पोखरा/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा २ (ख) बाट चुनावमा उमेदवार बनेका कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री भन्दै भोट मागिदिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने पाण्डे यसअगाडि राष्ट्रियसभामा संसदीय दलको नेतासमेत थिए ।
कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पाण्डेले फोनसम्पर्कमा भनेका थिए, “प्रचण्ड, नारायणकाजी र देउवाले मलाई मुख्यमन्त्री बनाउने भनेर मौखिक सहमति जनाइसक्नुभएको छ ।”
चुनाव जित्नासाथ पाण्डे काठमाण्डौमा नै डेरा जमाएर बसेका छन । प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सहित प्रदेशसभाका ६० मध्ये २७ सिट जितेको कांग्रेसको संसदीय दलको नेता सर्वसम्मत बन्न भने उनलाई गाह्रो छ ।
देउवा निकटका भनिएतापनि पाण्डेलाई देउवा खेमाकै अर्का नेता विन्दुकुमार थापाको सबैभन्दा बढि चुनौती छ । संसदीय दलको नेतामा दाबी गर्ने थापा गण्डकीका बहालवाला कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री समेत हुन । बालुवाटारमा सोझै प्रवेश पाउने र देउवासँग सिधा सम्पर्क भएका थापालाई समेत बालुवाटारले संसदीय दलको नेताको आश्वासन दिएको छ ।
०७४ मा वाम गठबन्धनविरुद्ध एक्लै लड्दा प्रदेश राजधानी कास्कीमा कांग्रेसको साख उनै थापाले जोगाइदिएका थिए । अर्कातर्फ प्रदेशसभामा पनि संसदीय उपसमितिमा बसेर प्रदेशको नाम र राजधानी टुंगो लगाएको जस उनै थापाले पाएका छन ।
कास्की २ (ख) बाट दोहो¥याएर चुनाव जितेका थापा पाँच वर्षअघि नीतिगत रुपमा प्रदेश सरकारले काम गरेको अनुभवन र आगामी पाँच वर्ष पूर्वाधार, संरचना र विकासमा जोड दिने एजेण्डासहित चुनाव जितेका थिए । थापाकै ठाउँबाट पूर्वमन्त्री कांग्रेसका कुमार खड्काले
आकांक्षा राखेतापनि उनले टिकट भने पाएनन । पार्टीलाई असहयोग गरेको भन्दै खड्कालाई तीन हप्ताअगाडि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरिदिएका थिए ।
उनीमात्रै होइन, मुख्यमन्त्रीमा इतर समूहबाट पनि दुइजनाको दाबी छ ।
खस आर्यको एक नम्बरमा बसेर पनि सांसद बन्न नपाएका कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको नाम लिएर नवलपुर १ (क) बाट निर्वाचित महेन्द्रध्वज जिसीले शर्मा नभएपछि आफू नै मुख्यमन्त्री बन्ने आकांक्षा देखाएका छन । उनी सशांक कोइराला निकट हुन ।
संसदीय दलको नेताको चुनाव लड्ने भन्दै उनी शिर्ष नेता भेट्न काठमाण्डौमा व्यस्त छन । निर्वाचित सांसदमध्येमा सबैभन्दा सिनियर भएको उनको दाबी छ ।
पार्टीभित्र शेखर–गगन समूह र रामचन्द्र–शशांक समूहको साझा उमेदवारको रुपमा जिसीले आफूलाई प्रस्तुत गरेका छन ।
मुख्यमन्त्री बन्ने आकांक्षा राखेका अर्का सांसद हुन भोजराज अर्याल । उनीपनि गत बुधबार नै काठमाण्डौ लागेका छन ।
