शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

१३ गते ज्येष्ठ सदस्यको शपथ, १४ गते अन्य सांसदहरुले शपथ लिने

१३ गते ज्येष्ठ सदस्यको शपथ, १४ गते अन्य सांसदहरुले शपथ लिने


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७९, बिहिबार

पोखरा/ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई १३ गते शपथग्रहण गराउने भएका छन ।

प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ती जारी गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराउने जनाएको छ । ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूले नेपालको संविधानको धारा १८५ (२) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम आयोजना गरिएको …’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।प्रदेश प्रमुखले पर्वत (ख) बाट चुनाव जितेका बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथग्रहण गराउनेछन भने अन्य सदस्यहरुलाई बस्यालले शपथ खुवाउनेछन । नागरिकतामा उल्लेख भएको जन्ममिति अनुसार गण्डकीको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता पनि मित्रलाल बस्यालले नै गर्नेछन् । ६५ वर्षका बस्षद अर्का प्रदेशसभा सदस्यभन्दा दुई दिनले मात्र ज्येष्ठ छन् । बस्याल २०१४ साल भदौ ५ गते जन्मिएका हुन् । कांग्रेसका विन्दुकुमार थापा पनि सोही वर्ष, सोही महिनाको ७ गते जन्मिएका हुन् ।

ज्येष्ठ सदस्यको हिसाबले शपथग्रहण गरेपछि १४ गते प्रदेशसभा भवनमा अरु सदस्यको शपथ हुनेछ ।प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले शपथग्रहणको तयारी गरिएको जनाए । शपथ लिन आउँदा नागरिकता प्रमाणपत्रको फोटोकपी, दुई प्रति फोटो र निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र ल्याउन सचिवालयले सूचना पठाउनेछ ।

गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्ष र २४ समानुपातिकबाट गरेर ६० जना निर्वाचित भएका छन् । त्यसमा कुनै पनि दलको एकल बहुमत छैन । हालकै गठबन्धन कायम रहेको अवस्थामा गण्डकीमा गठबन्धनको सरकार बन्ने छ ।

१६८ (२) को सरकार

विभिन्न दलहरूबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले शपथ लिएपछि मात्रै सरकार गठनको प्रक्रिया पनि सुरु हुन्छ । प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरिसकेपछि संविधानको धारा १६८ अनुसार प्रदेश मन्त्रिपरिषद् गठन हुन्छ ।

एक्लै कुनै पनि दलको बहुमत नभएको हुँदा गण्डकीमा धारा १६८ (१) अनुसार सरकार गठनको सम्भावना भने छैन ।
यो उपधारामा भनिएको छ, ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।’
६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार गठनका लागि ३१ जनाको बहुमत चाहिन्छ । तर, मंसिर ४ गते भएको निर्वाचनमा कुनै पनि दलले आवश्यक बहुमत ल्याउन नसकेको हुँदा उपधारा १ अनुसार सरकार बन्न सक्ने अवस्था छैन ।

उपधारा १ को सम्भावना नभएपछि सरकार गठनमा उपधारा २ आकर्षित हुन्छ । यो उपधारामा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।’

गठबन्धनकै निरन्तरता रहिरहेको अवस्थामा सबैभन्दा ठुलो दल कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर सरकार गठन गर्न सक्छन् । वा, यो उपधारा अनुसार दोस्रो ठुलो दल एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी मिलेर पनि सरकार बनाउन सक्छन् ।

उपधारा १ अनुसार सरकार नबन्ने भएकाले यही धारा अनुसार नै सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

तर, उपधारा ३ अनुसार संयुक्त सरकार ३० दिनभित्रै गठन गरिसक्नुपर्ने हुन्छ । यसरी प्रदेश प्रमुखबाट नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीले कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछ ।

प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->