पोखरा / नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्न लागेको हो । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू–१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू–१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ ।
जसमा नेपाल र बंगलादेश मिलेर यू–१९ महिला टि२० विश्वकप आयोजना गर्ने भएका हुन् । २०२४ को यू–१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् ।
२०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु–१९ महिला टि२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।
नेपालले पहिलो पटक कुनैपनि विश्वकप आयोजना गर्नेछ । यसअघि नेपालले कुनैपनि विश्वकप आयोजना गरेको छैन । ‘यो खुशीको खबर हो । यो नेपाली क्रिकेटकै एक ठूलो उपलब्धी पनि हो । हामीले निरन्तर प्रयास गरेका थियौं ।
विश्वकप आयोजना गर्न हामीले पाँच वटा मैदानको नाम दिएका छौं । जसमा दुईवटा मैदानमा हुनेछ’, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।





