पोखरा/ गण्डकीका हालसम्मको मतगणना परिणाम अनुसार समानुपातिकतर्फ एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार एमालेले २६ हजार ८४ मत ल्याएको छ । नेपाली कांग्रेसले एमालेलाई पच्छ्याइरहेको छ । कांग्रेसले १८ हजार ७०८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ । राप्रपाको ५ हजार २५५ मत छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको ५ हजार २२६ र नेकपा एकीकृत समाजवादीको २ हजार ६९२ मत मत रहेको छ ।
कानूनतः मान्यताप्राप्त दल हुनको लागि प्रत्यक्षतर्फ एक र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था रहेको छ । यसअघिको चुनावमा समानुपातिकतर्फ एमालेले ३ लाख ७३ हजार ५०१, कांग्रेसले ३ लाख ६४ हजार ७९७,माओवादी १ लाख १९ हजार ५२८,नयाँ शक्ति नेपाल २४ हजार ६२४,राष्ट्रिय जनमोर्चा १९ हजार ३५६,विवेकशील साझाले १६ हजार ५९२ र राप्रपाले १५ हजार ६४९ मत पाएका थिए । त्यो मतको आधारमा एमाले १०,कांग्रेसले ९,माओवादीले ३ नयाँशक्ति १ र जनमोर्चाले १ जना समानुपातिक सांसद पाएको थियो ।
यता संघतर्फ नेकपा एमाले एक लाख २९ हजार ४८० मतसहित समानुपातिकतर्फ पहिलो दलका रुपमा देखिएको छ । नेपाली कांग्रेसले पनि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार जारी मतगणनामा कांग्रेसले समानुपातिकतर्फ १ लाख १२ हजार २३३ मत ल्याएको छ । प्रतिनिसभा र प्रदेशसभा निर्वाचनको संघारमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी ५७ हजार ४५४ मतसहित समानुपातिकतर्फ तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्र ५१ हजार ७९८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३१ हजार ७ मतसहित क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।
मुलुक विखण्डको राजनीति छाडेर मुलधारको राजनतिमा आएको जनमत पार्टीले मधेश प्रदेशमा पकड जमाएका दलहरुलाई पछि पारेको छ । जनमत पार्टी ९ हजार ८४१ मतका साथ छैटौं दल बन्दा जनता समाजवादी पार्टी (जसपा) ९ हजार ७९५ मतका साथ उसलाई पछ्याइरहेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले समानुपातिकतर्फ ७ हजार ११४ मत प्राप्त गरेको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन २०७९ अघिमात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले चोइटिएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीलाई नै पछि पारेको छ । आयोगका अनुसार उन्मुक्तिले ६ हजार ५१४ र एकीकृत समाजवादीले ६ हजार १८६ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ ।





