आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

समानुपातिकमा साढे तीनगुणा मत बढाएर गण्डकी संसदमा राप्रपाको इन्ट्री

समानुपातिकमा साढे तीनगुणा मत बढाएर गण्डकी संसदमा राप्रपाको इन्ट्री

एमाले कांग्रेस खस्किँदा फाइदामा राप्रपा, माओवादीलाई तुलनात्मक रुपमा कम क्षति ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७९, आइतबार

 गोविन्दराज र सुशिलादेवीको सम्भावना

पोखरा/ दुइदुई पटक विघटित अघिल्लो प्रतिनिधीसभाको अन्तिम बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, “व्यक्तिगत रूपमा म संसदमा आउँदिन, आउने चुनावमा पार्टीको राम्रो हैसियत बनाउनको लागि पनि जनतामा जाँदैछौँ । अब संसदमा म एक्लै आउने छैन, बलियो शक्तिको रुपमा आउने छौँ ।”

प्रतिनिधीसभाको बैठकलाई सम्बोधन गरेका लिङ्देनले मात्रै अघिल्लो चुनावमा पार्टीको साख जोगाएका थिए । उनले भनेझैँ उनी अहिले एक्लो छैनन, उनको पार्टीले प्रतिनिधीसभाको प्रत्यक्षमा ६ सिट जितिसकेको छ । एकठाउँमा अगाडि छ ।

उनको बोलीको प्रभाव संघीय संसदमा मात्रै देखिएन, प्रदेशहरुमा पनि देखियो । प्रत्यक्षमा नजितेतापनि गण्डकी प्रदेशमा समानुपातिकको मत हेर्ने हो भने राप्रपष गण्डकीमा एमाले, कांग्रेस र माओवादी पछिको चौथो स्थानमा छ ।

तथ्यांकमा नै कुरा गर्ने हो भने, अघिल्लोपटकभन्दा साढे तीन गुणा मत बढाएको छ । ०७४ को निर्वाचनमा राप्रपाले गण्डकीमा ल्याएको मतसंख्या हो, १५ हजार ६४९ । राप्रपाको त्यो मत दलगत रुपमा हेर्दा सातौँ नम्बरमा थियो ।

तर, स्याङजा २ को (क) र (ख) सहितका क्षेत्रको मतगणना गर्न बाँकी रहँदा राप्रपाले ५४ हजार ७३६ मत ल्याइसकेको छ । यो मत अघिल्लो निर्वाचनको तुलनामा साढे तीन गुणा बढि हुन आउँछ ।
अघिल्लो निर्वाचनमा समानुपातिकबाट एक एक सांसद पाउने दुइवटा दल थिए, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी नेपाल । जनमोर्चाले १९ हजार ३५६ र नयाँशक्तिले २४ हजार ६२४ मत पाएका थिए ।
यी दुई दलले एकएक सांसद पाए । अहिले यी दुवै दलको मत जोड्दा पनि राप्रपा नै १० हजार बढि मतले अगाडि छ । यसको अर्थ, प्रत्यक्षमा एक सिट नजितेतापनि गण्डकी प्रदेशमा राप्रपाको इन्ट्री हुने निश्चय भएको छ ।

जनमोर्चा र नयाँशक्ति पार्टीभन्दा बढि मत ल्याएका कारण राप्रपाले यी दलको स्थान लिने सम्भावना देखिएको छ । एमाले, कांग्रेस, र माओवादीपछिको बढि मत पाएका कारण यसपटक यी चार दलले मात्रै गण्डकीमा समानुपातिक सांसद पाउने देखिएको छ । अघिल्लो निर्वाचनकै तुलना गर्ने हो भनेपनि एमाले १०, कांग्रेस ९, माओवादी केन्द्रले ३ सांसद पाउँदा बाँकी रहेका दुई सांसदको फाइदा भने राप्रपाले उठाउने छ ।

प्रदेशसभा समानुपातिकतर्फको अन्तिम बन्दसूची हेर्दा राप्रपाबाट यसपटक गोविन्दराज खनिया रा सुशिलादेवी सापकोटा थापाको सम्भावना बढि देखिन्छ । समानुपातिक प्रणालीमा एकमात्रै सांसद पाउने अवस्था आयो भने महिलालाई अगाडि बढाउने विश्वव्यापी प्रचलन छ । गण्डकीमा अघिल्लोपटक समानुपातिकबाट एकएक सिट जितेका नयाँशक्ति र जनमोर्चाले आदिवासी÷जनजाती समुदायका महिलालाई प्रदेश सांसद बनाएका थिए ।