“म अहिलेको परिस्थितिमा निर्वाचित सबै सदस्यहरु जो हुनुहुन्छ, उहाँहरुको ब्याकग्राउन्ड हेर्दा पार्टीमा सबैभन्दा लामो समय काम गरेको म हुँ । अनुभवको आधारमा पनि र वरिष्ठताको आधारमा म योग्य उमेदवार हुँ भन्ने लागेको छ ।” उनले भने ।
स्याङजा २ (क) बाट चुनाव जितेका अर्याल केन्द्रीय समितिमा भने एकपटक पनि प्रतिस्पर्धा गरेका छैनन ।
यी चार जना नेताले संसदीय दलको मुख्यमन्त्रीमा दाबी गरिरहँदा संसदभित्रको अंकगणित भने अर्कै छ ।
प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले उमेदवारी दिएका ३ ठाउँ गुमायो । पर्वत (ख) बाट ऋषिकेश तिवारी, कास्की १ (ख) बाट दीपक गुरुङ र स्याङजा १ (ख) बाट बुद्धिबहादुर राना (कुमार) ले प्रत्यक्ष चुनाव हार्दा एकल सरकार बनाउन सक्ने हैसियत कांग्रेसले गुमायो । माओवादीले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ गरि ८ सिट जितेको छ ।
सरसर्ती हेर्दा कांग्रेस र माओवादी गठबन्धनलाई सुविधाजनक बहुमत पुग्दछ ।
त्यही देखेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने र संसदीय दलको नेता बन्न तीव्र दौडधुप चलिरहेको छ । तर, चुनाव भएको खण्डमा चारैजनाले चुनाव नलडी दुई समूहबाट दुई उमेदवार बन्दा कसले बढि मत पाउलान त ?
गण्डकीका १८ प्रत्यक्ष सिटमा संस्थापन र इतर (पौडेल, सशांक, शेखर, गगन) पक्षका सांसद ९÷९ जना छन । समानुपातिकका ९ सिटबाट सांसद बन्दा चाहिँ देउवा समूहसँग एक सांसद बढि छन । अर्थात चुनाव भएको खण्डमा देउवा समूह एकमतले अगाडि छ ।
प्रत्यक्षमा चुनाव जित्नेमध्ये संस्थापन समूहमा बागलुङबाट द्रोणकुमार कुँवर, जीत शेरचन (कृष्णप्रसाद सिटौला निकट), दीपेन्द्रबहादुर थापा छन् । कास्कीका विन्दुकुमार थापा, तनहुँका जीतप्रकाश आले (शंकर भण्डारी निकट), लमजुङका टकराज गुरुङ, मनाङका मुनिन्द्रजंग गुरुङ, गोरखाका सुरेन्द्र पाण्डे र स्याङजाका महेश भट्टराई देउवा निकट हुन् । समानुपातिकबाट आएका सांसदहरुमध्येमा चम्पादेवी खड्का, सरस्वती तिवारी, विमला गौचन, सरस्वती गुरुङ र दिलमाया पौ.वि. देउवा निकटका हुन ।
संस्थापनइतर समूह (गगन/शेखर/सशांक/पौडेल) बाट भने प्रत्यक्षमा मुस्ताङबाट विकल शेरचन र नाम्डु गुरुङ, बागलुङबाट डिल्लिराम सुवेदी, कास्कीबाट प्रकाश बराल, तनहुँबाट अशोककुमार श्रेष्ठ, लमजुङबाट भेषबहादुर पौडेल, गोरखाबाट नन्दप्रसाद न्यौपाने, नवलपुरबाट महेन्द्रध्वज जीसी र स्याङ्जाबाट भोजराज अर्यालले चुनाव जितेका छन् । समानुपातिकबाट यो समूहमा कल्पना तिवारी (कांग्रेस गण्डकी उपसभापति), रेखा गुरुङ, पार्वती तामाङ र टिकाकुमारी बस्याल सांसद बनेका छन ।
यो अवस्थामा निर्वाचन भएको खण्डमा र सांसदहरु आ–आफ्नै समूहमा रहेको खण्डमा संस्थापन समूहसँग १४ र इतर समूहसँग १३ जना सांसद हुनेछन ।





