरोध देखियो, कारवाहीका आवाज उठेका थिए नि ? उनले भने, “यो प्रश्न किन सोध्ने ? पार्टी मिलाउन सक्ने मान्छे नै अध्यक्ष भएको छ । पार्टी मिलिसकेको छ । हामीले समिक्षा गरिसकेका छौँ । कास्की एमाले एकजुट छ ।”

यस्तो छ अंकगणित

अहिले कास्की १ (क) का उमेदवार खगराज अधिकारीले २०७४ सालको निर्वाचनमा १३ हजार ४१६ भन्दा बढी फराकिलो मतान्तरले कांग्रेसका यज्ञबहादुर थापालाई हराएका थिए । एमाले र माओवादी एकता गरेर चुनावमा जाँदा अधिकारीले ३९ हजार २४२ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुरले २५ हजार ८२६ ।
त्यो बेलाको एमालेको सारथि माओवादी अहिले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनमा छ । एमालेबाटै फुटेको एकीकृत समाजवादी पनि गठबन्धनमै छ ।
स्थानीय तहहरू हेर्दा गठबन्धन नै अगाडि देखिन्छ । १२ वटा वडा रहेको मादी गाउँपालिकामा अध्यक्षसहित ६ वटा वडा जितेको छ भने एमालेले उपाध्यक्षसहित ४ वटा वडा जितेको छ । माओवादीले २ वटा जितेको छ ।

रूपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ७ वडामध्ये ६ वटा वडा एमालेले र १ वडा कांग्रेसले जितेको छ । कास्की–१ मा पर्ने पोखरा महानगरपालिकाको १० वडामध्ये ९ वटामा कांग्रेसले जितेको छ ।
स्थानीय तहको निर्वाचनमा यी वडाका अध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा कांग्रेसको ३१ हजार ७२ मत छ भने नेकपा एमालेको २८ हजार ३४६ मत छ । माओवादीका वडाअध्यक्षका उम्मेदवारले ३ हजार १७० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->