पोखरा/‘गण्डकीमा एमालेको सरकार बन्दैन, गठबन्धनका कांग्रेस र माओवादी मिले अरु कोही चाहिँदैन’ भन्ने बुझेर नै बहालवाला युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन । गठबन्धनका पाँच दलमध्ये नेकपा एसले गण्डकीमा नवलपुर २ (ख) बाट उम्मेदवार उठाएको थियो । समाजवादीबाट उठेका गोपाल खनाल एमालेका लक्ष्मण पाण्डेसँग पराजित हुन पुगे ।
उक्त पार्टीबाट गण्डकीमा समानुपातिकबाट पनि कोही नआउने निश्चित भएपछि मनाङेले बुझेर नै समाजवादी प्रवेश गरेका हुन । स्वतन्त्र उमेदवारी दिएका मनाङेलाई आफ्नो पक्षमा ल्याउन मनाङ (ख) मा एमाले र गठबन्धन कसैले पनि उम्मेदवार उठाएनन । फलतः उनी निर्विरोध सांसद बन्न पुगे । प्रदेशका अन्य ३५ क्षेत्रमा चुनावी कार्यक्रम चलिरहँदा मनाङे कहिले रामचन्द्र पौडेलको कार्यक्रममा देखिए त, कहिले निर्वाचनमा १५ लाखको रक्सीमा मात्र खर्च हुन्छ भन्ने अभिव्यक्ति दिएर निर्वाचन आयोगबाट २५ हजार रुपैयाँसहित दण्डित पनि भए ।
तर, उनले प्रत्यक्षतर्फको मतपरिणाम हेरिरहेका थिए । एमाले प्रत्यक्षमा १२ सिटमा खुम्चिएको र कांग्रेस एक्लैले गण्डकीमा १८ सिट जितेको छ । माओवादीले ५ सिट जित्दा उनले स्वतन्त्रबाट चुनाव जितेका थिए । समानुपातिक मतपरिणाम आइनसकेको अवस्थमा उनले गण्डकीमा आफूभन्दा पनि माओवादी निर्णायक हुने देखे । अहिले कांग्रेस र माओवादीसँग प्रत्यक्षमा २३ सिट छ । समानुपातिकमा कांग्रेस ९ र माओवादीको ३ सिट आउँदा गठबन्धनलाई प्रष्ट बहुमत पुग्ने देखिन्छ ।
त्यसको हिसाब गरेर नै उनले गण्डकीमा प्रदेशसभामा क्लिनस्विप बनेको दल नेकपा एकीकृत समाजवादी रोजे । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको हातबाट माला पहिरिएर समाजवादी प्रवेश गर्दैगर्दा उनको साक्षी जनमत पार्टीका अध्यक्ष सिके राउत बसेका छन । बाराबाट चुनाव जितेका किसान श्रेष्ठ सहित समाजवादीका अन्य नेताहरुको उपस्थितीसहितको तस्बिर र विज्ञप्ती सार्वजनिक गर्दै उनले आफू समाजवादी प्रवेश गरेको बताएका छन ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘…अतः मेरो यस पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी ‘एकिकृत समाजवादी’ रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवी, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मिति देखि नेपाल कम्युनिष्ट पार्टी ‘एकिकृत समाजवादी’मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने सबैमा हार्दिक अनुरोध गर्दछु ।’
यो त भयो, समाजवादीमा प्रवेशबारेको स्पष्टिकरण । विज्ञप्तीमा नै मनाङेले उल्लेख गरेका छन, ‘…परिवर्तित परिस्थितिमा एक्लै रहनु भन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु ।’
गण्डकीका १२ वटा मन्त्रालय गठबन्धनकै सरकार रहेको स्थितीमा कांग्रेस र माओवादीको भागबण्डा हुन्छ । त्यो भागबण्डाबाट आफू बाहिरिनुपर्ने विषयलाई उनले परिवर्तित परिस्थिती भनेर संकेत गरेका छन । यसको अर्थ, नेकपा एसमा प्रवेश गरेपछि कम्तीमा एउटा मन्त्रालय निश्चय पाउन सकिन्छ र त्यसमध्ये जोडबल गरेको खण्डमा मालदार मन्त्रालय लिने मनाङेको योजना छ ।
