पोखरा / अर्जेन्टिनालाई २–१ गोल अन्तरले हराएको साउदी अरबिया पोल्याण्डसँग २–० को हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा पोल्याण्डले खेलको पहिलो हाफमा नै अग्रता लियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा साउदी पेनाल्टिमा चुक्दा बराबरी गर्नबाट चुकेको थियो ।
निकै प्रतिस्पर्धात्क खेलमा साउदीले सुरुवाती समयमा बनाएको दबाबलाई बलियो आक्रमणमा बदल्न सकेन ।
यता पोल्यान्डले प्राप्त अवसर सदुपयोग गर्दै अग्रता लियो । पोलिस गोलरक्षक वजसिएक सेचेज्नीले पेनाल्टी सहित केहि उत्कृष्ट बचाउ गर्दै पहिलो हाफमा अग्रता कायमै राखेका थिए ।
खेलको १३ औं मिनेटमा साउदीको अग्रतासामु पोल्यान्डका गोलरक्षक वजसिएक सेचेज्नी बाधक बने ।
मोहमद कानोले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमै गरेको शक्तिशाली प्रहार सेचेज्नीले उत्कृष्ट बचाउ गरे ।
खेलको ३८ औं मिनेटमा पोल्यान्डले पिटर जिलेन्स्कीको गोलमा अग्रता लियो । रोबर्ट लेवान्डस्कीले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई जिलेन्स्कीले गोल गरेका थिए ।
गोलरक्षक बाहिर निस्केको अवस्थामा उनलाई बिट गर्दै जिलेन्स्कीलाई पास दिएका थिए ।
४४ औं मिनेटमा साउदीले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो ।
भिडियो एसिसेन्ट रेफ्रीले अल शेहरीलाई पेनाल्टी क्षेत्र भित्र लडाएको फलमा पेनाल्टी दिएका थिए ।
तर साउदीका लागि मोहमद अल्बुरेकले पेनाल्टी सदुपयोग गर्न सकेनन् । गोलरक्षक सेचेज्नीले पेनाल्टी विफल पार्दै रिबाउन्डमा आएको प्रहारलाई पनि उत्कृष्ट बचाउ गरे ।
८२ औं मिनेटमा पोल्याण्डका कप्तान लावन्डोस्कीले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गोल गरे ।
गोलको हतारोमा रहेको साउदीका डिफेन्डरले पास खेल्ने क्रममा अनियन्त्रित हुँदा त्यसको फाइदा उठाउँदै लेवन्डोस्कीले गोल गरे ।





