बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

हारको ‘ज्वरो’बीचमै कांग्रेस कास्की सभापतिको ‘एक्सन प्लान !’

हारको ‘ज्वरो’बीचमै कांग्रेस कास्की सभापतिको ‘एक्सन प्लान !’


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७९, आइतबार

पोखरा/ सभापतिको हातमा ‘कमाण्ड’ हुन्छ । सभापतिको निर्णयले संघ–संस्थाको भविष्य निर्धारण गर्छ । नेपाली कांग्रेसमा त सभापति झन सर्वेसर्वा हुन्छ । यस्तै सभापतिमध्ये एक हुन्–किशोरदत्त बराल । नेपाली कांग्रेसको १४औं अधिवेशनमा ६ जना प्रतिस्पर्धीबीचबाट छानिएका बराल बौद्धिकमात्र हैन, वाकपटुताका पनि धनी छन् ।

महाधिवेशनताका चुनाव नलड्ने प्रतिवद्धता गरेका उनै बराल मंसिर ४ को चुनावमा कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बने । पूर्वसभापति यज्ञबहादुर थापा,निवर्तमान सभापति कृष्ण केसी,केन्द्रीय सदस्य गुरु बराल र अधिवेशनमा आफ्नै प्रतिस्पर्धी सुदीपमोहन भट्टराईलाई उछिनेर टिकट ल्याएका किशोरदत्तलाई चुनावी सफलता भने हात लागेन । २ हजार ५१९ मतले पछि पर्दै उनले नतिजा एमालेका मनबहादुर गुरुङलाई सुम्पे ।

कास्कीको प्रतिनिधिसभामा कांग्रेसले पाएको एउटामात्र सिटमा उनी पराजित हुँदा काँध मिलाएर हिँडेका क्षेत्र नम्बर १ ‘ख’का कांग्रेसी उम्मेदवार दीपक गुरुङ माइलाले पनि हार ब्यहोर्नुप¥यो । क्षेत्र नम्बर २ र ३ मा पनि ५ दलीय गठबन्धनका उम्मेदवार पराजित भए भने प्रदेशतर्फ कास्की क्षेत्र नम्बर १, २ र ३ को ‘क’ पनि सत्ता गठबन्धनको हातबाट एमालेले खोस्यो । त्यहाँ क्रमशः माओवादी केन्द्रका दीपक कोइराला, विश्वप्रकाश लामिछाने र दुर्गादत्त भण्डारी पराजित भए ।

माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुल कास्कीमा कांग्रेस जिम्मेवार नहुँदा गठबन्धन कसिलो नभएकाले परिणाम सोचेजस्तो नभएको जिकिर गरिरहेका छन् । कास्की कांग्रेसका सभापति बराल स्वयंले यो तथ्यलाई पुष्टि गर्ने आधार दिएका छन् । अन्तरघात गरेको आरोपमा कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध केही युवाहरुले नाराबाजी गरेकै भोलिपल्ट सभापति बरालले सामाजिक सञ्जालमार्फत् कास्की क्षेत्र नम्बर १ को परिणाम दुःखद भएको र कमी–कमजोरी गर्ने व्यक्तिको गोप्य सूचना माग गरेका छन् ।

उनले भनेका छन्,‘ प्रतिनिधिसभा निर्वाचन क्षेत्र न १, कास्कीको परिणामबाट नेपाली कांग्रेसका अधिकांश साथीहरू अत्यन्तै दुखी हुनु भएको छ भन्ने कुरा मैले राम्रैसँग महशुस गरेको छु । यो दुःखद परिणामप्रति मेरो कमी–कमजोरी कहाँनेर रह्यो त्यसको आत्मसमीक्षा गरिरहेको छु । र, अरु कसैले कमी–कमजोरी गरेको सूचना , जानकारी र अन्य कुनै प्रमाण तपाईलाई प्राप्त भएको भए नेपाली कांग्रेस, कास्कीको सांगठनिक सुदृढीकरणका लागि त्यसको सूचना गोप्य रुपमा उपलब्ध गराएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’ उनले सूचना दिनको लागि आफ्नो मोवाइल नम्बरसहित इमेल र अन्य सूचना सञ्जाल सार्वजनिक गर्दै अन्त्यमा बीपी कोइरालाको भनाइ उधृत गर्दै लेखेका छन्,‘ नेपाली कांग्रेसलाई बचाउनका लागि नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताहरुले फेरि अर्को आन्दोलन गर्नुपर्छ ।’

उता,बिहीबार नै कांग्रेसको मादी गाउँपालिकाका सभापति यामबहादुर गुरुङले सामाजिक सञ्जालमार्फत् पूर्वसभापति केसीले किशोरदत्त बराललाई हराउने षड्यन्त्र गरेको आरोप लगाएका थिए । उनले भनेका थिए,‘ मलाई घरमै बोलाएर १ घण्टासम्म किशोरलाई हराउनुपर्छ जित्न दिनु हुँदैन भनेर पढाएको । त्यस्तो सयौँलाई भनेको रहेछ । यसको तात्पर्य दुवै उमेदवार हराउनु मैले बुझेँ । साथीहरूलाई सतर्कता अपनाउन भनेँ । तर, साथीहरू त्यस्ता …को चंगुलमा यसरी फसे कि, उम्कने बाटो नै पाएनन् पार्टी हित विपरीत लाग्ने व्यक्ति अरु कोही नभइ कृष्ण केसी भन्ने मान्छे हो ।’
यामबहादुरको अभिव्यक्तिपछि नै कृष्ण केसी लक्षित नाराबाजी भयो । लगत्तै सभापति किशोरदत्त बरालको आह्वान सार्वजनिक भएको छ । यसले कास्की कांग्रेसमा पुनः बबण्डर सुरु हुने अनुमान गरिएको छ ।

किशोरजीलाई सहयोग हुँदैन भनेकै हुँ : केसी
कांग्रेस निवर्तमान सभापति कृष्ण केसीले स्वयंले यामबहादुरलाई घरमा बोलाएको र किशोरलाई भोट नदिन भनेको स्वीकारेका छन् ।
‘उहाँ (किशोर) ले आफूलाई मात्र भोट माग्ने र त्यसका लागि एमालेसँग पनि मत क्रस गर्ने गरी छलफलमा हुनुहुन्छ भन्ने कुरा यामजीलाई बताएको हुँ । हाम्रो सहयोग किशोरजीलाई हुँदैन भनेर मैले भनेकै हुँ । यो कुरा पार्टी बैठकमा भन्ने नै थिएँ ’उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->