मन्त्री बन्ने उनको लालसा यसअगाडि पनि नदेखिएको होइन ।
संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै मन्त्रालयको संख्या बढाएर मनाङेलाई मन्त्री बनाउँदै आफ्नो पक्षमा राख्न खोजेका थिए । सर्वोच्चले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि गण्डकीमा सुरु भएको सरकार फेरबदलमा उनै मनाङे निर्णायक हुने ठानेर पृथ्वीसुब्बाले उनलाई मन्त्री बनाएका थिए । कारण, त्यतिबेला एमाले एक्लैसँग २७ सांसद थिए । जनमोर्चाका तीन जना र दीपक मनाङेलाई मिलाउँदा आवश्यक बहुमत (३१) पुग्ने र सरकार जोगिने ठान्दा स्वतन्त्रबाट निर्वाचित मनाङे मन्त्री बन्न पुगे ।
पछि जनमोर्चा र दुई सांसद रहेको नेपाल समाजवादी पार्टी पनि गठबन्धनको पक्षमा लागेपछि एमाले एक्लो बन्यो । गठबन्धनसँग कांग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनमोर्चाका ३ र नेसपाका २ सांसद गरि ३१ सांसदको अंक थियो । पछि जनमोर्चाका तत्कालीन संसदीय दलका नेताले कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनाउने बेलामा असहयोग गरेपछि उनको पद गुम्यो । गठबन्धनलाई स्पष्ट बहुमतको लागि मनाङेलाई पनि ल्याउने कसरत पहिल्यैदेखि भने नभएको होइन ।
पछि मनाङेले गठबन्धन सरकार बन्दा पनि मन्त्री पाउने निश्चित भएपछि उनले पृथ्वीसुब्बाको क्याबिनेटबाट राजीनामा दिए ।
मनाङे अहिले पनि मन्त्री छन र निर्वाचित भइसकेका छन । गठबन्धनको मन्त्री बनेतापनि उनले सार्वजनिक रुपमा नै आफू एमालेसँग निकट रहने बताएका थिए । तर, एमालेले अपेक्षित मतपरिणाम ल्याउन नसकेपछि गठबन्धनको घटक एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई मनाङेले रोजेका छन ।
अघिल्लो निर्वाचनमा मनाङ (ख) बाट एमाले समर्थनमा चुनाव जितेपछि मनाङे ११ असार २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरे । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद मनाङेको प्रवेशसँगै ६० सदस्यीय प्रदेश सभामा नेकपाको पक्षमा ४० सदस्य पुगेको थियो ।
पछि नेकपाको मुद्दामा सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदियो । त्यतिबेला एमाले एक्लैले २७ सिट जितेको थियो । तीनजना सांसद रहेको जनमोर्चाको समर्थन पृथ्वीसुब्बा सरकारलाई नै थियो । त्यस्तो अवस्थामा बहुमतका लागि आवश्यक १ सिट मनाङे भए पुग्थ्यो । तर, पृथ्वीसुब्बाले सरकार जोगाउने बेलामा आफैले पार्टी प्रवेश गराएका मनाङेले धोका दिए । उनले आफू स्वतन्त्र रहेको बताउन थाले ।
२ तिहाई बहुमत पुग्ने भएकाले नेकपालाई समर्थनमात्र गरेको तर पार्टी प्रवेश गरेको कुनै पनि आधिकारिक सदस्यता रसिद आफूसँग नभएको बताउँदै एमाले कित्ता छाडेर उनले गठबन्धनलाई रोज्न पुगे । उनलाई फकाउन गठबन्धनले मन्त्रीपद निश्चित गरिदिएको थियो ।
मन्त्री पद नजाने भएपछि नै उनले पृथ्वीसुब्बा गुरुङको मन्त्रिपरिषदबाट राजीनामा दिएर गठबन्धनमा मिसिएका हुन । गठबन्धनमा पनि उनले सुरुमा भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी गरेका थिए । तर, पछि उनलाई युवा तथा खेलकुद मन्त्रालयकै जिम्मेवारी दिइयो ।