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिक २०७९ अनुसार पनि गण्डकीमा बन्दसूची बुझाउँदा पहिलो क्लष्टरमा आदिवासी जनजाती र दोश्रो नम्बरमा खसआर्य बुझाउनुपर्छ । यो प्रावधान अनुसार राप्रपाबाट आदिवासी जनजाती महिलाको एक नम्बर सूचीमा रहेकी सुशिलादेवी सापकोटा थापाको प्रबल सम्भावना छ । थापा नवलपुरकी हुन । दुइवटा सांसद पाएको खण्डमा खसआर्यबाट गोविन्दराज खनियाँ प्रदेश सांसद बन्नेछन । खनियाँ चाहिँ लमजुङका हुन । राप्रपाले यी दुई सांसदसहित गण्डकी प्रदेशमा इन्ट्री गर्ने सम्भावना देखिएको छ ।

हालसम्मको समानुपातिक मतपरिणाम हेर्दा अघिल्लोपटक एक सांसद पाएको जनमोर्चा यसपटक १४ हजार ५४९ मत ल्याएर छैटौँ नम्बरमा पुगेको छ । नयाँशक्ति भन्ने पार्टी यसपटक छैन । तर, उसको ठाउँ भने हाम्रो नेपाली पार्टीले लिएको छ । यो दलले हालसम्म १७ हजार ६३२ मत पाएको छ ।

एमाले कांग्रेस खस्किँदा फाइदामा राप्रपा, माओवादीलाई तुलनात्मक रुपमा कम क्षति ।

स्याङजा २ का प्रदेशसभा क्षेत्रको मत गणना बाँकी नै छ । तर, त्यो मत गणना भइसकेतापनि एमाले, कांग्रेसले चाहिँ अघिल्लो निर्वाचनको तुलनामा कम मत पाउने निश्चित भइसकेको छ । ०७४ र ०७९ को समानुपातिक मतको तुलना गर्दा यी दुवै दल पछाडि परेका छन ।

०७४ मा तीन लाख ७३ हजार ५०१ मतसहित पहिलो बनेको एमालेले समानुपातिबाट १० सांसद पाएको थियो । अहिले भने एमालेले तीन लाख ११ हजार ३८९ मत मात्रै पाउन सकेको छ । अघिल्लो निर्वाचनमा भन्दै झन्डै ६२ हजार मत गुमाएको एमालेले स्याङजा गनिसक्दा पनि त्यसको हाराहारीमा पुग्दैन ।

समानुपातिकको दोश्रो ठुलो दल कांग्रेसको हालत पनि उस्तै छ । अघिल्लो पटक गण्डकीमा समानुपातिबाट ९ सांसद पाएको कांग्रेसले तीन लाख ६४ हजार ७९७ मत पाएको थियो । त्यो मत एमालेको भन्दा ९ हजार कम थियो ।

अहिले भने कांग्रेस एमालेभन्दा २५ हजार मतले पछाडि परिसकेको छ । कांग्रेसले हालसम्म दुई लाख ८८ हजार ३७३ मत पाएको छ । अघिल्लो निर्वाचनको तुलनामा कांग्रेस हालसम्म ७६ हजार मतले पछि परेको छ । यसले के देखाउँछ भन्दा समानुपातिकमा एमालेको भन्दा कांग्रेसको मत ट्रान्सफर भएको छ ।

तुलनात्मक रुपमा माओवादीले भने समानुपातिकको मत अरु दलले भन्दा जोगाएको देखिन्छ । हुनत, अघिल्लोपटक २४ हजार ६२४ मत ल्याउने नयाँशक्ति पार्टीको मत पनि माओवादीमा जोडिनुपर्ने हो । किनभने बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँशक्ति अहिले नेपाल समाजवादी पार्टी बनेको छ । नेसपाका उमेदवार फणिन्द्र देवकोटा हँसिया हथौडा चुनाव चिन्ह लिएर गोरखाबाट प्रदेशसभामा जितेका छन । चुनाव चिन्ह हँसिया हथौडा भएका कारण उक्त मत पनि माओवादीमा आउनुपर्ने हो । तैपनि अघिल्लो निर्वाचनमा एक लाख १९ हजार ५२८ मतसहित तेश्रो बनेको माओवादी अहिले पनि तेश्रो छ । हालसम्म उसले एक लाख १२ हजार २२१ मत पाएको छ । स्याङजाको मतगणना सकिइसक्दा केही हजार मत माओवादीमा थपिने देखिन्छ ।

गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले भने हालसम्म १४ हजार १३४ मत पाएर सातौँ बन्न पुगेको छ । नवलपुरबाट प्रदेशसभामा उठेका यो पार्टीका उमेदवार भने पराजित बनिसकेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->