बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

जिम्मु मुस्ताङ् बासिन्दाको बाँच्ने आधार हो । हिउँदमा बेसी झरेका बेला व्यापार नगरे बर्खामा छाक टर्दैन ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७९, बिहिबार

बागलुङ/ नेपाल–चीन सिमा नजिकै उनको सानो घर छ । माटोको शहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा उनको गाउँ पुगिन्छ ।
बर्खाका केही महिना उनको परिवार त्यही घरमा बस्छ । तर, हिउँदमा गाउँ बसिसक्नु हुन्न । मंसिर महिना नलाग्दै २८ वर्षीय कर्म भोटे परिवारसहित बेसी झरेका छन् । मनभरी लोमान्थाङ गाउँपालिका–२ मा रहेको आफंैले आर्जेको घर छ । तर, हिउँले पुरिने गाउँमा रहेको उनको घर अब फागुन नलाग्ने बेलासम्म खाली रहन्छ ।

गाउँमा हुँदा पनि उनको परिवारको काम खाने र बस्ने हो । सिंचाइ र खेतीयोग्य जमिनको अभावमा खेती किसानी गर्न मन लागेपनि उनलाई त्यो अवसर छैन् । चांैरी पाल्न हिउँदमा गाउँमा बस्नै सकिँदैन । भोटे हिउँदभरी श्रीमतीसँगै व्यापार गर्छन् । बर्खाका महिनामा त्यही हिउँदको कमाइले परिवार पाल्छन् ।

भोटेको हिउँदको व्यापार जिम्मु हो । हिमालपारीको जडिबुटी बोकेर उनको परिवार बागलुङ बजार झरेको छ । प्लाष्टिकमा प्याकिङ गरिएको जिम्मु र खुल्ला जिम्मु बोकेर भोटे दम्पती बजार डुलिरहेको छ । त्यही जिम्मु उनीहरुको बाँच्ने आधार हो । ‘हिउँदमा बेसी झरेका बेला व्यापार नगरे बर्खामा छाक टर्दैन’, कर्म भन्छन् ‘पढ्ने उमेरकी सानी छोरी पोखराको एक विद्यालयमा होस्टल राखेर कान्छी छोरी बोकेर व्यापारमा हिँडेका छौँ ।’

भोटे परिवार मात्रै होइन चिसो छल्न उपल्लो मुस्ताङका अधिकांश सर्वसाधारण बेसी झर्ने गरेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको भोटेले बताए । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजित लगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।
‘हाम्रो रहर होइन, बाध्याता हो । घर छोडेर हिँडेका हुनखानेलाई त समस्या छैन्, तर हामीलाई दिनभर घुमेर व्यापार नभए, साँझ खान पाइँदैन्’, भोटेले भने ।

चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेसी झरेपछि गाउँ नै सुनसान बन्न थालेका छन् । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेसी झर्ने गरेको छैरो गाउँका पत्रकार भीम रसाइली बताउँछन् ।

चिसो मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छन् । उनीहरु अहिले बागलुङ पर्वत, कास्कीका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहेका छन् । अहिले उपल्लो मुस्ताङका अधिकांश नागरिक बेसी झरेको जनाउँदै उक्त क्षेत्र सुनसान रहेको रसाइलीले जानकारी दिए ।

यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा २ लाखदेखि ५ लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ । यो मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दाको पुरानै प्रचलन हो । पहिले सटही व्यापार गर्ने उनीहरु आजभोली नगदमा कारोवार गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->