आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कास्की कांग्रेसमा अन्तर्घातको चर्को आवाज

कास्की कांग्रेसमा अन्तर्घातको चर्को आवाज

टिकट नपाएकाहरु चुनावमा हिँड्न त सँगै हिँडे, तर भोट चाहिँ नहाल भनिदिए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७९, आइतबार

कास्की/ पहिलोपटक संसदीय निर्वाचन लडेका कास्की कांग्रेस सभापति किशोरदत्त बराल ढुक्क थिए, ‘गठबन्धन छ, स्थानीय तहको निर्वाचन पनि हाम्रैै फेभरमा छ, चुनाव जितिन्छ ।’

एउटा जिल्ला सभापतिले गठबन्धनबाट उमेदवार बनेका अन्य दलहरुलाई पनि यही ब्रिफिङ गर्दै आएका थिए । तर, कास्की १ को निर्वाचन मतपरिणामले भने त्यो पुष्टि गरेन । बरु स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका कुनै पनि हालतमा कांग्रेसले पाउनुपर्छ भन्नको लागि कास्की कांग्रेसको नेतृत्व गर्दै गएका उनै बराललाई सभापति शेरबहादुर देउवाले दिएको जवाफ चाहिँ पुष्टि भयो ।
देउवाले भनेका थिए, ‘कास्की कांग्रेसमा सामुहिकता छैन, अन्तर्घात गर्छन र आफ्नै उमेदवार हराउँछन ।’

टिकटमा आकांक्षा राख्ने, आफूले टिकट नपाएर अर्को आकांक्षीले टिकट पाएपछि चाहिँ यसले चुनाव जित्यो भने हामीभन्दा माथि पुग्छ भनेर आफ्नै उमेदवार हराउन लाग्छन भन्ने देउवाको उक्त संकेत सायद किशोरदत्त बरालले पनि बुझेहोलान ।उनै किशोरदत्त सभापति रहेको कास्की कांग्रेसले समिक्षा पनि गर्ला । तर, अन्तर्घात भएको र आफ्नै उमेदवारलाई हराउनुपर्छ भनेर जिल्लाका पूर्व पदाधिकारी नै लागेको भन्दै बिहिबार साँझ कास्की कांग्रेसका कार्यकर्ताहरु नाराबाजीमा उत्रिए ।

पोखरा १३ बाँझापाटनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका पूर्व सभापति किशोरदत्त बरालको घरबाहिर नाराबाजी गरेका हुन । उनी पनि कास्की १ बाट टिकटका आकांक्षी थिए । तर, टिकट चाहिँ वर्तमान सभापति किशोरदत्त बरालले पाए । त्यसपछि नै केसीले बराललाई हराउन सक्रिय भएर लागेको आरोपसहित कास्की कांग्रेसका कार्यकर्ता नाराबाजीमा उत्रिएका हुन । कास्की १ मा किशोरदत्त बराल र १ (ख) मा दीपक गुरुङ माइला एमालेका उमेदवारसँग पराजित भइसकेका छन ।दुवै उमेदवारलाई हराउन लागेको भन्दै केसीविरुद्ध सामाजिक सञ्जालमा पनि आक्रोश पोखिएको छ ।

कांग्रेस मादी गाउँपालिकाका सभापति यामबहादुर गुरुङले सामाजिक सञ्जालमा नै पूर्व सभापति केसीले किशोरदत्त बराललाई हराउनुपर्छ भनेर आफूलाई घरमा नै बोलाएर भनेको आरोप लगाएका छन ।
उनले फेसबुकमा लेखेका छन, ‘त्यो बेला चुप लागियो, जो जसरी बोलेपनि चुनाव जिताउनु थियो । तर, अहिले भन्नैपर्छ, मलाई घरमै बोलाएर १ घण्टासम्म किशोरलाई हराउनुपर्छ जित्न दिनुहुँदैन भनेर पढाएको । त्यस्तो सयौँलाई भनेको रहेछ । यसको तात्पर्य दुवै उमेदवार हराउनु मैले बुझेँ । साथीहरुलाई सतर्कता अपनाउन भने । तर, साथीहरु त्यस्ता अपराधीको चंगुलमा यसरी फसे कि, उम्कने बाटो नै पाएनन । नतिजा अहिले हाम्रो सम्मुख छ । त्यो अपराधी, पार्टीहित विपरित लाग्ने व्यक्ति अरु कोही नभई कृष्ण केसी भन्ने मान्छे हो । यो सबैलाई थाहा छ, सबैलाई थाहापनि हुनुपर्छ । कृष्ण केसी मुर्दावाद ।’

