आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

समानुपातिक सांसदको विवादले राप्रपाका महामन्त्री र उपाध्यक्षबिच चर्काचर्की, कास्की कार्यालयमा तालाबन्दी र तोडफोड

समानुपातिक सांसदको विवादले राप्रपाका महामन्त्री र उपाध्यक्षबिच चर्काचर्की, कास्की कार्यालयमा तालाबन्दी र तोडफोड


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७९, सोमबार

पोखरा/ समानुपातिक सांसद चयनको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद निम्तिएको छ । पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ । प्रदेश अध्यक्ष पञ्चराम गुरुङको तस्बिरमा तोडफोड गरि भुइँमा फ्याँकिएको छ ।
राप्रपाले समानुपातिक सांसदको सूची शनिबार अबेरमात्रै तय ग¥यो । प्रतिनिधीसभा र अन्य ६ प्रदेशमा समानुपातिक सांसद बन्नेहरुको नाम टुंगिइसक्दा पनि गण्डकी प्रदेशसभामा कसलाई पठाउने भन्ने विषयलाई लिएर उपाध्यक्ष र महामन्त्रीका बिचमा चर्काचर्की नै प¥यो ।

अघिल्लो निर्वाचनको तुलनामा राप्रपाले यसपटक चारगुणा मत बढाएर प्रदेश समानुपातिकमा झन्डै ६० हजार मत पाएको छ । यो मतबाट राप्रपाले गण्डकीमा दुइवटा सांसद पाएको छ । एउटामात्रै सांसद पाएको खण्डमा महिला र गण्डकीमा चाहिँ जनजाती क्लष्टर अगाडि भएका कारण नवलपुरबाट सुशिलादेवी सापकोटा (थापा) सांसद बन्ने सम्भावना थियो । तर, गण्डकीमा राप्रपाले दुई सिट पाउँदा प्रदेश अध्यक्ष पञ्चराम गुरुङको इन्ट्री भयो । जसले गर्दा सुशिलादेवी पनि आउट हुन पुगिन । उनको ठाउँमा विन्दु पहाडी भित्रिइन । खस आर्यबाट महिलालाई राख्दा खस आर्यकै पुरुषतर्फको एक नम्बरमा रहेका गोविन्दराज खनिया पनि बाहिरिए ।

राप्रपामा विवाद हुनुको मुख्य कारण नै यही हो । एउटामात्र सिट पाउँदा जनजाती महिलातर्फबाट सांसद बन्ने भएतापनि दुइवटा सिट पाउँदा राप्रपामा चलखेल हुन पुग्यो ।
राप्रपाका महामन्त्री धवलशमशेर राणा समानुपातिकको बन्दसूची अनुसार नै अगाडि बढ्नुपर्नेमा जोड दिए । बन्दसूची अनुसार आदिवासी जनजातीका तर्फबाट महिला आउँदा खस आर्यबाट पुरुष सांसद बन्नुपर्ने थियो । तर, आदिवासी जनजातीबाट पुरुष सांसद र खसआर्यबाट महिलालाई अगाडि बढाउन खोजेपछि राणा र राप्रपाका मनोनित उपाध्यक्ष हेमजंग गुरुङबिच चर्काचर्की नै हुन पुगेको थियो ।

समानुपातिकबाट सांसद छान्नको लागि नवलपुर र कास्कीबाट राप्रपाको टोली डेलिगेसन समेत गएको थियो । राप्रपाले पाएको झन्डै ६० हजार मतमध्ये कास्कीबाट १७ र नवलपुरबाट १८ हजार मत पाएको थियो ।

सांसद चयन गर्दा यी दुई जिल्लाबाट गर्नुपर्ने भन्दा दबाब दिन यी जिल्लाबाट डेलिगेसन गएतापनि राप्रपा उपाध्यक्ष हेमजंग गुरुङको अडानका कारण उनका भान्जा पञ्चराम गुरुङ सांसद बनेको आरोप लागेको छ । उपाध्यक्ष मनोनित हुनुअगाडि हेमजंग गण्डकीका अध्यक्ष थिए । उनले नै आफ्ना भान्जा पञ्चरामलाई अध्यक्षको पत्र थमाएको राप्रपाका कार्यकर्ताहरुको आरोप छ । पञ्चराम गुरुङ स्याङजाका हुन । आफ्ना भान्जाका लागि अडान लिएका हेमजंग र महामन्त्री राणाबिच यही विषयमा विवाद भएको थियो ।
त्यसअगाडि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयमले गण्डकीका ११ जिल्लाकै राप्रपाका अध्यक्षहरुलाई टेलिफोन गरि सांसदमा कसलाई अगाडि भनेर सुझाव पनि लिएका थिए । ११ जिल्लामध्ये ८ जिल्लाका अध्यक्षहरुले खसआर्यबाट गोविन्दराज र आदिवासी जनजाती महिलाबाट सुशिलादेवी थापालाई नै बन्दसूचीको क्रमअनुसार अगाडि बढाउन सुझाव दिएका थिए ।
“उक्त सुझावको पनि बेवास्ता गरियो, विधी र पद्धतिलाई मानिएन ।” एक सदस्यले भने ।

उनका अनुसार राप्रपाका उपाध्यक्ष हेमजंगले विधानविपरित सचिवालय पनि चलाइरहेका छन ।

उनले भने, “महामन्त्रीहरुमध्येबाट नै एकजनाले हो सचिवालय हेर्ने, तर विधान नै मिचेर सचिवालयमा पनि उपाध्यक्ष हाबी हुनुभएको छ, अन्यत्र कहिँ विवाद नभएतापनि गण्डकीमा आफ्ना नातेदारलाई ल्याउन उहाँले अड्डी कस्नुभयो, यसले राप्रपाका अन्य इमानदार कार्यकर्ताहरुमा नकारात्मक सन्देश गएको छ ।”

यता, कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गर्न पुगेका छन ।
कास्कीका नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित ५ जना बन्द सूचीमा थिए ।
“सबैभन्दा बढि मत ल्याउने जिल्लालाई छाडेर अन्यत्रका व्यक्तिलाई सांसद बनाएको भनेर विरोध भएको हो ।” राप्रपा कास्की प्रवक्ता अरुण गिरीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->