पोखरा/ फिफा विश्वकप कतार २०२२ मा फ्रान्सले सानदार जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलको तेस्रो खेलमा फ्रान्सले पोल्याण्डमाथि ३—१ को सानदार जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित निकालेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा पोल्याण्ड सम्हालिन नसक्दा ३—१ को हार व्यहोर्दै घर फर्किएको छ ।
पहिलो हाफमा १ गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गरेको हो । पहिलो हाफको अन्त्य तिर फ्रान्सका ओलिभिएर जोनेथान जिरुडले कीर्तिमानी गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बन्दा पहिलो हाफमा १—० को अग्रता बनाउन सफल भएको हो ।

खेलको सुरुवाती समय फ्रान्सले लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नीले बल आफू पार हुन दिएनन् । २८ औं मिनेटमा फ्रान्सले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । ओलिभिएर जिरुडले खाली पोस्ट हुँदा समेत गोल गर्न सकेनन् ।
ओस्मान डेम्बेलेले दायाँ विंगबाट दिएको क्रसमा डिफेन्स लाइन र गोलरक्षक बिट भएका थिए । तर अनमार्क रहेका जिरुडले फार पोस्टमा बललाई खाली पोस्टको दिशा दिन सकेनन् ।
३५ औं मिनेटमा पोल्यान्डको लगातार तीन आक्रमणलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डरहरुले ६ यार्ड बक्सबाट रोके । बायाँ विंगबाट सुरु भएको आक्रमणपछि पेनाल्टी क्षेत्र भित्र पोल्यान्डले तीन पटक रिबाउन्डमा प्रहार गर्न पाउँदा पनि फ्रान्सविरुद्ध अग्रता लिन सकेन ।
पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरे । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सको उत्कृष्ट काउन्टर अट्याकमा अग्रता दोब्बर पारे । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारले सहजै जाली चुम्यो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपेपछि फ्रान्सले सहज जित पक्का गर्यो । मार्कस थुरामको पासलाई पेनाल्टी क्षेत्रभित्र रोकेका एमबाप्पेले कठिन एंगलबाट सुन्दर गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार सेचेज्नीले बचाउन सकेनन् ।

निर्धारित समय सकिएपछि थप गरिएको अतिरिक्त समयको अन्त्यमा पोल्याण्डले पेनाल्टिको अवसर प्राप्त ग¥यो । भिएआरको माध्यमबाट पेनाल्टि प्राप्त गरेको हो ।
लेवान्डोस्कीको पेनाल्टि गोलरक्षक ह्युगो लोरिसले अघि बढ्दै बचाउ गरेपछि पुनः पेनाल्टि प्रहार गर्न परेको थियो । दोस्रो प्रहारमा उनले दायाँ तर्फ प्रहार गर्दै सहजै जाली चुमाए लगत्तै खेल सम्पन्न भएको थियो ।