रामचन्द्र पौडेल निकट केसी अघिल्लो निर्वाचनमा प्रदेशसभामा पराजित भएका थिए । मादी गाउँपालिकामा प्रभाव राख्ने केसीले एमालेसँग पैसा खाएर आफ्नै उमेदवार हराउन लागेको आरोप छ ।
उनको घरबाहिर गरिएको नाराबाजीमा कार्यकर्ताहरुले भनेका छन, ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, कृष्ण केसी पार्टी छोड, अन्तर्घातीलाई कारवाही गर ।’कार्यकर्ताहरुले उनलाई एमालेसँग ७० लाख लिएर आफ्नै उम्मेदवार हराएको समेत आरोप लगाएका छन । आफ्नै पार्टीका कार्यकर्ताहरुको यो गम्भीर आरोपका बिच पूर्वसभापति कृष्ण केसी भने काठमाडौंमा छन । जिल्ला सभापति किशोरदत्त बराललाई भोट नहाल्न भनेको कुरा उनले घुमाउरो पारामा स्वीकारे ।

उनले भने,‘पार्टीभित्रको टिकटक पाउने आकांक्षी म पनि थिएँ । तर, टिकट मैले नपाएर वर्तमान सभापतिले पाइसकेपछि पार्टीको निर्णयलाई शिरोधार्य गर्दै अगाडि बढेको हुँ । तर, चुनाव हारेपछि मेरो घरमा ढुंगामुढा गरिएको छ । कार्यकर्ताहरुले लगाएको वैचारिक आरोप फेस गर्न म तयार छु । तर, जुन आर्थिक लाभ लिएर उमेदवार हराएको भनेका छन, त्यसको चाहिँ प्रमाण दिनुपर्छ ।

मैले मादी गाउँपालिकाका सभापति यामबहादुर गुरुङलाई घरमा बोलाएकै हो । घरमा बोलाएर के भनेको हुँ भन्दाखेरि, हाम्रो जो सभापति हुनुहुन्छ, उहाँ उमेदवार पनि हुनुहुन्छ । उहाँ उमेदवार मात्रै होइन, समग्र गठबन्धनको नेता पनि हो । तर, मैले के सुनेँ भन्दा उहाँले आफूलाई मात्र भोट माग्ने र त्यसका लागि एमालेसँग पनि मत क्रस गर्ने गरि छलफलमा हुनुहुन्छ । यही कुरा मैले यामजीलाई बताएको हुँ । यदि यो सत्य हो भने कांग्रेसभित्र पनि गुट छन, हाम्रो सहयोग किशोरजीलाई हुँदैन भनेर मैले भनेकै हुँ । यो कुरा उहाँले फेसबुकमा लेख्नुभएछ, नलेखेको भएपनि मैले पार्टीको बैठकमा भन्नेथिएँ । मैले किशोरजीको हकमा त्यस्तो भनेतापनि दीपक गुरुङ माइलालाई कुनै हालतमा जिताउन लाग्नुपर्छ भनेर भनेको हुँ ।

जसरी मलाई उमेदवार हराउन लाग्यो भनेका छन, त्यो शतप्रतिशत गलत र झुट हो । एउटा गठबन्धनको नेताले एउटा चुनाव हार्दाखेरि जिल्लाका बाँकी क्षेत्रका उमेदवारहरुको बारेमा चाहिँ किन सोच्नुभएन । ती पराजयको जिम्मा पनि उहाँले नै लिनुपर्छ ।

कास्की १ को प्रतिनिधीसभा र प्रदेशसभा मात्रै होइन, प्रदेश २ को प्रतिनिधीसभा र प्रदेश (क), कास्की ३ को प्रतिनिधीसभा र प्रदेश (क) पनि गठबन्धनका उमेदवारले पराजय भोगेका छन ।
यी सबै क्षेत्रमा हार्नुको कारण अन्तर्घात नै भएको ठहर कार्यकर्ताहरुको छ ।

