पोखरा/ साउन ७ गते पोखरामा नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) को गण्डकी भेला थियो । भर्खरै खोलेको पार्टी विस्तार सँगसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा समेत होमिएको थियो । अध्यक्ष रवि लामिछाने देश दौडामा निस्कँदै थिए । पार्टीको त्यही भेलामा पुगेका थिए,पोखरा महानगरपालिका १३ भद्रकाली चोकका ४२ वर्षीय शिव नेपाली । पेशाले यातायात व्यवसायी रहेका उनको आर्थिक पाटो सामान्य छ ।
रवि लामिछानेको भाषण सुन्न पुगेका तिनै नेपाली अहिले रास्वपाबाट समानुपातिक सांसद् बनेका छन् । ‘साउन ७ गते रवि सरको भाषण सुन्न पुगेको थिएँ । एक्लै गएको थिएँ । साथी कोही थिएनन्’, उनले भने, ‘उहाँको(रवि) कुरा सुनिरहँदा म भावविह्वल पनि भएँ र यो पार्टीमा जानुपर्छ भन्ने सोच पनि राखेँ तर जाने बाटो थाहा थिएन ।’
उनी पार्टीको ठूलो तहमा बस्न चाहेनन् । वडा कमिटीमा बसेर काम गर्ने इच्छा जाहेर गरे । तर, नयाँ पार्टी,कार्यकता अपुग भएकाले नगर, जिल्ला, प्रदेश र केन्द्रीय समिति मात्रै थियो । समाजसेवीको पहिचान बनाउँदै गरेका नेपालीलाई महानगर कमिटीमा पनि जान मन थिएन् । तर, उनको नाम महानगर कमिटीमा सिफारिस भयो र सुरु भयो राजनीतिक यात्रा । राजनैतिक यात्रा गर्दैगर्दा र पार्टी चुनावमा होमिँदै गर्दा समानुपातिकतर्फ दलित कोटामा उनको नाम दोस्रो स्थानमा राखियोे । शिव स्वयंले आफू संघीय सांसद हुन्छु भन्ने सोचेकै थिएनन् ।
रवि नेतृत्वको पार्टीले समानुपातिकमा यति धेरै सिट पाउँछ भन्ने थाहा भएको भए,सायद उनको नाम दोस्रोमा पर्ने पनि थिएन ! तर, अचम्मै भयो । शिवको डमरु हैन, देशभर घण्टी बज्यो । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ देशकै चौथो ठूलो पार्टी बन्यो । रविले पोखराका शिवलाई तथास्तु भनिदिए । घण्टी बज्दा उनको पोल्टामा सांसद पदको प्रसाद झ¥यो । अनि, दलिततर्फ दोस्रो नम्बरमा नाम चढाइएका शिवले नै नसोचेको संसद यात्रा तय भयो । अब उनी माननीय भएका छन् । रास्वपाबाट संसद छिरेका उनले देशका मै हुँ भन्ने शीर्ष नेतासँगै संसदमा उभिने,देखिने र सुनिने अवसर पाएका छन् ।
स्नातकसम्मको पढाइ रहेका शिवको अनुभव भनेको विभिन्न सामाजिक क्लबसँगको आवद्धता मात्रै हो । राजनीतिमा उनी नयाँ नै छन् । यद्यपि,उनी पार्टीसँग जोडिन नखोजेका भने हैनन् । कांग्रेस, माओवादी र एमालेसम्मका पार्टीमा गोलबद्ध हुन खोजे पनि उनले भनेजस्तो भएन । रविको उदयसँगै उनले खोजेजस्तो ठाउँ भेटे । अहिले उनी रविकै भाषा बोल्छन् । भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँछन् । ‘हामी परिवर्तनका लागि आएका हौँ । ‘हाम्रो मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण गर्नु हो र राज्यका निकायको उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति सार्वजानिक गर्नु हो । देशले परिवर्तन खोजिरहेको छ । अब जनताले पनि विकल्प खोजिरहेका छन्’ उनले सुनाए, ‘देशमा सुशासनको खाँचो रहेको छ ।
यो अब हामीले गर्छौ । राजनीति र नीतिगत परिवर्तन गर्ने ठाउँ भने मेरा लागि नयाँ हो ।’ उनी पोखराको संगम क्लब, लायन्स क्लब अफ पोखरा आदर्शचौतारी, गण्डकी ट्रक यातायात व्यवसायी संघका निवर्तमान सचिवसमेत रहेका छन् । पोखरामै बसेर यातायात क्षेत्रमा लागेका उनी पुराना राजनीतिक दलहरुप्रति भने रविजस्तै तीतो पोख्छन् । उनी भन्छन्,‘ हाम्रा लागि कसैले केही गरेनन् । हामी आफै लड्नुपर्ने रहेछ । अबको समय भनेको परिवर्तनको समय हो ।’ उनले नसोचेको पद र अवसर पाएका छन् । अर्कालाई गाली गरेजस्तो आफैंले काम गर्न सजिलो छैन । अब उनी अर्कालाई दोष दिने ठाउँमा हैन कि नीति निर्माता बन्न पुगेका छन् । नीति निर्माण तहमा उनले हस्तक्षेपकारी भूमिका निभाउँछन् कि निभाउँदैनन् ? प्रतीक्षा गर्नुपर्ने भएको छ । र, यही विन्दुबाट उनको परीक्षा सुरु भएको छ ।





