पोखरा/ समानुपातिकतर्फबाट गण्डकीका ६ जनाले संघीय संसदमा प्रवेश पाएका छन् । एमालेले गण्डकीबाट बागलुङका देविप्रसाद भट्टचन र गोरखाका एकनाथ ढकाललाई सांसद बनाएको छ । नेपाली कांग्रेसको तर्फबाट कास्कीका जीवन परियार, माओवादी केन्द्रबाट गोरखाका हितराज पाण्डे र पहिलो पटक संसद छिरेको राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका डा.ढाकाकुमार श्रेष्ठले सांसद हुने शौभाग्य पाएका छन् । उनी संसदके लागि नयाँ अनुहार हुन् ।
कांग्रेस छाडेर एमाले प्रवेश गरेसँगै देवीप्रसाद भट्टचनलाई एमालेले जनजाति कोटाबाट समानुपातिक सूचीमा पहिलो नम्बरमा राखेको थियो । प्रभु ग्रुपका अध्यक्षसमेत रहेका उनी सांसद बन्नकै लागि एमलो प्रवेश गरेका थिए । एकनाथ ढकाललाई भने एमालेले खस आर्य कोटाबाट संसद पु¥याएको हो । परिवार दलबाट सांसद र मन्त्री बनेका उनी युनिभर्सल पिस फेडेरेसन (युपिएफ) का नेपाल प्रमुख हुन् । क्रिष्टिचन धर्मको प्रचार गर्ने उनी अहिले पनि परिवार दलको अध्यक्ष छन् । विवादास्पद छवि भएका उनलाई एमालेले समानुपातिक सूचीमा राखेपछि विवाद भएको थियो ।
नेपाली कांग्रेसले छानेका ३२ जनामध्ये कास्कीबाट जीवन परियारले ठाउँ पाएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका उनी दलित कोटाबाट संसद छिर्ने भाग्यमानी बनेका हुन् । कांग्रेसले उनको नाम दलिततर्फ एक नम्बरमा राखेको थियो । यसअघिको चुनावमा उनी गण्डकी प्रदेशसभामा पराजित भएका थिए ।
माओवादी स्थायी समितिका सदस्य रहेका हितराज पाण्डे माओवादीका त्यागी नेता मानिन्छन् । जनयुद्धमा छोरा गुमाएका उनी पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । प्रचण्डलाई आफ्नै चुनावी क्षेत्रमा बोलाउनुमा उनको पनि हात छ । पूर्वमन्त्री तथा गण्डकी इन्चार्जसमेत रहेका उनी खस आर्य कोटाबाट संघीय सांसद बनेका ह्ुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय संसद प्रवेश गरेका ढाकाकुमार श्रेष्ठ एमबीबीएस डाक्टर हुन् । पार्टी प्रवेश गर्नुअघिसम्म उनी यहाँको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिडकालीन समयमा खुवै सक्रिय थिए । अहिले उनको पोखराको पृथ्वीचोकमा आफ्नै क्लिनिक छ । उनी जनजाति कोटामा परेका हुन् ।
शिव नेपाली खासै चर्चामा नआएका व्यक्ति हुन् । सुशासन चाहने हुट्हुटीले रास्वपा प्रवेश गरेका शिव पोखराको मियाँपाटनमा बस्छन् । ट्रान्सपोर्टको काम गर्ने उनी लो प्रोफाइलमै भए पनि दलित कोटाबाट संसद छिर्ने भाग्यमानी हुन् । डिजिटल डेमोक्रेसीको नाममा गरिएको इ–भोटिङले उनलाई चिट्ठा परेको रास्वपाका कार्यकर्ताहरु नै बताउँछन् ।