कास्की २ (क) मा गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने उमेदवार थिए । आफ्नो उमेदवार नभएपछि कांग्रेसका मतदाताहरुले नै राप्रपामा भोट हालिदिए ।
स्थानीय तहको मतपरिणाम र पाँच दलको गठबन्धनका कारण ३ प्रतिनिधीसभा र ६ वटै प्रदेशसभा जित्ने आँकलन गठबन्धनको थियो । तर, कास्की १ मा जस्तै अन्तर्घातका स्वरहरु अहिले अरु क्षेत्रमा पनि
सुनिन थालेका छन ।गठबन्धनका भएतापनि प्रतिनिधीसभाका सबै उम्मेदवार एमालेले जित्यो भने प्रदेशका ६ मध्ये २ वटा क्षेत्रमात्र जोगाउन सक्यो । प्रदेशका क्षेत्र पनि कांग्रेसका उमेदवार भएका क्षेत्रमात्रै जितेका छन ।

हार व्योहोरेपछि समिक्षा, गुट, उपगुट, अन्तर्घात र आक्रोशमा गठबन्धन रुमल्लिरहँदा एमालेले भने विजय जुलुस निकालेको छ ।गठबन्धनभित्र कांग्रेसलाई लाग्ने गरेको आरोप हो, ‘कांग्रेसले आफ्ना उमेदवार भएनन भने भोटै हाल्दैनन, उमेदवार पाएपछि गुट हेर्छन ।’ कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाट पनि यो कुरा सत्य रहेको स्विकार गर्छन । गठबन्धनका उमेदवारले पाएको मतपरिणाम हेर्दा पनि आफूले त्यस्तो पाएको उनले बताए ।

गठबन्धनले सबै ठाउँमा जित्न नसक्नुलााई उनले भूगोल, उम्मेदवार छनोट, रणनीति, व्यवस्थापन लगायतका क्षेत्रबाट हेर्नुपर्ने र त्यसमा कमजोरी भएको उनी बताउँछन ।‘गठबन्धनभित्र एउटै वडाका दुइवटा साथीहरुले टिकट पाउनुभएको छ’,उनले भने ।

उनले गरेको संकेत कास्की १ र ३ मा हो । वडा नम्बर १३ मा बस्ने जिल्ला सभापति किशोरदत्त बराल र सोही वडाका दीपक गुरुङ माइलाले कांग्रेसबाट टिकट पाएका थिए । दुवै उम्मेदवारले एउटै वडाबाट टिकट पाउँदा भूगोलको असन्तुष्टि देखिएको उनको भनाई छ । यता, क्षेत्र नम्बर ३ मा पनि रामजी बराल र प्रकाश बराल एउटै वडाका हुन् ।

यो क्षेत्रबाट उनै कृष्ण केसी आकांक्षी थिए । टिकट पाउनुपूर्व कास्की १ मा कृष्ण केसीले पाए जित्ने चर्चा समेत थियो ।

स्थानीय तहमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले पोखराको मेयरको टिकट पाए र उनले जिते । उपमेयर पाएको कांग्रेसकी कोपिला रानाभाट चाहिँ पराजित बनेकी थिइन । कास्की २ अहिले पनि समाजवादीको भागमा प¥यो । उमेदवार श्रीनाथ बरालले स्थानीय तहमा झैँ भोट आउने र चुनाव जितिनेमा विश्वस्त थिए ।तर, उनी प्रतिष्पर्धामा तेश्रो भए । असन्तुष्ट मतदाताले श्रीनाथलाई भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कँडेललाई बढि भोट दिए ।

सचिव रानाभाट चाहिँ उमेदवार छनोटमा गल्ती हुनुपनि चुनाव हार्नुको कमजोरी रहेको बताउँछन ।गण्डकी सरकारले चालु आर्थिक वर्षमा ल्याएको बजेटको निकै विरोध भयो । चुनावी सम्मुखमा आएर कर घटाउने निर्णयमा निर्वाचन आयोग बाधक बन्यो । एकै वर्षमा ३२८ प्रतिशत कर बढेको भनेर चर्को आलोचना भइरहँदा उनै गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराललाई गठबन्धनले कास्की ३ मा अगाडि बढायो । तर, फराकिलो अन्तरका साथ एमालेका दामोदर वैरागीसँग पराजित हुन पुगे ।

बराल हार्नुको एउटा कारण गण्डकी प्रदेश सरकारले गरेको करमा बढोत्तरी पनि रहेकोगठबन्धनका नेताहरुको भनाई छ । यसबाहेक त्यसमाथि माओवादीभित्रै पनि ठूलो असन्तुष्टि थियो । शहीद परिवारकी अनिता भूर्तेलले त बागी उम्मेदवारी नै दिएकी थिइन । जसको फाइदा एमालेलाई हुन पुग्यो । घण्टीका उम्मेदवारले पनि मत काटे ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->