काठमाडौं / लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो ।
तनावपूर्ण बनेको क्वार्टरफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज नायक बनेपछि नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
कतारको लुसैल रंगशालामा सम्पन्न तनावपूर्ण खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि अर्जेन्टिना र नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकिएका थिए । पेनाल्टीमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले दुई प्रहार बचाए । 

मार्टिनेजले नेदरल्यान्ड्सबाट पहिलो प्रहारका लागि आएका कप्तान भर्जिल भान डाइग र दोस्रो प्रहारका लागि आएका स्टेभन बर्घुइसको प्रहार बचाए । नेदरल्यान्ड्सका टेउन कुपमेनर्स, वोउट विघ्रोस्ट र लुक डी यङले गोल गरे ।
यता अर्जेन्टिनाका कप्तान लियोनल मेसी, लियो पाराडेज, गोन्जालो मोन्सियल र लौटारो मार्टिनेजले गोल गरे । अर्जेन्टिनाका लागि चौथो नम्बरमा पेनाल्टीका लागि आएका एन्जो फर्नान्डेजको प्रहार भने बाहिरिएको थियो ।
त्यसअघि, खेलको ३५ औँ मिनेटमा नाहुल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
मेसीले नेदरल्यान्ड्सका पाँच रक्षकहरुको भिडबाट निकालेको सुन्दर बललाई मोलिनाले गोलमा परिणत गरेका थिए । विश्वकपमा मोलिनाको यो पहिलो गोल हो । यस्तै, विश्वकपमा मेसीको यो सातौँ असिस्ट हो । 
७३ औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई दोब्बर पारे । नेदरल्यान्ड्सका डेम्बेल डम्फ्राइजले आफ्नो १८ यार्ड बक्सभित्र क्षेत्रभित्र मार्कोस अकुनालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।
८३ औँ मिनेटमा वोउट विघ्रोस्टले गोल गर्दै नेदरल्यान्ड्सललाई २–१ मा फर्काएका थिए । यस्तै, खेलको इन्जुरी टाइमको अन्तिम मिनेटमा विघ्रोस्टले नै गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्किएको थियो । इन्जुरी टाइमकओ पनि अन्तिम मिनेटमा अर्जेन्टिनाको १८ यार्ड बक्सबाहिरबाट नेदरल्यान्ड्सले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा टेउन कुपमेनर्सले चतु¥याइँपूर्वक निकालेको पासमा विघ्रोस्टले बललाई जालीको दिशा दिएका थिए । नेदरल्यान्ड्सले अन्तिम मिनेटमा बराबरी गोल निकालेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
निक्कै तनावपूर्ण बनेको खेलभर १६ वटा पहेँलो कार्ड देखाइएको थियो । यो जितसँगै अर्जेन्टिनाले फाइनलका लागि साविक उपविजेता क्रोएसियासँगको भेट पक्का गरेको छ ।
यस अघि पहिलो क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसियाले अन्तिम–४ मा स्थान पक्का गरेको थियो । अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् ।
पेनाल्टी सुटआउट ब्राजिललाई ४–२ ले पराजित गर्दै शुक्रबार साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेट, इन्जुरी समय र अतिरिक्त समयमा क्रोएसिया र ब्राजिल १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जसमा ब्राजिलका रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाउँदा मार्किन्होसको प्रहार पोस्टमा लागेर फर्कियो ।
क्रोएसियाका ब्रुनो पेट्कोभिच, लोभ्रो मजेर, लुका मोड्रिच र मिस्लभ ओर्सिचले गोल गरे । ब्राजिलका कासिमिरो र पेर्ड्रोले गोल गर्दा रोड्रिगो र मार्किन्होसको प्रहारले जाली चुम्न सकेन ।
त्यसअघि खेलमा अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाएका थिए ।
नेइमारले क्रोएसियाका एक रक्षक र गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । यो गोलसँगै नेइमारले ब्राजिलबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरे । नेइमारले पेलेको ७७ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।





